May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आमालाई अपहेलना गर्नेहरू समाजका घृणाका पात्र हुन् – साहित्यकार कुन्ता शर्मा

आमालाई अपहेलना गर्नेहरू समाजका घृणाका पात्र हुन् – साहित्यकार कुन्ता शर्मा

इजरायल, ११ मे / जन्म दिने आमालाई त्याग्नेहरूले पारिवारिक विग्रह ल्याएको भन्दै समाजले त्यस्ता प्रवृत्तिलाई अस्वीकार गर्नुपर्ने वरिष्ठ कवि कुन्ता शर्माले बताएकी छिन् । आधुनिकताका नाममा अभिभावकलाई आफूबाट अलग राख्ने प्रवृत्ति घातक भएको समेत आरोप लगाएकी छिन् ।


मातातीर्थ औँसी(आमाको मुख हेर्ने दिन) का अवसर पारेर विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको सिर्जना वाचन कार्यक्रममा बोल्दै पूर्व सांसद समेत रहेकी साहित्यकार कवि शर्माले आमाको पीडा बुझ्न नसक्नेहरूले मानवीय संवेदना बुझ्न नसक्ने उल्लेख गरिन् । ‘आमालाई घरनिकाला गर्ने, वृद्धाश्रमको वास बस्न बाध्य पार्ने र सडकमा पु¥याउनेहरू घृणाका पात्र हुन्,’ उनले आक्रोश पोखिन्, ‘समाजले त्यस्ता गलत मनोभाव बोकेकाहरूलाई सामाजिक रूपमा अस्वीकार गर्नुपर्छ ।’ नारीवाद विचारलाई नेपाली साहित्यको मूलधारमा स्थापना गर्न महत्वपूर्ण योगदन दिएका शर्माको पञ्चायतकालीन समयमा लेखेको ‘पोथी बाँस्नु हुँदैन’ भन्ने कविता सर्वाधिक चर्चित छ ।

Advertisement


यस्तै, प्राज्ञ सुलोचना मानन्धर धितालले साहित्यले मानवीय संवेदनाहरू उजागर गनुपर्ने बताइन् । उनले पछिल्लो समयमा नेपालमा शक्तिशाली महिला स्रष्टाहरू देखा परेर आफू उत्साहित भएको थपिन् । १६ कृतिका सर्जक मानन्धरले महामारी र राजनीतिक अस्थिरतका कारण संसारभर अस्तव्यस्तता बढेको भन्दै मातृत्वको महत्व झन् बढेकोमा जोड दिइन् ।


भर्चुअल रूपमा जुमबाट ‘आमाको माया’ थिममा सम्पन्न कार्यक्रममा सयपत्री थुलुङ, मुना सिग्देल, किरण चाम्लिङ, देविका मंग्रान्ति, सुमित्रा सुमी, रेखा पन्त, मनु लोहोरुङ, मोहन राज, जानु काम्वाङ लिम्बु, पूजन मिश्र, अहिल्या कुँवर, कृष्ण गौतम, प्रेम न्यौपाने प्रहर, भीमा थापा, कमला भण्डारी, संगम सुधा थापा, भुवन रोका, अमित थेवे, मीना राई, सुनिता राई कन्दङवा, सुरेन्द्र लिम्बु परदेशीले आफ्नो सिर्जना सुनाए ।


नियमति साहित्य सिर्जना वाचन श्रङ्खलाअन्तर्गत मङ्गलबार कार्यक्रम राखिएको महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले बताए । कार्यक्रम इजरायलबाट महासचिव सुनिता राई कन्दङ्वाले सञ्चालन गरेकी थिइन् । यस्तै, जापानबाट सहसचिव भुवन रोकाले स्वागत मन्तव्य दिएका थिए ।