May 11, 2026, Monday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धर्मनिरपेक्षता र सङ्घीयता उल्टाउन खोज्ने मान्छे बेवकुफ : नेफिन संस्थापक आले मगर

धर्मनिरपेक्षता र सङ्घीयता उल्टाउन खोज्ने मान्छे बेवकुफ : नेफिन संस्थापक आले मगर

लन्डन । नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव सुरेश आले मगरले नेपालमा धर्मनिरपेक्षता र पहिचानसहितको सङ्घीयता उल्टाउन खोज्ने व्यक्ति ‘बेवकुफ’ भएको टिप्पणी गरेका छन् । उनले आदिवासी आन्दोलन र अन्य राजनीतिक आन्दोलनका कारण प्राप्त उपलब्धीहरू गुमे दीर्घकालीन अशान्ति र अस्थिरता आउने समेत चेतावनी दिएका छन् ।

२७ औँ विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा नेफिन यूकेले आयोजना गरेको भर्चुअल जुम शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता आले मगरले केही पूर्व पत्रकारको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले राजनीतिक उपलब्धी कदापि गुम्न नहुने तर्क गरे । ‘बेलायतबाट आएका तोरी लाहुरे र बीबीसीमा काम गरेका पूर्व पत्रकारको उरन्ठेउल भनाइले महान् आन्दोलनका उपलब्धीहरूबाट पछि हट्न सकिन्न,’ उनले भने ।

Advertisement

मगरले राजनीतिक गठजोड र चुनावी प्रतिस्पर्धामा पछि परेजस्तो भान भए पनि मुद्दाका रूपमा आदिवासी जनजातिको सवाल उस्तै रहेको जिकिर गरे । उनले आदिवासी आन्दोलनकै कारण नेपालमा पहिचानको आन्दोलनले उचाइ प्राप्त गरेको स्मरण गराए । ‘आदिवासी समुदायमा पहिचानको मोह बढेको छ । सङ्गठित हुने क्रममा वृद्धि भएको छ । तर, हाम्रा खास मागहरू पूरा भएका छैनन्,’ आले मगरले भने, ‘जातीय स्वायत्तता र ऐतिहासिक पहिचानमा आधारित स्वायत्त प्रदेशहरू स्थापना भएका छैनन् ।’ उनले एकल जातीय नश्लवादी राज्यसत्ता र मनोविज्ञानका कारण नेपालमा जातीय मुक्ति हुन नसकेको बताए । ‘बाहुनवादी राज्य सत्ता र मनोविज्ञानका कारण उत्पीडितहरू अधिकारबाट बञ्चित भएका हुन् । अझै पनि आरक्षणको विरोध गर्ने, धर्मनिरपेक्षता र सङ्घीयता उल्टाउने बेवकुफ हर्कतहरू भइरहेका छन् । विद्रोह बाँकी छ,’ उनले भने ।

कार्यक्रममा नेफिनका केन्द्रीय अध्यक्ष जगत बरामले प्रवासमा रहेका आदिवासी अभियन्ताहरूको गतिविधिले स्वदेशमा उर्जा मिल्ने बताए । उनले आदिवासी जनजाति, सिमान्तकृत र उत्पीडितहरूको मुद्दा शाषकहरूले किनारीकृत गर्ने दुष्प्रयास गरिरहेको आरोप लगाए । ‘हामीले मुद्दा बिसाएका छैनौँ । हामी निरन्तर लडिरहेका छौँ,’ बरामले भने, ‘हामीले अहिले पनि फरकफरक राजनीतिक दलमा विभाजित भएका नेताहरूलाई एक ठाउँमा ल्याउन खोजिरहेका छौँ । धर्मनिरपेक्षता, पहिचानजनित सङ्घीयता, समावेशी समानुपातिकता, मातृभाषामा शिक्षा लगायतका विषयमा समान धारणा निर्माण गर्न वातावरण बनाइरहेका छौँ ।’ उनले नेपालमा चार दिने आदिवासी दिवस कार्यक्रम आयोजना गरिरहेको बताए ।

कार्यक्रमको एक झलक

यसैगरी, नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव परशुराम तामाङले अन्तर्राष्ट्रिय भूगोलमा रहने नेफिन सङ्गठनहरूले रणनीतिक रूपमा कार्यक्रमहरू तय गर्नुपर्ने सुझाव दिए । उनले संयन्त्र मात्र नभएर नागरिकता, सामाजिक, साँस्कृतिक मुद्दाहरूमा ठोस काम गर्नुपर्ने बताए ।

नेफिन नेपालका पूर्व केन्द्रीय सचिव भक्त बहादुर दुराले नेपालका सत्ताधारीहरूले आदिवासी जनजातिको अधिकारको सुरक्षा गर्ने सवालमा निर्माण भएका अन्तर्राष्ट्रिय कानूनहरूको कार्यान्वयनमा इमानदारिता नदेखाएको आरोप लगाए । उनले आदिवासीको साझा मुद्दामा सबै राजनीतिक दलका आदिवासी नेताहरू एक ठाउँ उभिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेफिन यूकेका पूर्व अध्यक्षहरू सिरी लिम्बु, जङ्ग सुनुवार, पूर्व महासचिव खुसी लिम्बु सल्लाहकारहरू थर्क राना, एकिन्द्र गुरूङ, थर्क राना, विश्वासदीप तिगेला, आदिवासी जनजाति महिला महासंघका शान्ताकला राई, फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ राई, नेफिन बहराइनका मिलन राई, नेफिन इजरायलका मिङ्मार शेर्पा, लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेवे लगायत उपस्थित रहेका थिए ।

नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विमला राईले सञ्चालन गरेकी थिइन् ।

संयुक्त राष्ट्र महासङ्घले सन् १९९४ डिसेम्बर २३ मा एक निर्णय पारित गर्दै प्रत्येक अगष्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस मनाउन प्रारम्भ भएको हो । विश्वमा ४७ करोड बढी आदिवासी समुदाय रहेको महासङ्घले उल्लेख गरेको छ ।