April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वीपी र सुवर्ण शम्शेरलाई नन्दप्रसाद सुब्बाको स्वागत भाषण

वीपी र सुवर्ण शम्शेरलाई नन्दप्रसाद सुब्बाको स्वागत भाषण

तेहथुम छथरका सुुब्बा नन्दप्रसाद तुम्खेवा लिम्बू यतिखेर यो संसारमा छैनन् । तर उनको सम्झना भने जीवितै छ । उनको सम्झना उनको परिवार र नातागोतामा मात्र सीमित छैन । नेपालको राजनीतिक र सामाजिक आन्दोलनहरुमा पनि उनको सम्झना गर्ने गरिएको छ । उनको कीर्ति र योगदानहरुले उनको सम्झना दिलाउने गर्छ ।

खासगरी, २००७ सालको क्रान्तिबाट प्राप्त प्रजातन्त्रको उज्यालो दियोलाई निभ्न नदिन उनले गरेको योगदान स्मरणीय रहेको छ । प्रजातन्त्रप्रतिको उनको यहीँ निष्ठा र सक्रियताका कारण उनले पञ्चायती व्यवस्थाबाट कारावासको सजाय पनि भोग्न प¥यो । २०१८ सालमा उनी धनकुटा कारागारमा बन्दी बनाइए । राजबन्दीका रुपमा उनले डेढ वर्ष कारागारमा बिताए । त्यहीँ कारागारमा राजवन्दीकै रुपमा पाँचथरका काँग्रेस नेता कृष्णविक्रम नेम्वाङ धनकुटामा साथी बन्न आइपुगेका थिए । २००७ सालदेखि नन्दप्रसाद काँग्रेसको राजनीतिमा सक्रिय भए । त्यतिखेर छथरको सुदाप धनकुटा जिल्लामै पथ्र्यो । पछि तेह«थुम जिल्लामा पर्न गयो । २०१५ सालमा उनी पार्टीको जिल्ला समिति सदस्य भए । राजनीतिक यात्राकै क्रममा उनी २०३८ सालमा तेह«थुम जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुँदा आफ्नो गाउँठाउँको बाटोघाटो निर्माण, विद्यालय स्थापना तथा छथर शुक्रबारेको बजार स्थापनाजस्ता योगदानहरुले नन्दप्रसादको सम्झना दिलाइरहने गरेको छ ।

Advertisement

थाम्दै इतिहासको विरासत
लिम्बूहरुले परम्परागत रुपमा त्यो समय तथा व्यवस्थामा पाउँदै गरेको सुभांगीको विरासत सम्हालेर आफ्नो जिम्माको किपटमा रस्ती रसाउने र वस्ती बसाउने कार्यक्रममा दत्तचित्त थिए, सुब्बा नन्दप्रसाद । अहिले पनि उनको पुरानो घरमा सुरक्षित पुराना ढाल तरबारजस्ता हतियार, नगरा–निशान तथा हाते तोपजस्ता पुराना अस्त्रशस्त्रहरुको संग्रहका कारण उनले धानेको इतिहासको झल्को उज्यालो रुपमा झल्किरहेको देखिन्छ ।
इतिहासकै सन्दर्भ कोट्याउँदा उनी आफै एक ऐतिहासिक व्यक्ति हुन् । उनी इतिहासका महत्वपूर्ण स्रोत पनि हुन् । इतिहास लेखनका क्षेत्रमा उनको सक्रियता नदेखिए पनि ऐतिहासिक स्रोतहरुको संरक्षणमा उनको उपस्थिति र योगदान भने ठोस रुपमा देखा परेको छ । वि.सं. १८४८ जेठ वदीमा छथरका रामजीत राईले पाएको रुक्कादेखि २००३ साल फागुन १६ गतेको इस्तिहार गरी पाँच वटा ऐतिहासिक पत्रहरु उनले इतिहासकार शिवकुमार श्रेष्ठलाई प्रदान गरी लिम्बुवानको इतिहास लेखनका लागि सघाउ पु¥याएको यस प्रसङ्गमा स्मरणीय महत्वको छ (श्रेष्ठ, शिवकुमार, लिम्बूवानको ऐतिहासिक अध्ययन–२०६८ः१२२–१७६)।
२०२१ सालको भूमीसुधार लागू गरिएपछि लिम्बूहरुले प्राप्त गर्दै आएको परम्परागत सुभांगी अधिकार पूर्ण रुपमा राज्यले समाप्त पारिदियो । त्यसअघिदेखि नै राज्यले आफ्नो किपटीया सुभांगी अधिकार क्रमशः खुम्च्याउँदै गइरहेकोप्रति लिम्बूवानका किपटिया सुब्बाहरु सशङ्कीत र सचेत रहँदै आइरहेका थिए । त्यसैले उनीहरुले किपट सुधार र थमौतिको प्रयासहरु आफ्ना तर्फबाट गरिरहेकै थिए । उनीहरुले राज्यलाई यसतर्फ ध्यानाकर्षण र दवाव पनि दिदै आइरहेका थिए ।


