April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धरानको एक कालखण्डको इतिहासमा पूर्णविराम

धरानको एक कालखण्डको इतिहासमा पूर्णविराम

धरान । धरान नगरको आधारभूत पूर्वाधार निर्माणकालमा नगरपालिकाको कार्यवाहक सभापति र नगर पञ्चायतको प्रथम प्रधान पञ्च रहेका सूर्यप्रसाद उपाध्यायको ७५ वर्षको उमेरमा आइतवार दुःखद निधन भएको छ ।

उनको निधनले धरानको एक कालखण्डको इतिहासमा पूर्ण विराम लागेको छ । उपाध्यायले धरान छुट्टै नगरपालिका बनेपछि लोकतान्त्रिक सरकारको समय २०१७ सालमा नगरपालिकाका कार्यवाहक सभापतिको रुपमा धरानको नेतृत्व गरेका थिए । व्यवस्था परिवर्तन भई पञ्चायतको शुरुआतमा पहिलो पटक २०२० सालमा भएको प्रधान पञ्चको प्रत्यक्ष निर्वाचनमा उनि विजयी भए । उपाध्याय धरानको प्रधान पञ्चको रुपमा २०२७ साल चैत मसान्त सम्म रहेको उनको जिवनी तयार गरिरहेका साहित्यका गोविन्द तिम्सिनाले बताए ।त्यसबेला धरानलाई नगरको रुपमा विकास गर्न आधारभूत विकासको प्रारम्भिक काल थियो । खानेपानीको व्यवस्था, प्राथििमक विद्यालयको स्थापना, सरसफाइको व्यवस्था त्यसै बेला देखी नगरपालिका आफैले शुरु गरेको हो । त्यस्का लागि नगरपालिकामा खानेपानी शाखा, शिक्षा शाखा स्थापना गरिएको थियो । मरेका छाडा गाई–वस्तु, पाटी पौवामा मरेका वेवारिशे शव व्यवस्थापन गर्दै धरानमा सरसफाईको शुरुआत नगरपालिकाले थालेको हो ।त्यस बेलाको धरानका दशवटा वडामा पञ्चायत प्राथमिक पाठशाला स्थापना गर्ने शुरुआत भएको थियो । खानेपानीको व्यवस्थापन नगरपालिका आफैले सञ्चालन गर्दथ्यो । उच्च शिक्षाका लागि स्थानिय समुदायको सहयोगमा स्थापित महेन्द्र क्याम्पसमा उपाध्याय २०२६ सालमा सञ्चालक समितिको अध्यक्ष समेत रहेका थिए ।

Advertisement

पञ्चायत व्यवस्था लागु भएपछि तत्कालिन सरकारले विजयपुरमा शाही नेपाली सेनाको बाहिनी राख्ने प्रकृया शुरु गरेको थियो । पञ्चकन्या जंगल देखी तलै सम्मको क्षेत्रमा सैनिक राख्ने तयारी भएको थाहा पाएपछि स्थानिय जग्गा धनीहरुले प्रधान पञ्च रहेका उपाध्याय संग गुनासो सुनाए । विजयपुरका युवा सामाजिककर्मी पंकज खनालका अनुसार प्रधान पञ्च उपाध्यायले नगर पञ्चायतको स्विकृती वेगर सैनिक व्यारेक राख्न नमिल्ने अडान लिए । उनकै अडानका कारण शाही सेनाको व्यारेक राख्ने योजना विजयपुरबाट फुश्रेमा सरेको हो ।उनकै पालामा हाल धरान उपमहानगरपालिका रहेको आचार्यहरुको धान चामल मिल रहेको जग्गा खरिदको प्रकृया अघि बढेको थियो । खेलकुदका लागि हाल कभर्ट हल रहेको जग्गा खरिद गरिएको थियो । धरानमा विद्युत सेवाका लागि नीजि क्षेत्रको साझेदारीमा धरान इलेक्ट्रीक कम्पनी स्थापना भई डिजेल प्लान्ट बाट विजुली वितरण गर्ने थालिएको थियो । धरानको प्रारम्भिक विकासमा महत्वपूर्ण योगदान गरेका उपाध्याय २०२८ सालमा राष्ट्रिय पञ्चायतका सदस्य मनोनित भएका थिए । २०४४ सालमा उपाध्याय लाई राजाले जनकपुर अञ्चालाधिश नियुक्त गरेका थिए । पछिल्लो समय उनि मुटू रोगबाट पीडित थिए । उनको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको थियो । उपचारकै क्रममा उपाध्यायको दुःखद निधन भएको हो ।