May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेमा त्रिकोणात्मक  प्रतिस्पर्धा, गाहा मगरको सम्भावना कायमै

एनआरएनए यूकेमा त्रिकोणात्मक प्रतिस्पर्धा, गाहा मगरको सम्भावना कायमै

लण्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए)को उद्गम थलो बेलायतमा राष्ट्रिय समन्वय परिषद्(एनसीसी)को नेतृत्वका लागि त्रिपक्षीय भिडन्त देखिएको छ । ३१ जुलाईमा हुने निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको हो ।

आगामी नेतृत्वका लागि वर्तमान एनसीसी कार्य समितिका दुई उपाध्यक्ष र इङ्ल्याण्ड राज्य परिषदका अध्यक्षले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि उम्मेदवारी दिएका प्रेम गाहा मगर र रोजिना प्रधान राई वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् भने दीपक श्रेष्ठ राज्य परिषदका अध्यक्ष हुन् । उनीहरु तीनै जना लण्डन निवासी हुन् । अध्यक्षसँगै महत्वपूर्ण मानिने उपाध्यक्ष र महासचिव पदमा पनि उस्तै प्रतिस्पर्धा देखिएको छ । उपाध्यक्षमा टिम अनुसारको उम्मेदवारी नपरे पनि महासचिवमा भने तीनै जना अध्यक्षका उम्मेदवारको समर्थनमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षसँगै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा सह–कोषाध्यक्षमा टिम अनुसारका उम्मेदवार देखिएका छन् ।

Advertisement

एक उपाध्यक्ष निर्विरोध

एनसीसी यूकेका लागि दुई खुला उपाध्यक्ष निर्वाचित हुने छन् भने राज्य समन्वय परिषदलाई प्रतिनिधित्व गर्ने गरी निर्वाचित हुने छन् । राज्य परिषद अन्तर्गतका चारमध्ये वेल्सबाट चयन हुने उपाध्यक्षका लागि रामचन्द्र पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनी बहालवाला उपाध्यक्षसमेत हुन् । पोखरेलले अध्यक्ष पदमा गाहा मगरलाई समर्थन गरेका छन् ।

त्यस्तै, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदका लागि मोहन कार्की र छविलाल अर्याल, नर्दन आयरल्याण्डबाट नारायण कंडेल र नारायण कुंवरको उम्मेदवारी परेको छ । कार्की र कँडेल पनि बहालवाला उपाध्यक्ष हुन् । दुई खुल्ला उपाध्यक्षका लागि सुनिलबाबु खड्का, पवन शर्मा, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचनले उम्मेदवारी दिएका छन् । खड्का बहालवाला उपाध्यक्ष हुन् । खड्का र खरेल अध्यक्षका उम्मेदवार गाहा मगर समर्थित मानिन्छन् । महिला उपाध्यक्षमा प्रसुना कंडेल, शकुन्तला गुरुङ र सरस्वती केसी गरी तीन जनाको उम्मेदवारी परेको छ भने महासचिव पदका लागि गाहा मगरको टिमबाट खुसी लिम्बु, श्रेष्ठको टिमबाट जीत रानाभाट र रोजिना टिमबाट मुकुन्द बास्तोलाले उम्मेदवारी दिएका छन् । खुला २ सचिवमा चार जना र महिला १ सचिवमा दुई जनाको उम्मेदवारी परेको छ । सचिवमा उम्मेदवारी दिएका धातानन्द खरेल (डिएन खरेल), ज्ञानेन्द्र आले, विशाल गुरुङ र विष्णु चालिसेमध्ये आले र चालिसे गाहा मगर समर्थित हुन् । महिला सचिवमा उम्मेदवारी दिएका दुई जनामध्ये कल्पना त्रिपाठी रोजिना र नम्रता घले गुरुङ गाहा मगर पक्षका मानिन्छन् । कोषाध्यक्षमा पनि दुई पक्षीय प्रतिस्पर्धा देखिएको छ । गाहा मगर पक्षीय विष्णुप्रसाद खरेल र रोजिना पक्षबाट धनसरी राई तथा सह–कोषाध्यक्षमा रोजिना पक्षधर हेम गुरुङ र गाहा मगर पक्षधर सशांक शर्माको उम्मेदवारी परेको छ । त्यसैगरी युथ कोअर्डिनेटरमा तीर्थबहादुर मल्ल (अनिल) र चन्दन गुरुङले उम्मेदवारी दिएका छन् ।

महिला संयोजकमा मनिकला राई गुरुङ र विमला लिम्बुको उम्मेदवारी परेको छ । कार्य समिति सदस्यमा पनि तोकिएको पद भन्दा बढीको उम्मेदवारी परेको छ । २७ सदस्यीय कार्य समितिमा १३ सदस्य निर्वाचित हुने छन् । त्यसका लागि बीस जनाको उम्मेदवारी परेको छ । सदस्य पदमा सुशील प्रजापति, इश्वर महर्जन, इन्दिरा (सपना) खनिया, विशाल राई, सुमन शर्मा, सुरेश परियार, हिरा (दीपक) सापकोटा, पदमबहादुर गोले, मोहन ओली, भिमलाल खनाल, देउमान इजम, चम्पा थापामगर, पदमबहादुर शाही, भानुभक्त घिमिरे, गीता रायमाझी, ठाकुरप्रसाद ढुंगाना, दिपक ढकाल, उपेन्द्र पौडेल, बालकृष्ण दाहाल र चेतबहादुर रानाले उम्मेदवारी दिएका छन् ।

