September 24, 2021, Friday
२०७८ आश्विन ९, शनिबार
कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले छैटौँ वातावरण साहित्य गोष्ठीका उत्कृष्ट सर्जकहरूको नाम सार्वजनिक गरेको छ । गत साता सम्पन्न दुई दिवसीय गोष्ठीमा प्रस्तुत सिर्जनाका आधारमा काठमाडौँकी सीता भण्डारी कणेल र जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट सर्जक घोषणा भएका हुन् ।

महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै ७९ सर्जकहरूमध्ये भण्डारी र थुलुङ उत्कृष्ट घोषणा गरिएको जनाएको छ । अध्यक्ष विजय हितान र सचिव अमित थेवेद्वारा जारी विज्ञप्तिमा उत्कृष्ट घोषित सर्जकहरूलाई प्रमाणपत्र र नगद दश हजार रूपैयाँ समेत प्रदान गरिने उल्लेख गरिएको छ । उनीहरूलाई आगामी वर्ष हुने सातौँ वातावरण साहित्य गोष्ठीमा एक समारोहबीच पुरस्कृत गरिने महासंघले जनाएको छ ।


विश्व वातावरण दिवसका अवसरमा पारेर गत साता जून ५ र ६ मा दुई दिने इको मुक्तक वाचन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी १२० बढी सर्जकहरूमध्ये ७९ जनाले रचना वाचन गरेका थिए । दुई दिने गोष्ठीमा वातावरणविद् समेत रहेका अध्यक्ष हितानले सम्पादन गरेको संग्रह ‘स्वच्छन्द सुुसेलीहरू २’ र आसामी कवि डा. देवेन सापकोटाको कृति ‘परिश्रान्त पृथ्वी’को विमोचन गरिएको थियो । कार्यक्रमको पहिलो दिन प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल र दोस्रो दिन प्रा.डा. गोविन्दराज भट्टराईले सम्बोधन गरेको अध्यक्ष हितानले जनाए ।
बेलायतामा सक्रिय १४ साहित्यिक संस्थाहरूको सक्रियतामा सन् २०१६ देखि पर्यावरण साहित्यलाई प्रबद्र्धन गर्ने हिसाबाले सालिन्दा जून पहिलो साता वातावरण साहित्य गोष्ठी आयोजना गरिँदै आएको सहसचिव उपाध्यक्ष थिर थापा मगरले जनाए ।