April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिगलाई प्रेम गाहा मगरको पाँच सय पाउण्ड सहयोग

गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिगलाई प्रेम गाहा मगरको पाँच सय पाउण्ड सहयोग

लण्डन । बेलायतको मिडल्याण्डमा शुरु हुन लागेको गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग प्रतियोगिता सञ्चालनमा सहयोगार्थ गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले पाँच सय एक पाउण्ड प्रदान गरेका छन् ।

एनआरएन यूकेको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी गाहा मगरले प्रतियागिताकोे सञ्चालनमा सहजताका लागि सहयोग प्रदान गरेका हुन् । ‘यस्ता प्रतियोगितालाई प्राथमिकतामा राख्नुपर्छ र प्रोत्साहन गर्नुपर्छ,’ उनले भने ।

Advertisement

खेलकुद र युवाहरुको कार्यक्रमलाई विगतदेखि नै प्राथमिकतामा राख्ने गरेका गाहामगरले यसपटक पनि सोही परम्परालाई निरन्तरता दिएका हुन् ।नटिङ्घम टिमका पूर्व कप्तान तथा नटिङ्घम समाजका अध्यक्ष दीपक सापकोटाले गाहा मगरको सहयोगले खेलाडीहरुको हौसला बढेको बताए ।

बेलायतमा लकडाउन खुकुलो भएसँगै ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिता सञ्चालन हुन लागेको हो । लिगको दोश्रो संस्करण यही मे २३ बाट शुरु हुँदै छ । पहिलो संस्करण भने ६ अप्रिल २०१९ बाट सञ्चालन भएको छ । पहिलो संस्करणको उद्घाटन बेलायतका लागि तत्कालिन नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गरेका थिए ।

२३ मेबाट शुरु हुने लिगको दोश्रो संस्करणमा नटिङघम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पिटरब्रो गरी ४ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । २६ खेल हुने लिग करिव तीन महिना चल्ने जनाइएको छ ।

नेपाली समुदायद्वारा सञ्चालित यो प्रतियोगिता मिडल्याण्डवासीसहित बेलायतमा रहेका समग्र नेपालीहरूका लागि आकर्षण बनेको छ । आयोजककाअनुसार प्रतियोगिता २३ मेबाट शुरु हुने भएपनि औपचारिक उद्घाटन समारोह भने गरिने छैन । लकडाउन खुले पनि कोभिड महामारीको त्रास कायमै रहेकाले उद्घाटनका लागि औपचारिक समारोहको आयोजना नगरिने सापकोटाले जानकारी दिए । तर, समापनका अवसरमा भने भव्य समारोह आयोजना गरिने जनाइएको छ ।