अन्ततः नायिका जोआन्ना लुम्लेले सत्याग्रहको पक्षमा मुख खोलिन्,भूपू गोरखा सैनिकहरूका माग पूरा गर्न ब्रिटिस सरकारलाई आग्रह
लन्डन । लामो समयदेखि मौन रहेकी चर्चित नायिका जोआन्ना लुम्लेले आन्दोलन उत्कर्षमा पुग्दै गएपछि आन्दोलनरत गोरखा सैनिकहरूको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । सवा एक दशकअघि गोरखा सैनिकहरूको न्यायिक आन्दोलनमा नजिकसँग जोडिएकी नायिकाले जारी गोरखा सत्याग्रह संघर्ष संयुक्त समितिको आन्दोलनमा आफ्नो ऐक्यबद्धता जनाएकी छिन् ।
एबी फ्याब स्टार नायिकाले गोरखा सैनिकहरू बहादुर र इमानदार मित्र भएको भन्दै भनिन्, ‘न्यायका लागि कुनै पनि विकल्प नदेखेपछि अन्तिम उपायका रूपमा भोक हड्तालमा उत्रनु आम नागरिकका लागि पनि दुखको कुरा हो,’ ७५ वर्षीया नायिकाले भनिन्, ‘चरम अन्याय र भेदभावको महसुस गरेर यी बहादुर र सम्मानयोग्य मानिसहरू कठिन कदम चाल्न बाध्य भएका छन् । म बेलायत सरकारलाई कुनै मार्गप्रशस्त गरेर समाधान निकाल्न आग्रह गर्छु ।’
लुम्ले सन् २००९ को सफल न्यायिक अभियानमा सहभागी अनुहार हुन् । उनी भारतमा जन्मिएकी हुन् । उनका बुवा जेम्स लुम्ले गोरखा राइफल्समा मेजर पदमा रहेर काम गरेका थिए । उनका बुवाको दोस्रो विश्वयुद्धताका बर्माको लडाइँमा भीसी पदक विजेता तुल बहादुर पुनले बहादुरीपूर्वक लडेर ज्यान जोगाइदिएका थिए । १२ वर्षअगाडिको अभियानकै कारण बेलायती संसदले चार वर्ष बेलायती सेनामा काम गरेका भूपू सैनिकहरू र तिनका आश्रित परिवारलाई आवासीय अधिकार दिने घोषणा गरेका थिए । यसकै कारण पचासौँ हजार भूपू र तिनका परिवार अहिले संयुक्त अधिराज्यका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन् ।
पौने तीन दशक लामो आन्दोलनको मूल माग समान पेन्सन र तलबभत्ता, क्षतिपूर्ति लगायतका बुँदाहरू भने अझै पनि सम्बोधन हुन नसकेको गोरखा अभियन्ताहरू बताउँछन् । पछिल्लो समय सत्याग्रहले लन्डनमा आन्दोलनमा चर्काइरहेको छ । । गत अगष्ट ७ तारिखबाट सत्याग्रहका अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घले आमरण अनसनमा छन् । यसअघि, समितिले १७ दिने रिले अनसन गरिसकेको छ ।



प्रतिकृया दिनुहोस्