April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भाञ्जाभाञ्जीको तर्फबाट भन्दै थेवे गोर्खा सत्याग्रहको अनसनमा

भाञ्जाभाञ्जीको तर्फबाट भन्दै थेवे गोर्खा सत्याग्रहको अनसनमा

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको जारी रिले अनसनमा भाञ्जाभाञ्जीको तर्फबाट भन्दै आसफोर्डका अमित थेवे अनसनमा सहभागी भएका छन् । १३ दिने अनसनको छैटौँ दिनमा सामाजिक अभियन्ता थेवे २४ घण्टे अनसनमा बसेका हुन् ।

सिलौटी टाइम्सका प्रधान सम्पादक समेत रहेका थेवे यू्केका दर्जन बढी संघसंस्थाहरूमा आबद्ध छन् । जुलाई २१ बाट सुरु भएको १३ दिने अनसन भिक्टोरिया क्रस पदक विजेताहरूको नाममा समर्पित रहेको उनले बताए । ‘भूतपूर्व गोरखा सैनिकहरूकै आन्दोलनका कारण आवासीय अधिकार पाएर सन्तानहरू बेलायत आउने बाटो खुलेको हो । यसकारण बुवा आमा र मामाहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन उपस्थित भएको हूँ, थेवेले भने, ‘अग्रजहरू र तिनका परिवारमाथि बर्सौदेखि पर्दै आएको ऐतिहासिक विभेद, अन्याय र अत्याचारउपर बोल्नु हाम्रो पनि दाियत्व हो । भूपू गोरखा सैनिकहरूको माग सम्बोधन हुनु भनेको मानवअधिकारको विजय हुनु हो । भाञ्जाभाञ्जीहरूले पनि हार्दिकता र सक्रियता देखाएर साथ सहयोग गर्नुपर्छ ।’ अनसनकारी थेवेका चार पुस्ता ब्रिटिस गोरखा सेनासँग आबद्ध रहँद्ै आएका छन् । उनले सोमाबारदेखि मंगलबारसम्म अनसनमा बसेका थिए । उनीपछि फेल्थामका केबी ताम्लिङले पालो दिइरहेका छन् ।
उनका अघिल्ला पुस्ता पहिलो र दोस्रो विश्वयुद्ध हुँदै अफगानिस्तानको युद्धमा समेत सरिक भएका छन् । उनका पिता नविन कुमार थेवे १८ वर्ष सेवा गरी सन् १९९२ मा सार्जेन्ट पदमा सेवा निवृत भएका थिए । थेवे परिवार सन् २०१६ मा बेलायता आएका थिए ।

Advertisement

आन्दोलनरत भूपू गोरखा सैनिकहरु ।


अनसन स्थल लन्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय र रक्षा मन्त्रालयको सम्मुख रहेको छ । १३ दिने भोक हड्तालबाट मागहरू सम्बोधन नभए सत्याग्रहका अभियन्ताहरूले आमरण अनशन सुरु गर्ने चेतावनी दिइसकेका छन् । आमरण अनशनमा अभियन्ता ज्ञानराज राई, धन गुरूङ र पुष्पा घले बस्ने भएका छन् । सत्याग्रहका अभियन्ता ज्ञानराज राईले सन् २०१३ मा १५ दिन आमरण अनसन बसेका थिए । भूपू गोरखा सैनिकहरूले समान तलबा र पेन्सन, क्षतिपूर्ति, मेडिकल सुविधा लगायतका १३ बुँदे मागहरू राख्दै आएका छन् ।