April 20, 2024, Saturday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएन यूकेको आसन्न चुनाव र हाम्रो दायित्व

एनआरएन यूकेको आसन्न चुनाव र हाम्रो दायित्व

विविध कारणले विदेशमा आइपुगेका र मातृभूमिप्रति अटल माया र चिन्ता भएकाले नै हामी एनआरएनएमा गोलबद्ध भएका हौं । विश्वभर फैलिएको एनआरएनए र यसको उद्गमस्थल बेलायतबीच अझ विशेष सम्बन्ध छ । बेलायतवासी नेपालीहरुका लागि यो संस्था अझ महत्वपूर्ण छ अनि यसबीचमा बेलायतवासीले मातृभूमिप्रति प्रकट गरेको माया, चिन्ता र सहयोगी मनहरुले यसको पुष्टि गरिसकेका छन् ।


यस संस्थामा अहिले नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भइसकेको छ । केही एनसीसीहरुले नयाँ नेतृत्व चयन गरिसकेका छन् भने अधिकांश एनसीसीहरुले यसैै महिना ९जुलाई० को अन्त्यसम्ममा नयाँ नेतृत्व चयन गर्दै छन् । सबै एनसीसीहरुले नयाँ नेतृत्व चयन गरेपछि आइसीसीले पनि नयाँ नेतृत्व चयन गर्ने छ । आइसीसीले त्यसका लागि निर्वाचन समिति घोषणा गरिसकेको छ । यसै सन्दर्भमा मैले ३१ जुलाईमा हुन लागिरहेको एनआरएनए, एनसीसी यूकेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरेको छु ।

Advertisement


बेलायत बसाइका साढे दुई दशक
सन् १९९६ देखि हालसम्मको निरन्तर बेलायत बसाइका क्रममा निरन्तर र विभिन्न माध्यमबाट यहाँको नेपाली समुदायका बीचमा हातेमालो गर्ने अवसर मिलेको छ । ब्रिटिश गोर्खा सैनिकका रुपमा उतिबेला बेलायत प्रवेश गरिरहँदा पक्कै पनि नयाँ ठाउँ र परिवेशका बारेमा नौलो लाग्नु स्वाभाविकै थियो । तर, यहाँको नेपाली समाजले मलाई कहिल्यै एक्लो हुन दिएन । यहाँको नेपाली समुदायले मलाई कहिल्यै न्यास्रो लाग्ने अवस्था उत्पन्न हुन दिएन । खेलकुद क्षेत्रमा रहेर पालना गरेको अनुशासन र परिवारबाटै सिकेको समाजसेवा भावले मलाई यहाँको नेपाली समाजसँग यसरी घुलमिल गरायो कि ब्यारेकमा रहँदा पनि समाजकै चासो र चिन्ताले डोर्याउन थाल्यो । जब एनआरएनएको स्थापना भयो, त्यतिबेला देखि नै कुनै नै कुनै रुपमा यसमा जोडिने अवसर प्राप्त भयो ।


पहिले त लाग्थ्यो, म यस संस्थाको सदस्य मात्रै रहेर समाजको सेवा गरुँ । तर, सेवाभाव यत्तिमा सीमित रहेन । समाजले नै मलाई एनआरएनए एनसीसी यूकेको कार्य समितिमा पुर्यायो । त्यो पनि एक पटक होइन, दुई दुई पटक ।


उपाध्यक्षका रुपमा दुई कार्यकाल
बेलायती सेनामा रहिरहँदा नैै विभिन्न कोणबाट एनआरएन अभियानमा मेरो सहभागिता थियो । फौजबाट अवकास लिएपछि त म पूर्ण रुपमा नेपाली समाजसँग सम्बन्धित गतिविधिमा सक्रिय भएँ ।
खेलकुद र युवाहरुका बीचमा काम गर्दै गर्दा बेलायतवासी नेपाली समुदायले नै मलाई एनआरएनको एनसीसीमा उपाध्यक्षका रुपमा पठायो । पछिल्ला दुई कार्यकाल निरन्तर रुपमा उपाध्यक्ष भएर काम गरिरहेको छु । उपाध्यक्षसँगै पहिलो कार्यकालमा च्यारिटी डिपार्टमेन्ट प्रमुख र दोश्रो कार्यकालमा गोर्खा डिपार्टमेन्टको प्रमुख संयोजकको रुपमा जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त गरेँ । मलाई एनसीसीमा पुर्याउने यहाँको समाज र जिम्मेवारी दिने नेतृत्व दुवैप्रति म आभारी छु ।


