April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्छ – राजदूत रेग्मी

नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्छ – राजदूत रेग्मी

८ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको प्रभावलाई विश्व बजारसम्म पु¥याउनुपर्ने बताएका छन् । साहित्यले समाज र सँस्कृतिको प्रतिनिधित्व गर्ने भन्दै सकेसम्म अनुवाद नभए विश्व भाषामा लेखनमार्फत अगाडि बढाउनुपर्ने सुझाएका छन् ।


साहित्यकार पारिजातको २८ औँ स्मृति दिवसका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूकेले आयोजना गरेको सिर्जना वाचन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले दूतावास बेलायती नेपाली साहित्यिक संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको जनाए । ‘दूतावास नेपाली साहित्य, भाषा र सँस्कृतिको प्रबद्र्धनका लागि काम गर्न इच्छुक छ । हामी मिलेर काम गरे यसको अवश्य प्रबद्र्धन हुनेछ,’ उनले भने, ‘चर्चित कृतिहरूको अनुवाद गर्न सकिन्छ । नभए विश्व भाषामा लेखनका लागि वातावरण निर्माण गर्न सकिन्छ ।’

Advertisement


यसैगरी, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्दीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले पारिजात अत्यन्तै सम्मानित व्यक्तित्व भएको धारणा राखे । शारीरिक असशक्तका बावजुद पनि उनले उत्कृष्ट, शक्तिशाली र विश्वस्तरीय कृतिहरू नेपाली साहित्य र विश्व साहित्यलाई दिएको भन्दै स्मरण गरिरहनुपर्ने बताए ।


विष्णुकुमारी वाइबाका रूपमा सन् १९३७ मा दार्जिलिङमा पारिजातको जन्म भएको थियो । उनको निधन सन् १९९३ मा काठमाडौँमा भएको थियो । मदन पुरस्कार प्राप्त उनको कृति शिरिषको फूल चर्चित कृति हो । यो कृति अङ्ग्रेजी, हिन्दी लगायत आधा दर्जन बढी भाषामा अनूदित छन् । उनका उपन्यास, कविता, कथा, आत्मसंस्मरण गरेर दुई दर्जन कृतिहरू प्रकाशित छन् । प्रगतिवादी, माक्र्सवादी र समाजवादी विचारधाराबाट प्रभावित सर्जक पारिजातका कृतिमा शून्यवाद र विसंगतवादको प्रचुर प्रयोग गरिएको समालोचकहरू बताउँछन् ।


विनेसाम, पश्चिम यूकेको नियमित त्रैमासिक सिर्जना वाचन कार्यक्रममा सर्जकहरू सुनिता कन्दङवा राई, खेम गुरूङ अहिल्या कुँवर, सेमन्त राई, प्रतीक चाम्लिङ, लीला सेलिङ माबो, प्रमिला लाबुङ राई, हिमकला किराती, रमेश कायस्थ, विश्वकाजी राईले कविता, गीत, गजल र मुक्तक सुनाए । त्यस्तै, कार्यक्रममा शशी थापा सुब्बा, विजय हितान, गोमा रााना, जित बूढाथोकी छन्त्याल, किरण चाम्लिङ, अमित थेवे, होम किरात सुनुवार, औँतारी साइला, थिर थापा, देवी आले, नानु थापा, शान्ति लिम्बु, जानु काम्वाङ लिम्बु, प्रतिमा केसी, मनुर राना, शीतल गुरुङले समेत आफ्नो सिर्जना पस्केको कार्यक्रम संयोजक एवम् सिर्जना वाचन सत्रका सञ्चालक मुकेश राईले जानकारी दिए ।


शाखा अध्यक्ष लालसुन्दर राईको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्र सचिव शान्ति लिम्बुले सञ्चालन गरेकी थिइन् । सो कार्यक्रममा उपाध्यक्ष जानु काम्वाङ लिम्बुले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । त्यस्तै, अर्का उपाध्यक्ष भरत लोहोरूङ राईले पारिजातको जीवनीमाथि संक्षेपमा प्रकाश पारेका थिए ।