May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनजाति महासंघ यूकेको महासचिवमा बिमला लिम्बू, सल्लाहकारहरु समेत छानिए

जनजाति महासंघ यूकेको महासचिवमा बिमला लिम्बू, सल्लाहकारहरु समेत छानिए

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को कार्यसमितिले पूर्णता पाएको छ । गत जुन १९ मा सम्पन्न महासंघको चौथो महाधिवेशनले नयाँ कार्य समिति दिएपनि महासचिव लगायत अन्य केही पदहरु खाली रहेको थियो ।

गत सोमबार जुलाई १२ मा बसेको नयाँ कार्यसमितिको प्रथम बैठकबाट उपाध्यक्षमा मुकेन छन्त्याल, महासचिवमा बिमला लिम्बु र कोषाध्यक्षमा ल्हाक्पा डोमा ढोक्प्या शेर्पा भएका छन् ।

Advertisement

निवर्तमान कार्यसमितिमा सचिव रहेका मुकेन छन्त्याल बेलायत छन्त्याल संघका महासचिव हुन् भने बिमला लिम्बू किराँत याक्थुङ चुम्लुङ यूकेका आजीवन सदस्य हुन् । उता नवनिर्वाचित कोषाध्यक्ष ल्हाक्पा डोमा भने तोप्के गोला समन्वय समिति यूकेका महासचिव हुन् ।

अध्यक्ष कमान सिङ कर्मा पहाडी शेर्पाले अध्यक्षता र सचिव बिम्ला कुमारी राईले सञ्चालन गरेको बैठकले समितिका अन्य पदहरु पनि पुर्ति गरेको छ । जसमध्ये मानबहादुर गुरुङ, गंगा गुरुङ, याम छन्त्याल र धिरज राई कार्यसमितिको सदस्य चयन भएका छन् ।

त्यस्तै, बैठकले वर्तमान कार्यकालको लागि २२ जना सल्लाहकारहरु नियुक्ति गरेको छ, जसमा सबै जसो सल्लाहकारहरु आदिवासी जनजाति सवालमा अग्रपङ्तिमा रहेका लब्धप्रतिष्ठित अनुहारहरु नै छन् । नेफिन केन्द्रका पूर्व सचिव भक्त बहादुर दुरा, तमू धीं यूकेका सल्लाहकार तथा बरिष्ठ समाजसेवी एकेन्द्र गुरुङ, महासंघका पूर्व अध्यक्षहरु थर्क राना, सिरी लिम्बू, तुल छन्त्याल र जंग सुनुवार सल्लाहकार चयन भएका छन् ।

अन्य सल्लाहकारहरुमा प्राज्ञ डा. सुमाया राई, बरिष्ठ समाजसेवी लक्ष्मण तुलाचन, मगर संघ यूकेका पूर्व अध्यक्ष दुत पुन र वर्तमान अध्यक्ष सुनिल राना, तमू धीं यूकेका अध्यक्ष हितकाजी गुरुङ र पूर्व अध्यक्ष ज्ञाम गुरुङ, किराँत याक्खा छुम्मा यूकेका पूर्व अध्यक्ष धन रोगू र वर्तमान अध्यक्ष गुणराज खायाखिम रहेका छन् ।

किराँत याक्थुङ चुुम्लुङ यूकेका अध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, किराँत राई यायोक्खाका अध्यक्ष कल्पना राई, बेलायत छन्त्याल संघका अध्यक्ष झक छन्त्याल, दुरा सेवा समाज यूकेका अध्यक्ष इन्द्रबहादुर दुरा र सुनुवार सेवा समाज यूकेका सल्लाहकार होम सुनुवार पनि सल्लाहकारको सूचीमा रहेका छन् ।

आदिवासी अभियन्ताहरु धर्म तामाङ, विनोद राज मोक्तान र विस्वासदीप तिगेला पनि नेफिन यूकेको सल्लाहकार नियुक्त भएका छन् ।

आदिवासी सवालहरुको अग्रमोर्चामा रहेका कतिपय अग्रज, लेखक र अभियन्ताहरुको नाम सल्लाहकारहरुको सूचीमा देखिएन नि भन्ने प्रश्नको उत्तरमा अध्यक्ष शेर्पाले भने, “हामीले निकट भविष्यमै नेफिनको अन्तरराष्ट्रिय समितिमा पनि सल्लाहकारहरु पठाउनु पर्ने हुनाले अहिले नै सबै अग्रजहरुको नाम राष्ट्रिय समितिमा समावेश गरे पछि समस्या हुनसक्छ।”

अध्यक्ष शेर्पाका अनुसार महासंघले २७सौं विश्व आदिवासी दिवस यस बर्ष पनि भर्चुअल रुपमै मनाउने भएको छ । अगस्ट ७ शनिबारको दिन तय गरिएको उक्त कार्यक्रममा बेलायतका नेपाली राजदूत, नेफिन केन्द्रका अध्यक्ष जगत बराम, विश्वभरका नेफिनका अध्यक्षहरु र राष्ट्रिय नेताहरुको उपस्थितिमा मनाइने योजना रहेको छ ।