April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
महामारीमा यसरी मच्चिँदै छ लुट : काठमाडौंबाट बुटवलको गाडीभाडा ६ हजार, पोखरा जान ३५००

महामारीमा यसरी मच्चिँदै छ लुट : काठमाडौंबाट बुटवलको गाडीभाडा ६ हजार, पोखरा जान ३५००

काठमाडौं – काठमाडौंबाट रुपन्देही (बुटवल) को भाडा कति ? ६०० या एक हजार । गाडी नै नपाएका बेलामा एक हजार वा भनौँ १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला । तर, बुटवलका लागि छ/छ हजार भाडाभन्दा तपाईं पत्याउनुहुन्छ ? यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त ?

केही गाडी चालक तथा टिकट काउन्टरका कर्मचारीका मिलेमतोमा काठमाडौं–बुटवलको भाडा छ हजारसम्म असुलेको पाइएको छ ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी यात्रुसँग बढी भाडा असुल्ने पाँच जनालाई काठमाडौंका विभिन्न क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरूले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई घर पुर्‍याउन यसरी चर्को रकम असुल गरी भाडामा ठगी गरेका हुन् ।

कोभिड­ १९ को महामारीको मौका छोपेर उनीहरूले छोटो समयमै धेरै कमाउने योजना बनाए पनि अन्ततः ट्राफिक प्रहरीले त्यसलाई असफल पारिदिएको छ ।

‘कसैलाई तीन हजार, कसैलाई चार हजार र कसैलाई छ हजारसम्म पैसा लिएर बुटवलका लागि टिकट काटेको पाइयो,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, ‘पोखराका लागि तीन हजार ५०० सम्म पनि भाडा लिएको पाइएको छ ।’ उनका अनुसार बार्गेनिङ गर्दा जसबाट जति झार्न सकिन्छ त्यति रकम लिएको पाइएको छ ।

महाशाखाका अनुसार अनुगमनका क्रममा बढी भाडा लिने तीन जनालाई गोंगबु बसपार्क क्षेत्रबाट र दुई जनालाई कलङ्कीबाट पक्राउ गरिएको हो ।

कोभिड­ १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई पोखरा माइक्रो र बुटवल भैरहवा टिकट काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।

काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा ५०० र बुटवलसम्म एक हजार दुई सय तोकिएकामा पाँच सय प्रतिशतसम्म बढी भाडा असुलिएको भट्टराईले बताए । उनका अनुसार पोखरा जाने यात्रुसँग तीन हजार ५०० र बुटवल जाने यात्रुबाट जनही छ हजारसम्म भाडा लिएको पाइएको छ । रासस