यसैक्रममा इमानसिंह चेम्जोङको नेतृत्वमा गठन भएको लिम्बुवान सुधार संघले २०११ साल जेठ ३२ गते तत्कालीन राजा त्रिभुवनसमक्ष एक स्मृतिपत्र बुझाएको थियो । लिम्बू सुब्बाहरुले व्यक्तिगत, सामूहिक तथा संस्थागत रुपमा किपटसम्बन्धी मागहरु प्रस्तुत गरिरहेपछि राज्यको कानमा केही बतास लाग्यो । राज्यले तीन वटा पक्षलाई राखेर किपटसम्बन्धी छलफल चलायो । किपटसम्बन्धी छलफल गर्न लिम्बुवानमा जर्नेल नीरविक्रम राणा, उपसचिव जीडी गुरुङ तथा बडाहाकिम मोहनबहादुर सिंहको टोली केन्द्रबाट आयो । गैरकिपटियाका तर्फबाट गङ्गाप्रसाद सिटौला, सूर्यबहादुर थापा, तिलविक्रम श्रेष्ठ तथा गङ्गाप्रसाद दाहाल छलफलमा सरिक थिए । किपटिया लिम्बू सुब्बाहरुको तर्फबाट प्रेमबहादुर मावोहाङ, ललितबहादुर तुम्वाहाम्फे, देउमान आङ्देम्वे, मेदनीप्रसाद कन्दङ्वा, काजीमान कन्दङ्वा, गुञ्जमान आङ्बुहाङ, हर्षवर्दन कन्दङ्वा र नन्दप्रसाद खेवा छलफलमा सहभागी थिए । तर छलफल निष्कर्षमा पुग्न सकेन । (इङनाम, भगिराज र शेरबहादुर इङनाम, ‘तेह«थुम जिल्लाको सुब्बाङ्गी प्रथा–२०७०ः२७०)
यसरी किपट समस्या समाधानका लागि सरकारले खटाएको प्रतिनिधि, गैरकिपटिया प्रतिनिधि र किपटिया प्रतिनिधिहरुबीचको छलफल निष्कर्षमा नपुगेपछि किपटिया सुब्बाहरुलाई राजाबाट काठमाडौंमा बोलावट भयो । २०१३ साल मङ्सिर १३ गते राजासङ्गको दर्शनभेटका लागि फेदाप थुमका सुब्बा ललितबहादुर तुम्वाहाम्फेको नेतृत्वमा लिम्बुवानबाट प्रस्थान गर्ने २९ सदस्यीय प्रतिनिधि मण्डलमा एक सदस्यका रुपमा छथर क्षेत्रको प्रतिनिधित्व गर्दै नन्दप्रसाद खेवा लिम्बू पनि सहभागी थिए (इङ्नाम, उहीः२७०–२७१) ।


तर यी लिम्बू सुब्बाहरुको केही लागेन । राजा महेन्द्रले भुलाउँदै, छक्याउँदै २०२१ सालमा भूमीसुधारको नाममा लिम्बू सुब्बाहरुको परम्परागत किपट प्रथाको अन्त्य गरेरै छाडे । तर आफ्नो परम्परागत अधिकारका लागि राज्यसङ्ग लड्न भिड्न नछाड्नेमध्ये सुब्बा नन्दप्रसाद पनि एक थिए । यो उनलाई इतिहासले दिएको एउटा दायित्व पनि थियो । आफ्नो जीवनमा यो दायित्व निर्वाह गर्न चुकेनन्, उनी ।

