May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएन यूकेको निर्वाचनमा धाँधलीको प्रयास नगर्न नेप्लिज युथको चेतावनी

एनआरएन यूकेको निर्वाचनमा धाँधलीको प्रयास नगर्न नेप्लिज युथको चेतावनी

लण्डन । बेलायतमा बसोबास गर्ने नेपाली यूवाहरुको संस्था नेप्लिज युथ यूकेले एनआरएन यूकेको आसन्न निर्वाचनमा धाँधलीको प्रयास नगर्न निर्वाचन समिति र सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । नेप्लिज युथले एक विज्ञप्ति जारी गरी समावेशी समूहका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगर र उनी नेतृत्वको टिमलाई पराजित गर्ने उद्देश्यले एक पक्षीय रुपमा र विवादास्पद तरिकाले निर्वाचन समिति गठन गरिएको असन्तुष्टि जनाएको हो ।

अध्यक्ष धिरज राईद्वारा जारी विज्ञप्तिमा प्रेम गाहा मगर नेतृत्वको समूहको विजय सुनिश्चित देखेर धाँधली गरेरै भएपनि उनलाई हराउने उद्देश्यसहित विवादास्पद व्यक्तिहरुलाई समेटेर निर्वाचन समिति गठन गरिएको उल्लेख छ । निर्वाचनमा सहभागी कुनै एक पक्षका उम्मेदवारका मात्रै प्रतिनिधिलाई समावेश गरेर निर्वाचन समिति गठन गरिनुले आसन्न निर्वाचनमा संभावित धाँधलीको संकेत देखिएको नेप्लिज युथ यूकेले दाबी गरेको छ । संस्थाको मूल्य र मान्यता अनुसार संघलाई थप समावेशी बनाउँदै युवा पुस्ताको सहभागिता वृद्धि गर्नुपर्नेमा संस्थालाई केही व्यक्तिहरुले मात्रै हालीमुहाली गर्ने ठाउँ बनाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

नेप्लिज युथ यूकेले ‘निश्पक्ष निर्वाचनको ज्ञारेन्टी गर, निर्वाचन समिति पुनर्गठन गर’ भन्ने माग राख्दै ‘अमुक राजनीतिक आस्था र अमुक उम्मेदवारहरुको पक्ष पोषण हुने गरी गठन गरिएको निर्वाचन समितिले निश्पक्ष निर्वाचन गराउँछ भन्ने कल्पनासमेत गर्न सकिँदैन।’ भनेको छ । विज्ञप्तिमा यही रुपमा चुनाव गराउन खोजिए त्यसले नेपाली समाजको एकतामा विखण्डन ल्याउने र उक्त अवस्थाको जिम्मेवारी निर्वाचन समिति र त्यसलाई सञ्चालन गर्ने व्यक्तिहरुले लिनुपर्ने चेतावनी पनि दिइएको छ ।