प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताका विजेताहरू पुरस्कृत
विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१ का विजेताहरू पुरस्कृत भएका छन् । शुक्रबार धरानमा भएको कार्यक्रममा विजयी प्रतियोगीहरू पुरस्कृत भएका हुन् ।
चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका प्रतियोगितमा तेह्रथुमकी मुमिता तेयुङ प्रथम भएकी थिइन् । उनले अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै उपाधि हात पारेकी थिइन् । यसैगरी, प्रतियोगिताकी कम उमेर मध्येकी एक धरानकी निङ्वासाङ्मा इङ्नाम दोस्रो भएकी थिइन् । तेस्रो स्थानमा भने धरानकै रोजानी तेयुङले आउन सफल भएकी थिइन् । उनीहरूले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार बराबरको ढाका पोसाक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट फोटोग्राफीको अवार्ड भने सिक्किमका कर्णहाङ सुब्बाले हात पारेका थिए । गत साउन एक गते याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नामका दिन नतिजा घोषणा गरिएको थियो । साउन २२ गतेको ऐतिहासिक दिनलाई स्मरण गर्दै पुरस्कार वितरण कार्यक्रम राखिएको आयोजक संस्थाकी प्रमुख प्रोप्राइटर यमुना तुम्सा सङ्यकले जनाइन् ।
कार्यक्रमकी प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङकी उपाध्यक्ष चन्द्रमाया माबो लिम्बुले ढाका प्रतियोगिताले समुदायको पहिचानलाई व्यापकता दिन सफल रहेको बताइन् । उनले चुम्लुङले ढाका पोसाक र पहिरनलाई उच्च ग्राहयता दिने पनि जिकिर गरिन् । त्यस्तै, चुम्लुङ धरानकी अध्यक्ष पदमा लिम्बुले महिला उद्यमशीलाताका लागि ढाका उद्योगले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । त्यसैगरी, नेपाल आदिवासी जनजाति महासङ्घ, धरान उपमहानगर अध्यक्ष सुवासचन्द्र हु्क्पा चोङवाङले ढाकाको प्रसङ्ग आदिवासी याक्थुङ समुदायको मुन्धुममा युमा माङ र उद्यमशीलतासँग जोडिने बताउँदै ढाकाले मौलिक पहिचान, दर्शन, सीप र ज्ञानसँग सम्बन्ध राख्ने कुरा राखे । कार्यक्रम सञ्चारकर्मी यसोदा थक्लुङ लिम्बुले सञ्चालन गरेकी थिइन् ।



प्रतिकृया दिनुहोस्