April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङलाजे लिम्बुवानका शहिद विजयबहादुर वखिम लिम्बु

याक्थुङलाजे लिम्बुवानका शहिद विजयबहादुर वखिम लिम्बु

Advertisement

याक्थुङलाजे लिम्वुवानको शहिद विजयवहादुर वखिम लिम्बुबारे कम मात्रलाई थाहा छ । उनी ताप्लेजुङको याङ्वरक फावाखोला वखिमनिवासी हुन् । उनी भारतीय भूपू सैनिक थिए । वि.सं. २००७ सालमा नेपाली कांग्रेसको राणासत्ता ढालेर प्रजातान्त्रिक शासन पद्धति स्थापनामा उनी लागेका थिए । त्यो बेला याक्थुङलाजे लिम्वुवानको याक्थुङ लिम्वु जाति पनि क्रान्तीमा उत्सुकतापूर्वक सहभागी थिए । किनकि, राणा सरकारले याक्थुङ लिम्बुहरूको अधिकार कटौती गरेको थियो भने काँग्रेसले अधिकार दिलाउने र याक्थुङलाजे लिम्बुवान पनि पुनःस्थापना गरिदिने भनेकोले याक्थुङ लिम्बुहरू धेरै लागे । सोहीमुताविक वि.सं. २००७ फागुनमा राणासत्ता समाप्त पार्न याक्थुङलाजेमा ठूलो विद्रोह, सशस्त्र युद्ध पनि भयो । उक्त युद्ध क्रान्तिले बहुदलीय प्रजातन्त्र पनि स्थापना गरिएको थियो । तर राजा, राणा र काँग्रेसको सम्झौतापछि काँग्रेसले याक्थुङलाजे लिम्वुवानको मुद्दालाई छोडिदियो । काँग्रेसले धोका दिएकोले याक्थुङलाजे लिम्बुवान चाहने याक्थुङ लिम्बुहरूले चुम्लुङ दल गठन गरेर याक्थुङ लाजे लिम्बुवान स्टेटको माग गर्दैै सशस्त्र आन्दोलन गर्ने भए । बीचबीचमा स्वतन्त्र याक्थुङलाजे लिम्बुवानको पनि कुराहरू उठ्थे । चुम्लुङ दलको अध्यक्ष एकतबहादुर थिए भने विजयबहादुर वखिम लिम्बुलाई क्रान्ति मोर्चाको कर्णेल र भीमबहादुर लिम्बुलाई लप्तन बनाइएको थियो ।

विजयबहादुरको नेतृत्वमा सशस्त्र आन्दोलन अघि बढ्यो । उनीहरूले धेरै ठाउँमा आफ्नो प्रभाव पारेका थिए । त्यसैबेला विजयबहादुर लगायतलाई पक्रेर धनकुटा जेल हालियो । तर, उनले वि.सं. २००८ वैशाख ८ गते जेल तोडेर आई पुनःमोर्चामा अगाडि बढे । उनको मोर्चाले तेह्रथुमको फेदाप–जलजले, आठराईतिरको प्रहरी ठाना आक्रमण गरी बन्दुक खोसेर लगे । जाली तमसुकरू च्यातिदिए । गरीबहरुलाई राहत सहयोग गरे ।

उनीहरुले धनकुटा, तेह्रथुम, ताप्लेजुङमा चुम्लुङ दलको प्रभाव पारिरहेका थिए । त्यसपछि उनीहरू पान्थर प्रवेश गरी रवि र मेहेलवोटे थाना आक्रमण गरेर विजयप्राप्त गरी वन्दुक खोसी ईलाम ठाना हान्न लागे । ईलाम काँग्रेस सरकारको त्यो बेलाशक्ति केन्द्र थियो । त्यहाँ प्रहरी थाना तथा सेनाको क्याम्प राखेका थिए । विजयबहादुरहरू १५–२० जना जति बन्दुकसहित र अन्य रोल खुकुरी थिए । उनीहरू ईलामको मंगलवारे ठाना हान्न जाँदै गर्दा सो कुरा चाल पाएर ईलामवाट काँग्रेस सरकारको रक्षादलको तत्कालीन सेनाहरू आएर चुम्लुङ दलको सशस्त्र क्रान्तिकारी सेनाहरूमाथि आक्रमण गर्न थाले । दुवै पक्षबीच दोहोरो भिडन्त भयो । भीडन्तमा कर्णेल विजयबहादुर वखिम लिम्बु लगायत १३ जनाले वीरगति प्राप्त गरे । बन्दुकबिनाको अरुलाई पनि मारियो । बाँकी भागारे भाग भए । त्यो दिन वि.सं. २००८ साल बैशाख १२ गते थियो । उनीहरुको सशस्त्र क्रान्ति वि.सं. २००७ फागुन अन्तिमदेखि बैशाखसम्म थियो । चुम्लुङ दलको अध्यक्ष एकतवहादुर लिम्बु लगायत धेरैलाई जेल हालियो । चुम्लुङ दलमाथि निगरानी राखियो । बिस्तारै चुम्लुङ दलको राजनीतिक प्रभाव कम भएर जान थाल्यो ।


यसरी चुम्लुङ दलवाट सुरु गरेका याक्थुङलाजे लिम्बुवान स्टेटको माग गर्दै सशस्त्र आन्दोलन गर्ने क्रान्ति योद्धा कर्णेल विजयबहादुर वखिम लिम्बुको युद्धमै शाहदत भयो । उनले याक्थुङ लाजे मातृभूमिको लागि ठूलो योगदान दिएर गए । उनको कार्यलाई वर्तमान अवस्थामा लिम्बुवान पार्टीहरूले मनन गरेका पाइँदैन । शहिदको रूपमा सम्मान गरेको पाइँदैन । तर उहाँलाई लिम्बुवानवादी पार्टीहरूले सम्मान गर्नु पर्दछ । उहाँको याक्थुङलाजे लिम्बुवान स्थापनाको अधूरो कार्यलाई पूरा गर्नु पर्दछ ।

(लेखक पालुङ्वा याक्थुङ लिम्बु इतिहासका अध्येता हुन् ।)