May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रेम गाहा मगरद्वारा मतदाताहरूलाई धन्यवाद ज्ञापन, मतपरिणाम अविलम्ब घोषणा गर्न मग

प्रेम गाहा मगरद्वारा मतदाताहरूलाई धन्यवाद ज्ञापन, मतपरिणाम अविलम्ब घोषणा गर्न मग

लन्डन । गैरआवासीय नेपाली संघ, यूकेको २०२१–२०२३ कार्यकालका अध्यक्ष पदका उम्मेदवार, प्रेम गाहा मगर, ले निर्वाचनमा सहभागी सबै मतदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। मंगलबार दिउंसो एक विज्ञप्ति प्रकाशित गरी उनले मतदाताहरुको मत र अभिमतको सधैं सम्मान गर्ने वाचा गरेका छन्।

उनले अनलाइन माध्यमबाट गरिएको मतदानको नतिजा जति सक्दो चांडो सार्वजनिक गर्न माग गरेका छन्। ‘मतपरिणामलाई चुनौती दिई उल्ट्याउने दुष्प्रयास भएमा त्यसको नतिजा अकल्पनीय हुन्छ । त्यसप्रति निर्वाचन समिति सचेत रहनु पर्दछ,; उनले भने। सोमबार दिउंसो १२ बजे देखि शुरु भएको मतदान आज (मंगलबार) दिउंसो १२ बजे सकिएको छ।

Advertisement

(प्रेम गाहा मगरद्वारा जारी वक्तव्यको पूर्ण पाठ)

हार्दिक धन्यवाद तथा आभार !

आदरणीय बेलायतवासी बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु, गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको २०२१–२०२३ कार्यकालका लागि कार्यसमिति चयन गर्न भएको निर्वाचनमा सहभागी भै आफ्नो अमूल्य मतदान गर्नु भएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु । मलाई आशा अनि विश्वास छ, यसपाली तपाईंहरुले पक्कै पनि संस्थाको सुदृढीकरण, शुद्धीकरण र पारदर्शिताको पक्षमा मतदान गर्नु भएको छ । तपाईंहरुले दिएको मन, मत र अभिमतको सधैं सम्मान गर्ने छु । पछुतो मान्नुपर्ने अवस्था आउन दिने छैन । मैले भनिसकेको छु, आगामी दुई वर्ष मैले मेरो सम्पूर्ण समय समाजलाई समर्पण गरिसकेको छु । दिन होस् वा रात, जुनसुकै समयमा पनि नेपाली समुदायको हितमा म समर्पित हुने छु । सातै दिन, चौबीसै घण्टा मैले संस्थाको हित र समाजको सेवामा नै लगाउने छु । हामीले निर्वाचन परिणाम घोषणाको प्रतीक्षा गरिरहेका छौं । मतदाताले गरेको मतदानलाई सम्मान गर्दै यथाशीघ्र मतपरिणाम सार्वजनिक गरिनुपर्छ भन्ने हाम्रो अडान छ । निर्वाचन प्रक्रिया आरम्भदेखि नै अनेकन चलखेल भएका छन् । निर्वाचन र परिणामलाई प्रभावित पार्ने प्रयास पनि भइरहेका छन् । मतदाताले आफ्नो विवेकको प्रयोग गरी दिएको मतको उचित सम्मान गर्दै वास्तविक मतपरिणाम सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । मतपरिणामलाई चुनौती दिई उल्ट्याउने दुष्प्रयास भएमा त्यसको नतिजा अकल्पनीय हुन्छ । त्यसप्रति निर्वाचन समिति सचेत रहनु पर्दछ । हामी समाज रुपान्तरणको अभियानमा छौं । संस्थाको शक्ति भनेकै यसका सदस्यहरु हुन् । सदस्यहरुको चाहना र सुझाब अनुसार नै संस्था र त्यसको नेतृत्वले काम गर्नु पर्दछ भन्नेमा हामी दृढ छौं । फेरि पनि निर्वाचनमा सहभागी भई मलाई र मेरो एजेण्डामा समर्थन तथा ऐक्यबद्धता जनाउनु हुने विभिन्न पदका उम्मेदवारहरुलाई मतदान गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछु । साथै, निर्वाचन अभियानमा साथ दिनु हुने आदरणीय अग्रजहरु, एनआरएनए अभियन्ताहरु, विभिन्न संघ संस्थाका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, युवाहरु, खेलाडीहरु, व्यवसायीहरु, भूतपूर्व गोर्खा सैनिक तथा परिवारजन, सञ्चारकर्मी मित्रहरुसहित बेलायतवासी आम नेपाली समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्रेम गाहा मगर अध्यक्ष पदको उम्मेदवार २०२१–२०२३, एनआरएनए, यूके मिति: ३ अगष्ट २०२१, लण्डन