May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागको योजनामा कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका सुपरिचित विज्ञहरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित भएको छ ।

नेपाली शैक्षिक क्षेत्रले लामो समयदेखि आधिकारिक शैक्षणिक व्याकरणको आवश्यकता महसुस गरिरहेको सन्दर्भमा प्रकाशित यस व्याकरणको विशिष्ट महत्त्व रहेको छ । विशेष गरी विद्यालय र विश्वविद्यालयका शिक्षक र विद्यार्थीलाई केन्द्रित गर्दै प्रयोगात्मक विधिको प्रयोग गरी लेखिएको यो पाठपरक रचनात्मक व्याकरण हो । यस व्याकरणले शिक्षण प्रशिक्षणका साथै व्याकरणका सबै अध्येतालाई सघाउ पु¥याउने निश्चित छ । यसमा सबैभन्दा पहिला विभिन्न विषयका सान्दर्भिक पाठहरू दिई ती पाठमा प्रयोग भएको व्याकरणलाई पहिचान गरी त्यसबाट व्याकरण सिकाउने विधिको प्रयोग गरिएको छ । यसले भाषा र व्याकरण अलग कुरा होइनन् व्याकरण भनेको भाषाभित्रकै नियम समुच्चय हो भन्ने कुरालाई प्रस्ट पारेको छ । नियम र सिद्धान्तबाट व्याकरण सिकाउने निगमनात्मक पद्धति भन्दा भिन्न आगमनात्मक पद्धतिको प्रयोग गरी व्याकरण सिकाउँदा शिक्षण प्रभावकारी, रोचक र सरल हुनुका साथै भाषिक सिपको अभिवृद्धिमा पनि सहयोगी हुने कुरालाई यसले प्रस्ट पारेको छ । यसमा भाषिक व्यवस्थाका विविध पक्षलाई प्रतिनिधित्व गर्ने खालका विभिन्न पाठहरू दिइएका छन् ।

Advertisement

विद्यार्थीहरू भाषिक प्रयोगबाट नै नेपाली भाषाको व्याकरण व्यवस्थासित परिचित होऊन् भन्ने उद्देश्यले प्रबन्ध, दैनिकी, कथा आदिबाट प्रत्येक पाठको प्रारम्भ गरिएको छ भने प्रत्येक पाठका अन्त्यमा विभिन्न स्रष्टाका रचनाका अंश दिई त्यसबाट अभ्यास गराइएको छ । यसरी रचनात्मक एवम् प्रयोगात्मक विधिका माध्यमबाट व्याकरण शिक्षण गर्ने कुरालाई यसमा प्रस्तुत गरिएको छ । यो व्याकरण सबै तहको शिक्षण–प्रशिक्षणका लागि त उपयोगी छ नै साथै नेपाली भाषा र व्याकरणप्रति चासो राख्ने जो कोही अध्येताका लागि पनि आवश्यक सामग्री बनेको छ । डिमाइ आकारको ३५२ पृष्ठमा विस्तारित यस पुस्तकको मूल्य ३१५ रहेको छ । पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तक विक्री भण्डार र आधिकारिक विक्रेताका विक्री कक्षमा उपलब्ध छ ।