महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी
विजयपुर । पूर्व मन्त्री एवम् जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला सशक्तिकरणका लागि पूर्ण समावेशीकरण अझै हुन नसकेको बताएकी छिन् । राज्य संरचनादेखि पार्टीको नेतृत्वसम्म महिलामैत्री हुन बाँकी रहेको भन्दै समावेशीकरणको अभियान जारी रहने धारणा व्यक्त गरेकी छिन् ।
पार्टीको समाजवादी महिला संघ, लिम्बुवान समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादमा बोल्दै नेतृ यमीले महिलाको मुख्य मुद्दामध्ये अंश, वंश र पैत्रिक सम्पत्तिमाथिको अधिकार रहेको बताइन् । ‘महिलामाथिको उत्पीडन अझै हट्न सकेको छैन । संरचनागत विभेद कायम छ । हामी अझै अंश, वंश र पैत्रिक सम्पत्तिका लागि लड्नु परिरहेको छ,’ उनले भनिन्, ‘राज्यको कार्यकारीभन्दा सेरेमोनियल भूमिकामा सीमित छौँ । यसले दोस्रो तहमा सीमित गरेको छ ।’ उनले सबै पार्टीमा महिलालाई अघि बढाउने नीति रहेपनि कार्यान्वयन गर्दा संकोच मान्ने गरेको तीतो पोखिन् । नेतृ यमीले वर्गीय राजनीतिले भन्दा पहिचानको राजनीतिले महिला मुक्तिको सवाललाई बढी सम्बोधन गरिरहेको समेत बताइन् । उनले उत्तर र दक्षिणी छिमेकी परस्त नभएर तटस्थ र सन्तुलित भएर मात्रै सबै किसिमका उत्पीडनहरूको अन्त्य गर्नका लािग पार्टी पंक्तिले भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै, अर्का वक्ता एवम् पार्टीकी केन्द्रीयकारिणी सदस्य सुशीला श्रेष्ठले प्रत्येक राजनीतिक आन्दोलनमा महिलाको योगदान रहेपनि अवसर दिने बेला इमानदारिता नहुँदा नेतृत्व विकासमा अप्ठयारो परेको गुनासो गरिन् । उनले हाल महिलालाई अनिवार्य ३३ प्रतिशतको आरक्षण भएपनि क्रमशः त्यो समानताका सिद्धान्तका आधारमा बढ्नुपर्ने राय राखिन् । उनले महिलाको सवाल राष्ट्रिय एजेन्डा भएको हुँदा तल्लो निकायदेखि नै संगठित भएर अगाडि बढ्नुपर्ने बताइन् ।

संवादको पाँचौ श्रङ्खलाको अध्यक्षता समाजवादी महिला संघ लिम्बुवान समितिकी अध्यक्ष सरु सिङ्गकले गरेकी थिइन् । सचिव अग्निमाया मेचेले सञ्चालन गरेकी कार्यक्रमको प्राविधिक सहयोग पार्टीको लिम्बुवान राष्ट्रिय समितिले गरेको थियो ।



प्रतिकृया दिनुहोस्