April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतमा बस्ने नेपालीहरु र नेपाली कांग्रेसको कार्यभार

बेलायतमा बस्ने नेपालीहरु र नेपाली कांग्रेसको कार्यभार

बिनोद मोक्तान

एक समयमा आपनो साम्राज्यमा सुर्यास्त नहुने देश भनेर चिनिएको संयुक्त अधिराज्य बेलायतसंग नेपालको दौत्य सम्बन्ध सुरु भएको पनि दुई सय बर्ष नाघिसकेको छ। दौत्य सम्बन्धपछि थोरै संख्यामा नेपालीहरु बेलायतमा बसोबास गर्न थाले पनि सन् १९९० को दशक पछि बेलायती सेनामा कार्यरत नेपालीहरु लगायत नेपालका अन्य समुदायका मानिसहरुको पनि आवागमन बढ्दै गयो । हालसम्म आइपुग्दा करिव २ लाख नेपालीहरु बेलायतमा बसोबासो गरिरहेको अनुमान गरिन्छ। यो जनसंख्या नेपालमा रहेका करिव १४ लाख परिवारसंग सोझै सम्बन्ध राख्दछ। बेलायतमा रहेका नेपाली जनसंख्याको ठुलो हिस्सा जनजाति समुदाय भित्र पर्दछ।

Advertisement

व्यवसायिक हिसावले हेर्दा, यहाँको उल्लेख्य संख्या, विविध व्यवसाय र व्यापारसंग सम्बन्धित छ र क्रमशः यो पश्चिमी विकसित देशका सीप सिकेर नेपालको लागि उल्लेख्य योगदान गर्नसक्ने हैसियत राख्दछ। नेपालसंगको पारिवारिक सम्बन्धलाई निरन्तरता दिईरहेको यहाँको समुदाय राजनैतिक रुपमा पनि त्यतिकै सकृय छ। बेलायतमा नेपाली कांग्रेस लगायत सवै पार्टिहरुका कार्यकर्ता र समर्थकहरुको उल्लेख्य उपस्थिति छ। अझ भन्ने हो भने धेरै जसो नेपालीहरुको नेपालको नागरिकता कायम रहेको अवस्था छ भने करिव ४० प्रतिशत नेपालीहरु बेलायती नागरिकता लिएर बसेका छन् तर नेपालसंगको उनीहरुको सम्बन्ध अटुट छ। त्यसैले नेपालीहरुको लोकतान्त्रिक चाहना र विकासलाई नेतृत्व र मुखरित गर्ने पार्टीको हैसियतले नेपाली कांग्रेसले निम्नानुसारका कार्यहरु प्राथमिकतामा राख्न सके त्यो बढी प्रभावकारी हुने विस्वास गर्न सकिन्छः

(१) लामो समय देखि बेलायती सेनामा काम गरेका भुतपुर्व गोर्खासेनाहरुको पेन्सनमा देखिएको विभेदलाई हटाउन नेपाली कांग्रेस र नयाँ सरकारले पहल गर्नुपर्दछ । यस्तो कार्यले नेपालीहरुबीच सरकार र पार्टीको लोकप्रियता अभिवृद्धि मात्र हुने होइन, एउटा ऐतिहासिक भुल र समस्यालाई समाधान गरेकोमा बेलायतवासी तथा नेपालमा रहेका लाखौं परिवारको जीवन स्तर उकास्न मदत पुग्नेछ।

(२) पहिलो पुस्ताको नेपालीहरु आर्थिक कारणले मात्र उनीहरु बेलायत लगायत अन्य मुलुकहरुमा बसोवास गरिरहेका छन् । राजनैतिक, आर्थिक विकास र भाषा साहित्यका विकासको हिसाबले अहिले पनि उनीहरुको प्राथमिकता नेपाल नै हो । त्यसैले एनआरएनले माग गरे बमोजिम उनीहरुलाई नागरिकता प्रदान गर्ने काम छिटो भन्दा छिटो गर्नु उपयुक्त हुन्छ । यसले दोश्रो पुस्ताका सीप, शिक्षा र लगानी गर्नसक्ने नेपालीहरुलाई पनि नेपालतर्फ आकर्षित गर्दछ । निरंकुशता र द्वन्दका कारणले बाहिरिएका नेपालीहरुलाई नेपाल फर्केर र योगदान गर्न पनि यसले प्रोत्साहित गर्ने छ ।

(३) चाँडो भन्दा चाँडो बाहिर बसेका नेपालीहरुलाई भोटहाल्ने अवस्थाको सृजना गर्नु अर्को एउटा उल्लेख्य कदम हुनेछ । यसले नेपाली कांग्रेसलाई मात्र होइन देशकै स्वच्छ राजनीति विकास गर्न मद्दत पुग्ने आशा गर्न सकिन्छ । निरंकुशता बिरुद्धको पटक–पटकको लडार्इंमा विदेशमा बस्ने नेपालीहरुको उल्लेख्य योगदान रहेको कसैबाट छिपेको छैन ।

(४) अर्को महत्वपूर्ण पक्ष भनेको नेपालीहरुलाई बिनारोकटोक सम्पति किन्ने(बेच्ने अधिकार प्रदान गर्नु नै हो । बिदेशी नागरिकता लिएको होस् नलिएको होस्, उनीहरुलाई सम्पति किन्न दिनु भनेको नेपालीहरुलाई नेपालमा बिदेशी मुद्रा भित्र्याउन प्रोत्साहित गर्नु हो । यसको उल्लेख्य पक्ष के हो भने यस्तो क्षेत्रमा गरिएको लगानी नेपाल बाहिर जाने सम्भावना कम हुन्छ ।

(५) नेपालीहरुको घना बसोबास भएको मुलुक बेलायत लगायत युरोपका अन्य मुलुकहरु राष्ट्रिय ध्वजाबाहक जहाजबाट अबिलम्ब जोडिनु उपयुक्त हुन्छ । यस्तो कार्यले नेपालीहरुको आवागमनलाई मात्र सुबिधा पुर्याउने होइन, यसले ति मुलुकहरुका वासिन्दाहरुलाई नेपाल भ्रमणको निम्ति प्रोत्साहित गरी नेपालको पर्यटन व्यवसायमा उल्लेख्य योगदान गर्ने छ।

(६) त्यस्तै गरी कोभिडको महामारीबाट मृत्यबरण गरेकाहरुको परिवार र पीडितहरुको राहतलाई उच्च प्राथमिकतामा पार्दै कोभिड–१९ बिरुद्दको खोप देशका सबै नागरिकहरुलाई चाँडो भन्दा चाँडो उपलब्ध गराउनु पनि अब सरकारको पहिलो कर्तब्य हुन जरुरी छ ।

अहिले सरकारसंग उपलब्ध चुनाव सम्मको छोटो अवधिमा यति गर्न सके पार्टी, सरकार र देश कै निम्ति उल्लेख्य योगदान पुग्नेछ।

(लेखक नेपाली कांग्रेस, जनजाति बिभागको सदस्य हुनुहुन्छ) ।