आइसीसी सदस्य पनि निर्विरोध

यूकेबाट आइसीसीमा प्रतिनिधित्व गर्ने ७ सदस्य पदका लागि नौ जनाको उम्मेदवारी परेकोमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि सातै जना निर्विरोध निर्वाचित भएका छन् । आइसीसी सदस्यका लागि समिर खनाल, दिनेश घिमिरे, कोशलेश्वर ढकाल (कृष्ण), अर्कराज तिमिल्सिना, केदार थपलिया, राजेन्द्रप्रसाद पुडासैनी, महेश अधिकारी, एलएन पाण्डे, भिमलाल भट्टराईले उम्मेदवारी दिएकोमा तिमिल्सिना र थपलियाले उम्मेदवारी फिर्ता लिएका छन् । अब आइसीसी सदस्य पदका लागि निर्वाचन गर्न नपर्ने भएको छ ।

वेल्स र नर्दन आयरल्यान्डमा निर्विरोध, इङ्ल्याण्ड र स्कटल्याण्डमा दुई प्यानल

एनसीसी यूके अन्तर्गतका चार मध्ये दुई राज्य समन्वय परिषदमा निर्विरोध कार्य समिति चयन भएको छ । निर्वाचन समितिका अनुसार वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषदमा कार्यसमिति नै निर्विरोध भएका छन् । नर्दन आयरल्यान्डको अध्यक्षमा बलबहादुर थापा र वेल्सको अध्यक्षमा कृष्ण भण्डारीसहित कार्य समिति नै निर्विरोध भएका हुन् । इङ्ल्याण्ड राज्य परिषदमा अध्यक्षमा डा मीन रानाभाट र एलबिजेड गुरुङको उम्मेदवारी परेको छ ।

यस्तो छ अंक गणित

एनसीसी यूकेले सञ्चालन गरेको मेम्बरशिप ड्राइभ अन्तर्गत ११ हजार तीन सयको हाराहारीमा सदस्यता स्वीकृत भएको छ । द्विपक्षीय प्रतिस्पर्धा हुँदा उम्मेदवारहरुले पचास प्रतिशत मत नघाउनुपर्ने अवस्था हुन्थ्यो भने अहिले त्यो अवस्था हटेको छ । त्रिपक्षीय प्रतिस्पर्धामा निर्वाचित हुन उम्मेदवारले यत्ति नै मत ल्याउनुपर्ने भनेर एकिन रुपमा भन्न नसकिने भएपनि पाँच हजार हाराहारीमा मत प्राप्त गर्ने उम्मेदवार सहजै विजयी हुने देखिन्छ । तीन जनाबीच तीव्र प्रतिस्पर्धा भएमा चार हजारको हाराहारीमा मत ल्याउनेले पनि जित्ने देखिन्छ ।

सदस्यता अभियानमा देखिएको सक्रियता र प्राप्त समर्थनका आधारमा प्रेम गाहा मगर अग्रस्थानमा देखिएका छन् । बहालवाला उपाध्यक्ष प्रेम गाहा मगर र उनी समर्थकहरुले सदस्यता विस्तारमा देखाएको सक्रियताका कारण ६ हजार भन्दा बढीले सदस्यता लिएको बताइन्छ । त्यस्तै, बहालवाला कार्य समितिका उपाध्यक्षहरु सुनीलबाबु खड्का, नारायण कँडेल, मोहन कार्की र रामचन्द्र पोखरेलले पनि अध्यक्ष पदमा गाहा मगरलाई नै समर्थन गरेका छन् । कार्य समितिमा रहेका अन्य पदाधिकारी र सदस्यहरु मध्ये अधिकांश गाहा मगरकै पक्षमा खुलेका छन् । बेलायतमा रहेका नेपालीहरुमध्ये अधिकांश ब्रिटिश गोर्खा सैनिक र उनीहरुका परिवारका सदस्यहरु रहेका छन् । गाहा मगर आफैं पनि एक जना पूर्व ब्रिटिश गोर्खा सैनिक रहेकाले उनीहरुको समर्थन पनि गाहा मगरलाई हुने अनुमान गरिएको छ । गोर्खा सैनिकको समस्या समाधानका लागि उनले एनसीसीमा रहेर गरेको पहललाई पनि विशेष महत्वका साथ हेरिएको छ । युवा र खेलाडीहरुका बीचमा लोकप्रिय गाहा मगरले उनीहरुको पनि साथ पाउने देखिएको छ ।

खुल्न थाले संस्थाहरु

बेलायतमा नेपालीहरुसँग सम्बद्ध करिव तीन सयको हाहारारीमा संघ संस्थाहरु रहेका छन् । तीमध्ये केही जातीय र क्षेत्रीय(जिल्लागत) तथा सामाजिक संस्थाहरुले पनि संस्थागत रुपमा नै आगामी नेतृत्वका लागि समर्थन घोषणा गर्ने क्रम शुरु भएको छ । आदिवासी जनजाति महासंघले यसअघि नै गाहा मगर नेतृत्वको टिमलाई समर्थन गर्ने घोषणा गरिसकेको छ । त्यस्तै, तमु धीं यूके, गुल्मी समाज, मगर संघ यूके, नेप्लिज यूथ यूके, साझा नेपाली समाज मिडल्याण्ड, भूपू गोर्खा सम्बद्ध संस्थाहरु लगायतले गाहा मगरलाई समर्थनको घोषणा गरिसकेका छन् । त्यस्तै, अधिकांश जिल्ला समाजहरुले पनि गाहा मगरलाई समर्थनको वचन दिइसकेका छन् । निर्वाचन निश्पक्ष हुँदा गाहा मगरको जित सुनिश्चित देखिएको छ, प्रेम गाहा मगर जितऔं अभियानका प्रमुख संयोजक शेरबहादुर सुनारले भने, अब सकेसम्म धेरै सदस्यहरुलाई मतदानमा सहभागी गराउनु पर्ने छ ।