April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिरिजंगा लिपिलाई किरात लिपि भन्नु न्यायसंगत छैन

सिरिजंगा लिपिलाई किरात लिपि भन्नु न्यायसंगत छैन

याक्थुङ लिम्वुहरुले प्रयोग गर्दै आएको लिपिलाई सिरिजंगा लिपि भनिन्छ । यो लिपिलाई याक्थुङहरुले चलाएर वचाएर ल्याएकोले याक्थुङ लिपि, लिम्बु लिपि पनि भनिन्छ । त्यस्तै प्राचीनकालमा तागेरानिङवाफुमाङले येत्हाङहरुलाई दिएकोले माङसक् लिपि, येत्हाङहरुले चलाएकोले येत्हाङ लिपि पनि भनिन्छ ।


यो लिपी राज्यको शक्तिसंगै प्रयोग हुदै र प्रयोगविहीन हुदै आएको इतिहास छ । जस्तै माङसक् र येत्हाङ लिसप मुन्धुममा सिमित छ । कथा कहानीमा सीमित छ । येत्हाङहरु नै याक्थुङ भएकोले याक्थुङ इतिहास लामो छ । छैंटौ शताव्दीतिर याक्थुङलाजेको राजाहरु मावारोङहाङ र साम्वाहाङको पालामा पनि याक्थुङ लिपीको प्रयोग भएको इतिहास छ । त्यसपछि २ सय शताव्दी जस्तो त्यति प्रयोगमा आउन सकेको देखिदैन । अन्य लिपी प्रयोग गर्ने राजा महाराजाहरुको कारण प्रयोग विहिन भएर हराउन आँटेको समयमा याक्थुङलाजेको अर्को राजा सिरिजंगाहाङको उदय पश्चात पुरानो लिपिलाई पूनरुत्थान गरेर प्रयोगमा ल्याए । प्रचारमा ल्याए । ४–५ सय वर्ष यस लिपिको सामान्य अवस्था रहयो ।

Advertisement

सिरिजंगा लिपि ।

फेरी बिस्तारै याक्थुङलाजेको राजाहरुको पतनको कारण वाहय शक्तिले आफनो प्रभाव वनाई याक्थुङ लिपीको प्रयोग हुन छाडयो । याक्थुङ लिपि हराउन थाल्यो । अब यो लिपिलाई जोगाउनु पर्छ भनेर १८ औं शताव्दीतिर याक्थुङलाजे याक्वरक यकको एकजना व्यक्ति लागि परे । उनलाई तेअङसी सिरिजंगा भनिन्थ्यो । उनले नवौं शताव्दीमा पूनरुत्थान गरेको लिपीलाई पून संकलन गरेर प्रचार प्रसार गर्न थाले । ढुंगामा लेखे, रुखको वोक्रा, कागजहरुमा लेखे । अनी याक्थुङ लाजेभरी पढनु लेख्नु पर्छ भनेर प्रचार गरे । यसरी प्रचार प्रसार गर्ने क्रममा उनलाई याक्थुङलाजेकै सिमाक्षेत्र सिक्किमका याक्थुङ लिपी भाषा विरोधी ठाछाङ लामाहरुले समातेर रुखमा वाँधी तिरले हानेर निर्ममतापूर्वक मारे । उनलाई मारे पछि याक्थुङहरुले याक्थुङ लिपीलाई उनको सम्मानमा सिरिजंगा लिपी भनेर सम्वोधन गरे । उनको समय पछि याक्थुङलाजे पनि शक्तिहिन हुदै गोरखामा सामेल हुन पुग्यो । कतिपय सिक्किममा सामेल भयो । तसर्थ याक्थुङ भाषा र लिपी जनवोलीमा मात्र सिमित भयो । त्यस्तै लिपी पनि विलुप्त हुन थाल्यो । तर कतिपय लिपीविदहरुले सिरिजंगा लिपीको नाममा जोगाउदै ल्याए । सिक्किम सरकार लिम्वु लिपीको नाममा प्रयोगमा ल्याईदियो । गोरखा त्यसपछि नेपालले प्रतिवन्ध लगाईदियो । धेरै स्रस्टाहरुलाई जेलनेल हालियो भने कति विदेश पलायन भए । ती मध्ये लालसोर सेन्दाङ पनि विदेश पलायन हुने एक हुन ।


