नेपालमा कोभिडको नयाँ प्रकार छैन – विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ ।
बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३)को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि डब्लूएचओले यस्तो प्रतिक्रिया जनाएको हो ।
विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ । यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ ।
‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन्। यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो,’ डब्लुएचओ नेपालले सामाजिक सञ्जालमा भनेको छ ।
डब्लूएचओले बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरेको छ ।
बेलायतमा भेटिएको बी.१.१.७ भेरियन्टको नाम अल्फा हो । दक्षिण अफ्रिकाको बी.१.३५१ को नाम बिटा, भारतको बी.१.६१७.२ भेरियन्टको नाम डेल्टा राखिएको छ । यस्तै भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नामा काप्पा राखिएको छ ।
डेली मेलको समाचारमा वैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरिएको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरुलाई सचेत गराएका भनेर लेखिएको छ । भारतमा उत्पत्ति भएको बी.१.१६७ भेरियन्टको नेपालमा दोस्रो लहर फैलिएको र सोही क्रममा नयाँ भेरियन्ट बनेको हुनसक्ने पनि डेली मेलले आफ्नो समाचारमा लेखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत डेली मेलको उक्त समाचारमा कुनै सत्यता नभएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रासद पौडेलले नेपाल कोरोना भाइरसको कुनै छुट्टै (नयाँ) भेरियन्ट नभेटिएको बताए ।
प्रतिकृया दिनुहोस्