April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

लन्डन । गैर आवासीय नेपाली संघमा महिलाहरुको सहभागिता र नेतृत्वबारे चर्चा हुन थालेको निकै भइसक्यो । तर, परिणाममा भने यस्तो अझै देखिएको छैन ।

संघमा महिलाहरुको उत्साहजनक सहभागिता र नेतृत्वको मुद्दाले एनआरएनए, एनसीसी यूकेको आसन्न निर्वाचनमा पनि प्रवेश पाएको छ । खासगरी एनसीसीको महिला संयोजक उम्मेदवार रहेकी सामाजिक अभियन्ता विमला लिम्बुले महिला सहभागिता र सशक्तीकरणको मुद्दालाई अघि सार्दै चुनावी अभियानमा होमिएकी छन् ।

Advertisement

‘अझै पनि एनआरएनमा महिलाहरुको उपस्थिति न्यून नै छ, महिलाहरुको उचित सहभागिता बिना संस्था पूर्ण बन्न सक्दैन’ उनले भनिन्, ‘सामाजिक संस्थालाई सही रुपमा परिचालन गर्न महिलाहरुको सहभागिता बढाउन आवश्यक छ।’

महिलाहरुको सहभागिताले मात्रै पनि नपुग्ने र नेतृत्वमा नै स्थापित गर्नुपर्ने उनको मान्यता छ । तर, सहभागिता वृद्धि नगरी नेतृत्व स्थापित हुन मुस्किल हुने उनको बुझाइ छ । ‘सहभागिता बढाउन सकियो भने महिलाहरुलाई नेतृत्वमा पुग्नबाट कसैले रोक्न सक्दैन’ उनी भन्छिन् ।

सामाजिक रुपमा महिलाहरुलाई सशक्तीकरणको खाँचो पनि रहेको उनले बताइन् । आफ्नो घरधन्दा र जीविकोपार्जनमा मात्रै सक्रिय महिलाहरुलाई सामाजिक संघ संस्थामा स्थापित गर्न सशक्तीकरण गर्नु जरुरी छ, उनले भनिन् ।

मेरो मुख्य अजेण्डा नै महिलाहरुको सहभागिता बढाउने र सशक्तीकरण गर्ने हो, उनले भने, यो भएन भने एनआरएनए साँचो अर्थमा साझा संस्था बन्न सक्दैन ।

महिला संयोजक उम्मेदवार लिम्बुले संस्थाको पारदर्शिता, सुदृढीकरण र गोर्खा मुद्दा लगायतका विषयमा प्रेम गाहा मगरले अघि सारेका अजेण्डामा आफ्नो सहमति जनाइन् । अजेण्डामा एकमत भएमा पछि कार्यान्वयनमा पनि सहज हुने उनको भनाइ छ ।

सन् २०१३ देखि एनआरएन अभियानमा सक्रिय लिम्बुले यसअघि नै एनसीसी कार्य समिति र कार्य समिति बाहिरै रहेर विभिन्न काम गरिसकेकी छन् ।

सोह्र, सत्र वर्ष लामो बेलायत बसाइका क्रममा उनले एनआरएन बाहेक अन्य विभिन्न सामाजिक संस्थाहरु मार्फत पनि समाजिक काममा उत्तिकै सक्रिय छन् ।

नेपाल पाँचथरकी बिमला नेपालमा हुँदादेखि नै संगठित हुने र संस्थामार्फत काम गर्ने प्रक्रियामा अभ्यस्त थिइन् । धरानस्थित हात्तिसार क्याम्पसमा स्ववियु कोषाध्यक्ष बनेकी उनी काठमाडौंको त्रिचन्द्र क्याम्पसमा अध्ययन गरिरहेका लिम्बु विद्यार्थी मञ्चमा सक्रिय थिइन् ।

अध्ययनकै शिलशिलामा हङकङ हुँदै लण्डन पुगेकी बिमला त्यहाँ पुगेपछि विभिन्न संस्थाहरुमार्फत सामाजिक काममा सक्रिय भइन् ।

२०१५–२०१७ मा एनसीसीको च्यारिटी विभागमा रहेर काम गरेकी लिम्बूले २०१७–२०१९ मा कार्य समिति सदस्य नै भएर काम गरिन् । सन् २०१९–२०२१ का लागि महिला उपाध्यक्षको उम्मेदवार रहेकोमा चुनावी नतिजा उनको पक्षमा आउन सकेन ।

‘चुनावमा जित हार त भइहाल्छ तर, आफ्नो अजेण्डा स्थापित गर्न निरन्तर लागिरहनु  पर्छ’ उनले भनिन्, ‘तिनै अजेण्डा कार्यान्वयनमा लैजान म यसपाली महिला संयोजकको उम्मेदवार बनेकी हुँ ।’

आफ्नै व्यवसाय सन्चालन गरेर परिवारैसहित लण्डन बस्दै आएकी लिम्बु समस्यामा परेका नेपालीहरुको सहयोगका लागि निरन्तर सक्रिय छन् । बेलायतमा रहेका नेपालीहरुलाई सघाउन होस् वा मातृभूमिमा सहयोग पठाउने काममा उनले निरन्तर योगदान दिइरहेकी छन् ।

सन् २०१५मा नेपालमा विनाशकारी भूकम्पले निम्त्याएको विपत्तिपछि एनआरएन र अन्य सामाजिक संस्थाहरुबाट आर्थिक संकलन गरी नेपाल पठाउन उनी लागिपरेकी थिइन् ।

सामाजिक काममा निरन्तर सहभागिताका कारण बेलायतवासी नेपालीहरुको साथ र सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरिन् ।