बाजवीर थलङ, इमानसिंह चेम्जोङ, विवि मुरिङला आदिको योगदान पनि अतुलनीय छ । पूर्खाहरुको यही निरन्तरतालाई वर्तमान घडीसम्ममा पनि सिरिजंगा लिपी भनेर याक्थुङ लीपीलाई सम्वोधन गरिएको छ । तर वर्तमान घडीमा आएर याक्थुङ समुदायको हितमा खोलिएको भन्ने संस्था किरात याक्थुङ चुम्लुङको तथाकथित अध्यक्ष लगायत पदाधिकारीहरु किरात लिपी नामाकरण गर्नमा तल्लिन छन । यो न्याय संगत छैन । पूर्खाहरुको योगदानको सम्मान छैन । पूर्खाहरुले ज्यानको बाजी मारेर ल्याएको लिपिलाई कौडीको भाउमा विक्री गर्न तल्लीन छन् । उनीहरुलाई अवश्य पूर्खाहरुको रगतले सराप्नेछ ।


मेरो व्यक्तिगत विचारमा सिरिजंगा लिपीको नाम परिवर्तन गरिनु हुन्न । यो नाममा प्राचिनता लुकेको छ । वरु यही लिपीलाई अरु समुदायले प्रयोग गर्न सक्छन । उनीहरुले आवश्यक लिपीहरु थपघट गर्न सक्छन् । याक्थुङ जातिलाई कुनै थपघटको आवश्यकता छैन । समयअनुसार केही थपघट हुन सक्छ । तर लामो समयको अन्तरालमा मात्र त्यस्तो अवस्था आईपर्छ ।

लेखक पालुङ्वा


यसर्थ राई, सुनुवार, याख्खा आदिले यहीँ लिपिलाई प्रयोग गर्न चाहे र आवश्यकता अनुसार थपघट गरेर चलाउनु सान्दर्भिक हुनेछ । ज्यानको वाजीले नाम पाएको सिरिजंगाको नाममा रहेको लिपीलाई सिरिजंगा लिपि भनेर सम्मान गनुपर्दछ । सम्मान गर्न सक्नु पर्दछ । यदी सम्मान गर्न सकिदैन भने यो लिपी चलाउनुको औचित्य पनि छैन । जस्ले जोगाएर ल्याई हामीलाई सुम्पेको छ त्यसैलाई प्रयोग गर्ने अनी अर्को किरात नाम दिने? यस्तो पनि हुन्छर? यो न्यायसंगत पनि छैन । तर्कसंगत पनि छैन । यसो गनु भनेको सिरिजंगाको दोस्रो पटक हत्या गर्नु हो । के सिरिजंगाको दोस्रो पटक हत्या गर्न योगराज वनेमको अध्यक्षतामा रहेको किरात याक्थुङ चुम्लुङ तयार छ ? आत्मादाह गर्न तयार छ ? संस्थाको तत्कालिन पदाधिकारीहरु जानी नजानी तयार भए पनि याक्थुङ जन समुदायहरु अवश्य तयार छैनन?मलाई लाग्छ याक्थुङ समुदायसंग सम्वन्धित अन्य संस्थाहरु याक्थुङ चुम्लुङ, युमा साम्यो आदि संस्थाहरु सिरिजंगा लिपिलाई किरात लिपि बनाउने कुराको विपक्षमा छन् । उनीहरुको विधानमै सिरिजंगा लिपि भनिएको छ । अन्त्यमा किरात याक्थुङ चुम्लुङले सिरिजंगाको सम्मान गर्दै, पूर्खाको सम्मान गर्दै सिरिजंगा लिपिलाई किरात लिपि नामाकरण गरेर आत्मघाती काम नगरोस भन्ने जोडदार विरोध पनि गर्दछु ।

(लेखक युमा साम्यो युकेका उपाध्यक्ष हुन्)