जिम्मेवारी अनुसार दायित्व निर्वाह गर्नु अपरिहार्य हुन्छ । त्यसमा पनि मलाई मेरै चासो र जानकारीका क्षेत्रमा जिम्मेवारी दिइएकाले काम गर्न थप सहज भयो । पहिलो कार्यकालमा गरिएका डिजाबिलिटी एड, भ्वाइस अफ नेपाल कन्सर्ट र च्यारिटी डिनर विथ बक्सिङ जस्ता कार्यक्रम ऐतिहासिक रहे । यी कार्यक्रमले युवा, वृद्धावृद्धा र खेलाडीसहित समाजका विभिन्न पक्षलाई एनआरएनले यस्तो पनि गर्न सक्दो रहेछ भन्ने प्रमाणित गरिदिए ।


दोश्रो कार्यकालको आरम्भसँगै विश्वव्यापी कोभिड महामारीले हामी सबैलार्ई सतायो । बेलायतवासी कैयौं नेपालीहरुले मृत्युवरण गर्नु पर्यो भने कैयौं बिरामी पर्नु भयो । बेलायतमै पहिलो र दोश्रो चरणको महामारी चलिरहेका बेला मातृभूमि नेपालमा पनि कोभिडको चरम असर देखियो । नेपालमा दोश्रो चरणमा फैलिएको महामारीका कारण त केही समय स्वास्थ्य प्रणालीले नै धान्न नसक्ने अवस्था सिर्जना भयो । बेलायतवासी नेपाली समुदायलाई सेवा पुर्याउनु त छदै थियो, मातृभूमिका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई पनि सहयोग पठाउनु पर्ने थियो । अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर र विभिन्न प्रकारका स्वास्थ्य सामग्री पठाउनुपर्ने खाँचो देखियो । यस काममा पनि हामी लाग्यौं । बेलायतवासी नेपालीहरुका तर्फबाट नेपालमा चहर्याइरहेको घाउमा मल्हम लगाउने प्रयास गर्यौं ।

यहाँ भन्नै पर्ने हुन्छ, म आफै अवकासप्राप्त गोर्खा सैनिक हुँ । भूतपूर्व गोर्खाहरुसँग सम्बन्धित थुप्रै समस्या छन्, यहाँ । सबैभन्दा ठूलो समस्या विभेद हो । विभेद कतिसम्म हानिकारक हुन्छ भन्ने तथ्य म सेवामा रहँदा नै भोगेको छु । सेवारत अवस्थामा नै विभेदविरुद्ध संघर्ष गर्नु परेको र कतिपय विभेदकारी प्रावधान सच्याउन बेलायत सरकार र ब्रिटिश आर्मीलाई वाध्य पारेको विषयमा तपाईंहरु अवगत नै हुनुहुन्छ ।


अवकाशप्राप्त सैनिकहरुको समस्या यतिबेला सैनिकहरुको मात्रै नभएर दुई देशबीचकै समस्याका रुपमा स्थापित भएको छ । समस्यालाई पहिचान गर्दै ब्रिटिश र नेपाल सरकारका बीचमा पुर्याउन हामी सफल भएका छौं । भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित विभिन्न संस्थाहरुसँगको सहकार्यमा हामीले नेपाल तथा ब्रिटिश सरकारलाई पत्र पठायौं। ब्रिटिश सरकारले लिखित जवाफ पठायो भने नेपाल सरकारले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नेपालमा नयाँ सरकार गठन भए पनि समस्याको समाधान गर्न दुवै देशलाई झकझक्याउने काम हामी गरिरहने छौं। म भोलि जुनसुकै भूमिकामा रहे पनि न्याय र समानताका लागि भूतपूर्व गोर्खा समुदायद्वारा जारि अभियानमा मेरो सधैं साथ र सहकार्य रहिरहने छ ।


