अब अनलाइनबाटै ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने
काठमाडौं । बागमती प्रदेशमा आजदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । यसअन्तर्गत सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने छ ।
प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन् । कार्यक्रममा अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसकाे सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिए ।
उनले यी सेवा मन्त्रालयकाे वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने जनाए । यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ ।
यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन् ।
सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्नेगगरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएकाे छ ।
यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका सूचना अधिकारी राजु अर्यालले मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तरबैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने जानकारी दिए ।
त्यसो त प्रदेश मन्त्रालयले गत असार २४ मै यो प्रणाली लागू भएको सूचना प्रकाशित गरेको थियो । तर पूर्ण प्राविधिक तयारी तथा भुक्तानी सुविधा सहितको सिस्टम बल्ल तयार भएको हो ।
नागरिक एपमा पछिल्लो अपडेटमार्फत “सवारी कर” फिचर आइसकेको छ । जसमार्फत आफ्नो सवारी साधनको विवरण, यसअघि कर तिरिसकेको विवरण र तिर्न बाँकी कर लगायतको जानकारी लिन सकिन्छ ।
अब शुक्रबारदेखि तिर्न बाँकी रहेको कर अन्तर्गत अनलाइन भुक्तानीका विकल्प समेत जोडिनेछन् । बागमती प्रदेशबाट सुरु हुने यो सेवा अब क्रमशः अन्य प्रदेशका यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत विस्तार हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्