२००९ सालको भाषण
नन्दप्रसाद नेपाली काँग्रेसका सक्रिय नेता थिए भन्ने प्रसङ्गमाथि परिसकेको छ । उक्त पार्टीको पूर्वाञ्चलमा २००९ सालमा पहिलो सम्मेलन हुँदा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी यस सम्मेलनमा स्वागत समितिका अध्यक्ष थिए । सम्मेलनमा आतिथ्य ग्रहण गर्न पार्टीका तत्कालीन अध्यक्ष विश्वेश्वरप्रसाद कोइराला र उपाध्यक्ष सुवर्णशमशेर धनकुटा आएका थिए । सम्मेलनमा सहभागी अतिथिहरुप्रति स्वागत गर्ने जिम्मेवारी पार्टीले नन्दप्रसादलाई दिएको थियो । उनको स्वागत भाषा पार्टीको मुखपत्र नेपाल पुकारको वर्ष ५ अङ्क १६ (२००९ साल माघ २३ गते विहीबार)को अङ्कमा प्रकाशित गरेको छ । उनले भाषणमा राजनीतिक सन्दर्भ मात्र उठाएका छैनन्, स्थानीय समस्याहरुप्रति पनि नेतागणको ध्यानाकर्षण गराएका छन् । नन्दप्रसादकै परिवारका सदस्य (छोरी) कृष्णा सुब्बाको सौजन्यबाट यो लेखकले प्राप्त गरेको झण्डै सात दशक पुरानो जीर्ण भइसकेको उक्त मुखपत्रको छायाँप्रतिबाट सारेर यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

भाषणको व्यहोरा यस्तो छ :
नेपाल देशको सुदूरपूर्वी धनकुटा नगरीमा आजदेखि सुरु भएको पूर्वाञ्चल अधिवेशनमा … गरी आउनु भएको नेपाली काँग्रेसको महामान्य अध्यक्ष लगायत अन्य नेताहरु तथा कर्मठ साथीहरुलाई आज स्वागत गर्न पाउँदा यो स्वागत समिति र यस अञ्चलको जनताको हृदयमा आनन्दको लहर बग्नु स्वाभाविक हो ।
सुदूर पूर्वको यहीँ महत्वपूर्ण नगर हो जसमा पृथ्वीनारायण शाहले अड्डा खानाको जग बसाई ऐतिहासिक महत्व दिए । आज यहीँ नगरमा नेपाली काँग्रेस सुदूर पूर्वाञ्चलको ऐतिहासिक सम्मेलन हुँदा यसलाई एउटा महत्वपूर्ण केन्द्र बनिने सौभाग्य प्राप्त भएको छ । धनकुटाको इतिहासमा यो सर्वप्रथम राजनीतिक सम्मेलन हो । हाम्रो यो धनकुटाका जनता सुरुदेखि नै काँग्रेसदेखि प्रभावित छौं । र विगत क्रान्तिमा पनि हामीले सक्रिय भाग लिएका हौं । अब हामी झ आशा भरोसाका साथ हातमा हात मिलाएर अगाडी बढ्न तयार छौं । मलाई पूर्ण विश्वास छ कि अहिले एकचित्त भएका नेताहरुले हामीलाई सधैँभरी…तथा परिपक्व नेतृत्व दिनु हुनेछ । यहाँ जस्तो महत्वपूर्ण अधिवेशन हुँदा जनता प्रफुल्लित छन् । उनीहरुले यसबाट ठूलो राजनीतिक पाठ पढे ।
प्रकृतिले यो अञ्चललाई कुवेरको ढुकुटी बनाएको छ । तर यो अञ्चलका बासिन्दा हामी नै दुःखी पीडित छौँ । विशेष गरी यो पहाडी इलाका त झन्…छ । सांस्कृतिक, बौद्धिक, शैक्षिक तथा अन्य जीवनोपयोगी साधनहरुको हामीमा साह«ै नै अभाव छ । हामी शिक्षाविना अन्धा रहेछौं । राणा शासनले हाम्रो आँखामा पट्टी बाँधेको रहेछ । यो कुरा राणा शासनलाई खत्तम पारेपछि मात्र हामीले देख्न लाग्यौं ।
अब हामी अगाडी बढ्न छटपटाइरहेछौं । तर पानी विनाको माछा जस्तो गल्याक गुलुक मात्र भइरहेका छौं । हामी असहाय छौं…संगठित जनसक्रियता बढ्न लागेको छ । आफैमा आत्मबल धेरै पाएजस्तो अनुभव गरिरहेका छौं । मलाई विश्वास छ आज एक चित्त भएका नेता गण तथा …आइ स्थानमा राख्नु हुनेछ ।
हुन सक्छ स्वागत समिति भूलहरु होलान् । सविनय गर्दछौं कि …दिनु हुन्छ ।
१९७२ फागुन २९ गते जन्मेका नन्दप्रसादको भौतिक देह २०४६ साद भदौ ७ गते अन्त्य भयो । तर उनले आफ्नो जीवनमा गरेको योगदान र कीर्तिका कारण उनी एक सम्झनायोग्य व्यक्तिका रुपमा इतिहासमा अंकित हुन पुगेका छन् ।