April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमणका कारण झापाका १० स्थानीय तह सिल

कोरोना संक्रमणका कारण झापाका १० स्थानीय तह सिल

१४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलको निर्णय गर्नसक्ने बताए । ‘जिल्ला कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिल गर्न थालिएको हो’, प्रजिअ तिम्सिनाले भने, ‘सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिल र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।’

Advertisement

सिलको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताए।

झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । बजार र सरकारी कार्यालयहरुमा सर्वसाधारणको घुइँचो बढेको थियो । हरेक पालिकाले सात दिनको अवधि तोकेर सिलको घोषणा गरेका छन् । राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् ।

कोभिड-१९ को सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्ति आफैँ सचेत हुनुपर्नेमा लापरवाही गरिरहेका कारण सङ्क्रमितको दर बढ्दै गएको पालिकाहरुको ठहर छ । सामान्य स्वास्थ्य मापदण्डसमेत पालना नगरी सर्वसाधारणहरु बिनाकाम घुम्ने गरेको पाइएपछि सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम र माइकिङ गरेर सचेतना अपनाउन आग्रह गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन् ।

जिल्लामा सबैभन्दा पहिले बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा सिल घोषणा गरेको थियो । त्यसपछि आइतबार, सोमबार र बुधबारदेखि थप पालिकामा सिल गरिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा झापामा २६६ कोरोना सङ्क्रमित थपिएका छन् । पालिकाहरु सिल गरिए पनि पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा भने रोक नलगाइएको प्रअिज तिम्सिनाले बताए ।