April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान धरानका पुराना पत्रकार हर्ष सुब्बालाई

नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान धरानका पुराना पत्रकार हर्ष सुब्बालाई

धरान – नेपाली पत्रकारिताको क्षेत्रमा अविच्छिन्न रूपमा योगदान पु¥याएको भन्दै धरानका अग्रज पत्रकार हर्ष सुब्बालाई नेपाल सरकारले वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गरेको छ । सुब्बासहित १६ जना पत्रकारहरूलाई नेपाल सरकारले सम्मान र पुरस्कार प्रदान गरेको हो ।

छैटौँ पत्र कारिता दिवसका अवसरमा नेपाल सरकारले चार जनालाई वरिष्ठ पत्रकार सम्मान र अन्य १२ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । वरिष्ठ पत्रकार सम्मान २०७६ बाट सुनसरीका हर्ष सुब्बा र काठमाडौँका स्व. सुकदेव नेपाल(अग्निशिखा), वरिष्ठ पत्रकार सम्मान २०७७ बाट काठमाडौँका रघु मैनाली र शार्दूल भट्टराई सम्मानित भएका छन् । सम्मानको राशी जनही नगद दुई÷दुई लाख रूपैयाँ रहेको छ । त्यस्तै, जनही एक लाख रूपैयाँ पुरस्कार राशी रहेको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत हुनेहरूमा उजिर मगर, मात्रिका पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्त बहादुर विक र शीतल शाह रहेका छन् । २०७७ को पुरस्कार पाउने सूचीमा दिलिप कुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरेशजंग पाण्डे, नितु पण्डित र पूनम पौडेल रहेका छन् ।

Advertisement

वरिष्ठ पत्रकार सम्मानबाट पुरस्कृत भएको खबरले आफूले थप दायित्वबोध गरेको प्रतिक्रिया दिँदै पत्रकार हर्ष सुब्बाले स्थानीय पत्रकारितामा प्रतिबद्ध भएर लागिरहने बताए । सुब्बा वि.सं. २०२९ बाट चेतना साप्ताहिक पत्रिकाबाट संवाददाताका रूपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए । पञ्चायतकालीन अवस्थामा विभिन्न पत्रपत्रिकामा आबद्ध भएर मिसन पत्रकारितामा समेत होमिएका सुब्बाले प्रजातन्त्र पुनःस्थापनापश्चात सुरु भएको कान्तिपुर दैनिकमा संलग्न भएर २५ वर्षसम्म काम गरे ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपसभापतिसम्म भएका उनी नेपाली काङ्ग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य समेत हुन् । उनी २०४६ र २०६२÷२०६३ का जनान्दोलनहरूमा सक्रिय भएर लागेका पत्रकार समेत हुन् । साहित्यिक र सामाजिक सङ्गठनहरूमा रहेर काम गरेका सुब्बाले दुई दर्जन बढी राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरेका छन् । उनी धरानमै रहेर पत्रिकाको सम्पादन र लेखन कार्यमा सक्रिय छन् ।