April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

ताप्लेजुङ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्ने क्रममा पूर्वी लिम्बुवानको ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थललाई रबिन्द्र अधिकारी नाम उल्लेख गरेपछि सर्वत्र आलोचना सुरु भएको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा सरकारले उनको नाममा विमानस्थल नामाकरण गर्ने कार्य सुरु भएको हो ।

दिवंगत मन्त्री बहुचर्चित वाइडबडी काण्डमा मुछिएका ब्यक्ति भन्दै राजनीतिक नेता लगायत साँस्कृतिक अभियन्ताहरूले विरोध जनाइरहेका छन् । मन्त्री अधिकारीको पाथीभरा भ्रमण गर्ने क्रममा २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो । सुकेटार बिमानस्थललाई रबिन्द्र अधिकारी नाम उल्लेख गरेकोको प्रति निवर्तमान सांसद योगेश भट्टराईले विरोध गरेका छन् । ‘ताप्लेजुङ् सुकेटार बिमानस्थलको ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका विषयमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

Advertisement

त्यसैगरी, अधिवक्ता एवम् आदिवासी अधिकारकर्मी शंकर लिम्बुले पनि लेखेका छन्, ‘ बिमानस्थल बनाउनआफ्ना भएभरको जग्गा दिने मनमाया राईको नाममा मनमाया राई बिमानस्थल नाम राख्न नदिने सरकार, सुकेटारको विमान स्थलको नाम के आधारमा रबिन्द्र अधिकारी राखेको ?’ उनले ताप्लेजुङमा यसअघि पनि मुक्कुमलुङलाई पाथीभरा बनाएर राज्यले आदिवासीको भूमिमाथिको अधिकार र साँस्कृतिक पहिचानमाथि प्रहार गरेको बताए । उनले विमानस्थलको नामाकरणको विरोधमा सबैलाई उत्रन आह्वान गरेका छन् ।