हामीले गर्नैपर्ने काम
हामी सचेत भयौं भने संस्था बलियो हुन्छ । सचेत सदस्यहरुको साथले संस्थाले कहिल्यै पनि बाटो बिराउँदैन । गलत सोंच भएका व्यक्तिहरु हाबी हुँदा एकातिर संस्थाको साख गिर्दै जान्छ भने सदस्यहरुको मनोबल पनि घट्न थाल्छ । संस्थालाई सामूहिक नेतृत्वमा अगाडि बढाउने, निर्णय प्रक्रियालाई पारदर्शी बनाउने र खर्च प्रणालीलाई व्यवस्थित बनाउने लगायतका काम गर्न सकियो भने हामीले चाहे जस्तो संस्था बनाउन सक्छौं र सबैको विश्वास जित्न सक्छौं । त्यसका लागि मैले कार्य समिति भित्रै रहेर पनि गरेका संघर्षका बारेमा बेलायतवासी नेपाली समुदाय जानकार नै छ ।
अग्रजहरुले स्थापना गरिदिएको यो संस्थालाई अझ सबल बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । युवा पुस्ताको सहभागिताले मात्रै यो संभव हुने छ । युवाहरुको व्यापक सहभागिता गराउनुपर्ने जिम्मेवारी हामी सबैमा छ । समाजको संरचना अनुसार संस्थालाई समावेशी र सहभागितामूलक बनाउनुपर्ने छ ।


हामी बेलायतमा छौं । कतिपयले यहाँकै नागरिकता लिइसकेका छौं । तर, पनि हामी नेपाली नै हौं । हाम्रो मनमा नेपाल छ । मातृभूमि नेपालको समृद्धिले मात्रै हाम्रो मन खुसी हुन्छ । बेलायतमा बसेर जीविकोपार्जन गरिरहँदा मातृभूमिको विकासका लागि साथ र सहयोग जुटाउनु हाम्रो कर्तव्य नै हो ।
गैर आवासीय नेपाली संघलाई ‘मिनी नेपाल’का रुपमा चिनिन्छ । अब यसैको माध्यमबाट संसारभर मिनी नेपाल स्थापना गर्नु छ । नेपाल हाउस परियोजना त्यसैको एउटा सूत्र हो । यसलाई पूर्णता दिनुपर्ने छ । एकातिर एक पटकको नेपाली सधैंको नेपालीु भन्ने नारालाई स्थापित गर्नु छ भने अर्कोतिर नेपालमा रहेको हाम्रो सम्पत्तिको हक सुरक्षित गर्नुपर्ने अवस्था छ । यसका लागि पनि अबको नेतृत्वले कम्मर कसेर काम गर्नुपर्ने अवस्था छ ।


हामी जहाँ रहे पनि नेपाली नै हौँ । हामी सबैको मन मुटुमा नेपाल छ । त्यसैले त एनआरएनको छातामुनि जम्मा भएका छौं । एनआरएनएलाई बलियो बनाउन सक्यौं भने हामी बलियो हुन्छौं । संस्था नै कमजोर भयो भने हामी कोही पनि एक्लै बलियो हुन सक्दैनौं । संस्थालाई बलियो, पारदर्शी र विश्वसनीय बनाउने अभियान संस्थालाई बलियो, पारदर्शी र सबैको विश्वासप्राप्त बनाउने उद्देश्यले म यस अभियानमा लागेको हुँ । संस्थामा लाग्नु र नेतृत्व हत्याउनु मेरो उद्देश्य होइन । संस्थाबाट लिनका लागि नभई संस्थामा रहेर योगदान गर्नका लागि म अगाडि सरेको हुँ । आगामी दुई वर्ष मैले मेरो समय पूर्ण रुपमा एनआरएनएलाई छुट्याएको छु ।


हामी लोकतन्त्रमा विश्वास राख्छौं । विधि, प्रक्रिया र तोकिएका नियमहरुको पालना गर्छौं । त्यसैले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निस्पक्ष र भरपर्दो बनाइयोस् भन्ने हाम्रो माग हो। अवान्छित कुनै पनि गतिविधि स्वीकार्य हुने छैनन् । संस्थाको मर्यादा उच्च बनाउँदै नेपाली समुदायको हक र हितमा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दछु । विगतमा तपाईंहरुले दिनु भएको साथ,सहयोग र मायाका लागि आभारी छु । फेरि एक पटक तपाईंहरुको मन, मत र अभिमतको लागि निवेदन गरेको छु ।
गैरआवासीय नेपाली संघ, बेलायतको २०२१–२३ कार्यकालका लागि मेरा मुख्य एजेन्डाहरुः


