April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतीक हुन् – राजन मुकारूङ

घाँसी सिमान्तकृत समुदायको प्रतिरोधको प्रतीक हुन् – राजन मुकारूङ

लन्डन । आदिवासी मगर समुदायमा जन्मिएका घाँसी सिमान्तकृत र उत्पीडितहरूको सामाजिक चेतना र प्रतिरोधको प्रतीक भएको साहित्यकार राजन मुकारूङले बताएका छन् । उनले सामाजिक साँस्कृतिक रुपान्तरणमा उत्पीडितहरूको सौन्दर्यशास्त्रले मात्रै निर्णायक भूमिका खेल्ने समेत धारणा राखेका छन् ।


आदिवासी जनजनाति साहित्यकार/लेखक महासंघ, यूकेले आयोजना गरेको प्रथम घाँसी खड्ग ठाडा मगर जयन्तीका अवसरमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका मुकारूङले भानु जयन्तीकै दिन घाँसीलाई सम्झनु साँस्कृतिक प्रतिवादको आन्दोलन भएको बताए । ‘निश्चित भाषाका आदिकवि भनिएका भानुभक्तले दरिद्र पात्रका रूपमा उभ्याएका घाँसी श्रमजीवि र उत्पीडितहरूका पात्र हुन् । विम्ब हुन् । उनलाई बुझ्न उत्पीडितहरूको एस्थेटिक्स चाहिन्छ,’ उनले थपे, ‘अभिजात वर्गका दृष्टिकोणमा श्रमजीवि, उत्पीडितहरू जहिल्यै तल हुन्छन् । भानुभक्तको घाँसीको कुरा, देवकोटाको झिल्टुङको चौतारीहरूमा प्रकट हुने विम्बको अध्ययन नगरी आएका छौँ । नेपालमा एकल जातीय साँस्कृतिक सौन्दर्यशास्त्र रहेका कारण उत्पीडितहरूमा विश्वासको कमी आएको छ । त्यो नभत्केसम्म समानताको दृष्टिकोण सिर्जना हुँदैन ।’ उनले सामाजिक प्रतिरोधी चेतनाका लागि घाँसीलाई सम्झनु ठीक भए पनि बृहत् सामाजिक साँस्कृतिक आन्दोलनका लागि फरक सौन्दर्यशास्त्र र चेतको आवश्यकता महसुस भएको बताए ।

Advertisement

आङकाजी शेर्पा


यसैगरी, घाँसी जयन्तीका परिकल्पनाकार एवम् आदिवासी अभियन्ता आङकाजी शेर्पाले एकल नश्लवादीको राज्यसत्ताले आदिवासी समुदायको अस्तित्व कहिल्यै स्वीकार्न नसकेको आरोप लगाए । उनले आदिवासीको भूगोल, सभ्यता, सँस्कृति मात्रै नभएर विम्ब र प्रतीकहरू नामेट गरिएको बताए । ‘आदिवासी जनजाति समुदायका व्यक्तित्व र स्रष्टाहरू एकल जातीय राज्यसत्ताका कारण ओझेलमा परेका छन् । यहाँ सँस्कृतका ग्रन्थ अनुवाद गर्ने ठूला ठूला कवि भएका छन् । तर, मातृभाषामा लेख्ने, सिर्जना गर्ने, आदिवासीका सवालमा लेख्ने उपेक्षित भएका छन्,’ उनले आक्रोशित हुँदै भने, ‘यसकारण इतिहासको गर्तमा हराइएका घाँसी ठाडा मगरलाई स्मरण गरेका हौँ ।’

खुल्ला कविता प्रतियोगितामा तुम्खेवा प्रथम

कवि सीता तुम्खेवा


यसैगरी, घाँसी जयन्तीकै अवसरमा आयोजना गरिएको खुल्ला कविता प्रतियोगितामा काठमाडौँकी कवि सीता तुम्खेवा प्रथम भएकी छिन् । उनले अन्य १५ जना कविहरूलाई उछिन्दै पहिलो पुरस्कार हात पारेकी हु्न् । त्यस्तै, प्रतिस्पर्धामा धरानकी कवि हेन्सेन याक्खा दोस्रो र धरानकै कवि प्रदीप योङहाङ तेस्रो भएका छन् । सान्त्वना पुरस्कार भने उदयपरका टीका टोली मगरले हात पारे । विजयी कविहरूले क्रमशः नगद रू १५ हजार, १० हजार, सात हजार र पाँच हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।


अन्य प्रतियोगीहरूमा अमृत राई(पान्थर), औतारी साइला(यूके), इन्दिरा नेम्वाङ(इटहरी), गुरुप्रसाद कुमाल ‘बुलबुल’(दाङ), जित ठकुरी(नवलपुर), टंक बहादुर आले(उदयपर), नवीन लामा(सिरहा), निमा पोङ्सुवा(धरान), मञ्जु राई(खोटाङ), विमला तुम्खेवा(हङकङ), सन्तोष हरदम मगर(रोल्पा) र सीताराम राई रहेका थिए । निर्णायक मण्डलमा साहित्यकार विश्वासदीप तिगेला, अनुवादक रजनीमिला रजनी र कवि लाहाङ चेम्जोङ रहेका थिए ।


ओझेलमा परेका घाँसीको व्यक्तित्वलाई उजागर गर्न कार्यक्रम आयोजना गरिएको जयन्तीका संयोजक एवम् कार्यक्रम सञ्चालक अमित थेवेले जनाए । भर्चुअल जुमबाट सम्पन्न कार्यक्रमका सभापति एवम् साहित्यकार भगवान चाम्लिङले प्राप्त सिर्जना र घाँसीबारे लेखिएका अन्य खोजमूलक दस्तावेजहरू संकलन गरेर भविष्यमा कृति तयार पारिने जानकारी दिए ।