April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मध्यपूर्वको धुँवाभित्र म

मध्यपूर्वको धुँवाभित्र म

भाग्यवश
भर्खरै त उठेको हुम
सपना जस्तै यथार्थ दुर्घटनाबाट
मन र शरीरका अनगिन्ती चोटहरू
सोधिरहेछन्
ईश्वरको ठेगाना ।

___________

Advertisement

ठीक यहीँ घडी
उत्तरआधुनिक सेपियन्सहरू
जादुमय चमत्कार देखाइरहेछन्
पौराणिक कथाझैं लाग्ने
यथार्थ ती श्रव्यदृश्यहरू
आँख्खैअघि
विलुप्त हुन्छन् क्याट–वाक शैलीमा


धुँवा उड्छु
धुँवा–धुँवा बनी.. ।

___________


थुप्रै चिच्याहटहरू
त्राही–त्राही स्वरहरू
आत्तिएका छरपस्ट आँखाहरू
सुनामी मनहरू
पुकारिरहेछन्
कतै त्यो धुँवाभित्रबाट
कहाँ छौ तिमी ?
हे अल्लाह !

___________


सानो छँदा
तिहारमा खेलिने झिरझिरे या पटाकाजस्तै
ती सुन्दर, लोभलाग्दा परिदृश्यहरू
तर
आहा भन्न नसकिने
उफ्रँदै ताली बजाउँदै रमाउन नसकिने
यी आहतपूर्ण झिमिलिमीहरुले
मन, मस्तिष्क तिल्मिलाई दिन्छन्
शून्यतामा बरफ बनिदिन्छ चेतना
टक्क अडिएर ब्रम्हाण्ड
मार्गनिर्देश हुन्छ कसोकसो
म एक–क्षण (अ मोमेन्ट)लाई झुक्याएर
रेड–अलर्ट (सावधानी साइरन)तिर आँखा र औँलाहरू एकसाथ दौडाउँछु
कतै यहीँ क्षणले
मलाई नै पो झुक्याउने होकी !
शरीर एकाएक काँडा भैदिन्छ
मन अन्टार्टिका उभिन्छ
यस घडी
मेरो सब–थोक भन्नु
सेल्टर रुमको
मात्र एक पैताला जमिन हो ।

___________


मुटु/कलेजो निचोरिएर घाँटीमा अड्किएझैँ लाग्छ
तातो रगतमा लत्पतिएर
समस्त अवयवहरु निथ्रुक्क हुन्छन्
मलाई छुट्याउनै हम्मे पर्छ
आँखा र आकाशमाथिको धुँवा
कुन चाँही सत्य हो !

___________


अचेल
निद्रा पर्दैनन् आँखामा
र त जतनले पट्याएर
अनिँदोको सिरानी बनाईरहेछु
सपनाहरू त खै कता हराए–हराए
अत्तो–पत्तो छैन
मैले कहिल्यै प्रेम नगरेको ती राता सङकेतहरू
मेरो जीवन रक्षामा चिच्याईरहन्छन्
र म दौडन्छु उनले नभेट्ने गरी
सुरक्षित बङ्करतिर..
रातो भन्नु प्रेम मात्रै कहाँ रहेछ र !
भयानक चुनौती पनि रहेछ ।
आमा
मध्यपूर्वको आकाशमाथि
मडारिरहेको
त्यो कालो धुँवाको मुस्लोहरूमा
कतै मानव आकृति देखिए
त्यो आकृति
मेरै पनि हुन सक्नेछ है, आमा !

१५ मे, २०२१

इजरायल