१. कुनै पनि संस्थामा आर्थिक पारदर्शिता अपरिहार्य छ । एनआरएनए युकेमा अहिले चलिरहेको आर्थिक पारदर्शिताको अभियानलाई मैले निष्कर्षमा पुर्याउने छु र लेखा प्रणालीलाई चुस्त बनाउने छु । एनआरएन यूकेलाई सबै सदस्यहरुले गर्व गर्न सक्ने उदाहरणीय संस्था बनाउने छु ।
२. नेपाली नागरिकताको निरन्तरताु र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसँग अभियान चलाउने छु । नयाँ पुस्तालाई मातृभूमिसँग जोड्ने पहललाई परिणाममुखी बनाउने छु ।
३. भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा १३ बुंदे प्रतिवेदनसहितको ज्ञापनपत्र हामीले ब्रिटिश प्रधानमन्त्री तथा नेपाल सरकारलाई पठाइसकेका छौं। म आफै एक भूतपूर्व गोर्खा सैनिक भएकाले पनि आगामी कार्यकालमा गोर्खा समस्या समाधान गर्न रातदिन क्रियाशील हुनेछु।
४. गैरआवासीय नेपाली संघ, यूके ९एनआरएनए, यूके० लाई बेलायतस्थित सबै नेपालीको साझा संस्था बनाउने मेरो मुख्य उद्देश्य हो। बेलायतका सबै राज्यमा बसोबास गर्नुहुने आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुको भावनालाई आत्मसात गर्दै, नेपाली समुदायमा कृयाशील सबै सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा, ‘नेपाल हाउस निर्माण परियोजना’ लाई अगाडि बढाउने छु। आपत्कालीन कोषको रकम वृद्धि गर्दै आकस्मिक रुपमा आइपर्ने घटना तथा दुर्घटनामा राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउने छु । समस्या पर्दा हरेक सदस्यलाई ‘मेरो एनआरएन छ’ भन्ने अनुभूति गराउने छु ।
५. बेलायतमा ठूलो संख्यामा नेपालीहरुले प्राध्यापक, डाक्टर, इन्जिनियर, वैज्ञानिक, लएर, ,एकाउन्टेन्ट, उद्यमी, व्यवसायीका रुपमा सफलता प्राप्त गर्नु भएको छ। उहाँहरु सबैलाई एनआरएन अभियानसंग जोडेर उहाँहरुसंग रहेको सीप, दक्षता र पूँजी नेपालको विकासमा लगाउन मैले अथक प्रयास गर्ने छु। बेलायतबाट नेपालमा लगानी र पर्यटनलाई प्रोत्साहन गर्ने छु।
६. युवा पुस्ता तथा महिलाहरुको उत्साहजनक सहभागिता अभिवृद्धिका लागि युवा र महिला लक्षित कार्यक्रम ल्याउने छु । अभ्यास तथा प्रतिस्पर्धात्मक खेलकुद, सीपमूलक तालिम तथा कार्यशाला सञ्चालन गर्ने छु । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा प्रचार प्रसारका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने छु ।
७. अधिवेशन आएपछि मात्रै एनआरएनए युकेको सदस्यता खुला गर्ने र लिने परिपाटीको अन्त्य गर्दै जहिले पनि सदस्यता लिन सक्ने व्यवस्था मिलाउने छु । एक पटक सदस्यता लिएपछि सदस्यता नम्बरका आधारमा हरेक दुई वर्षमा तोकिएको शुल्क तिरेर नवीकरण गर्न सकिने र पटक पटक कागजात बुझाउन नपर्ने व्यवस्था गर्ने छु ।


(एनआरएनए युकेका उपाध्यक्ष तथा गोर्खा विभागका प्रमुख संयोजक गाहा मगर २०२१(२३ का लागि एनआरएनए यूकेको अध्यक्ष पदका प्रत्यासी पनि हुन् ।)