May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अनलाइन मतदानको परिणाम तीन दिनपछि घोषणा गरिने, निर्वाचन नै रद्द गर्ने षड्यन्त्र भएको आरोप

अनलाइन मतदानको परिणाम तीन दिनपछि घोषणा गरिने, निर्वाचन नै रद्द गर्ने षड्यन्त्र भएको आरोप

लन्डन । अनलाइन मतदानको नजिता आउन कति समय लाग्ला ? सहजै अनुमान लगाउन सकिन्छ, बढीमा एक घण्टा । तपाईंले यही अनुमान गर्नुभयो भने फेल हुनुहुन्छ । संसारकै विकसित मुलुक बेलायतमा गरिएको एक निर्वाचनको मतपरिणाम सार्वजनिक हुन तीन दिन लाग्ने भएको छ ।

गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको नयाँ कार्य समिति चयनका लागि सोमबार मध्यान्हदेखि मंगलबार मध्यान्हसम्म २४ घण्टा लगाएर अनलाइन मतदान भएको छ । कूल ११ हजार ३ सय ६५ मतदातामध्ये नब्बे प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान भएको छ । तर, मतदान गराउने ब्रिटिश कम्पनी च्वाइस भोटिङले कति मत खस्यो भनेर समेत सार्वजनिक गरेको छैन । संघका अधिकांश एनसीसीहरुले यसपटक अनलाइन मतदान गराएका छन् । ती निर्वाचनमा एकदेखि डेढ घण्टाको बीचमा परिणाम नै सार्वजनिक गरिएका छन् । तर, समृद्ध मुलुक बेलायतमा बस्ने नेपालीहरुको निर्वाचन गराएको भेण्डर च्वाइस भोटिङले भने तीन दिनको समय लिएको छ । प्रारम्भिक मतपरिणामसमेत सार्वजनिक नभएपछि निर्वाचनमा सहभागी उम्मेदवार र सामाजिक अभियन्ताहरु आक्रोशित भएका छन् । निर्वाचन समितिसँगको साँठगाँठका आधारमा भेण्डरले मतपरिणाम सार्वजनिक नगरेको उनीहरुको दाबी छ ।

Advertisement

निर्वाचन समितिकै चलखेल

एनआरएन यूकेको निर्वाचन गराउन गठित समितिका संयोजक हुन्् महेन्द्रराज कँडेल । विवादित छवि भएका कँडेलले निर्वाचनकै विषयमा पटक पटक विवादित निर्णय गरेका छन् भने अभिव्यक्ति पनि विवादित नै दिँदै आएका छन् । जुलाई ३१ मा तोकिएको निर्वाचन दुई दिन ढिला गरी अगष्ट २ र ३ मा चुनाव गराएका कँडेलले अनलाइन मतदान गराउने भेण्डरको छनौटमा मनमौजी देखिए । कहिले नेपाली कम्पनी त कहिले विदेशी कम्पनीको कुरा गर्दै टार्दै आएका कँडेलले दबाब थेग्न नसकेर च्वाइस भोटिङसँग सम्झौता गरेका थिए ।

निर्वाचन नै गराउन नचाहेका कँडेलले भेण्डरसँगको सम्झौताका बारेमा निर्वाचन समितिका अन्य सदस्यहरुलाई समेत जानकारी दिएका छैनन् । भेण्डरले कँडेलसँग र कँडेलले भेण्डरसँग मात्रै सम्बन्ध राखेका छन् । भेण्डरले उम्मेदवारहरुले गरेको इमेलको जवाफ पनि दिने गरेको छैन । चाहे अनुसारको नतिजा नआए कुनै पनि बाहनामा यो मतदानलाई खारेज गर्ने र फेरि अर्को चुनाव गराउने कँडेलको तयारी छ । नयाँ कार्यकालका लागि बलियो उम्मेदवार रहेका प्रेम गाहा मगरको पक्षमा मतपरिणाम देखिए प्राविधिक समस्या देखाएर मतदान नै खारेज गर्ने कँडेलको तयारी छ । एनआरएनए यूकेमा आर्थिक अनियमिततामा मुछिएका कँडेलले गाहा मगर अध्यक्षमा निर्वाचित भए कारबाही भोग्नु पर्ने डरले जसरी पनि गाहा मगरलाई हराउने षड््यन्त्रमा लागेको बुझिएको छ ।

तेश्रो पक्षको इमेल

चौबीस घण्टा लगाएर ब्रिटिश कम्पनी च्वाइस भोटिङले मतदान गराएको छ । मतदान सम्पन्न भएको बाह्र घण्टा बित्न लाग्दासमेत च्वाइस भोटिङले प्रारम्भिक मतपरिणामसमेत सार्वजनिक गरेको छैन । च्वाइस भोटिङलाई उम्मेदवारहरुको सम्पर्क भन्दा बाहिर राखिएको छ । कुनै प्रश्नको जवाफसमेत उक्त कम्पनीले दिएको छैन । तर, मतदानको विषयलाई लिएर अर्को कम्पनी ‘केन्टो इलेक्ट’ले उम्मेदवारहरुलाई इमेल गर्दै ‘मतदान निष्पक्ष भएको र घोषणा गरिने मतपरिणाम स्वीकार गर्नेछौं’ भन्ने व्यहोराको फारममा हस्ताक्षर गर्न भन्दै पत्राचार गरेको छ । केन्टो इलेक्टलाई निर्वाचन समितिले मतपरिणाम विश्लेषणका लागि तेश्रो पक्षका रुपमा नियुक्त गरेको बताइएको छ । तर, उम्मेदवारहरुले भने केन्टो इलेक्टसँग कुनै सम्पर्क नरहेको भन्दै उक्त व्यहोरोको पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

अध्यक्ष पदका तीन उम्मेदवार र उपाध्यक्ष पदका उम्मेदवारहरुलाई उक्त पत्र पठाइएको छ । पञ्जीकृत सदस्यता अभियानदेखि नै शुरु भएको चलखेल मतदान सम्पन्न हुँदासमेत निरन्तर छ । केही सीमित व्यक्तिहरुको सुझावका आधारमा निर्वाचन समितिले काम गरिरहेको भन्दै सामाजिक अभियन्ताहरुले निर्वाचन समितिको क्रियाकलापको आलोचना गरेका छन् ।