May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गोरखा सत्याग्रहको माग सम्बोधन गर्न एनआरएनए यूकेको बेलायती प्रधानमन्त्री जोन्सनलाई पत्र

गोरखा सत्याग्रहको माग सम्बोधन गर्न एनआरएनए यूकेको बेलायती प्रधानमन्त्री जोन्सनलाई पत्र

अल्डरसट । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको माग सम्बोधन गर्न गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएको छ । आमरण अनसनको दशौँ दिनमा एनआरएनए यूकेले तत्काल माग सम्बोधन गर्न बेलायत सरकारलाई अपिल गरेको छ ।

सोमबार अल्डरसटमा सुरु भएको नवनिर्वाचित कार्य समितिको पहिलो बैठक हुँदै गर्दा संस्थाले जारी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै अविलम्ब माग सम्बेधन गर्न पत्र पठाएको अध्यक्ष प्रेम गाहा मगरले बताए । ‘हामीले यसअघि नै आन्दोलनलाई समर्थन गरेर विज्ञप्ति निकालिसकेका छौँ । अनसन स्थलमा पटक पटक आन्दोलनकारीहरूलाई भेटेर सिङ्गो नेपाली समाजको साथ रहेको विश्वास दिलाएका छौँ,’ उनले भने, ‘आमरण अनसनमा बस्नेहरूको ज्यान जोगाउन आग्रह गर्दै उनीहरूको माग पूरा गर्न भनेर आफ्ना धारणासहित पत्र पठाएका छौँ ।’

Advertisement

अध्यक्ष गाहा मगरको नेतृत्वमा पदाधिकारी सदस्यहरूसहितको टोलीले नजिकको हुलाक घरबाट २४ घण्टाभित्र प्रधानमन्त्रीको कार्यालयमा पुग्ने गरी पत्र पठाएको थियो । अध्यक्ष मगरले नेपाल सरकारले बेलायती समकक्षीलाई १२ फेब्रअरी २०२० मा पठाएको पत्रको अहिलेसम्म ठोस जवाफ नआएको बताए । उनले आन्दोलनरत भूतपूर्व सैनिकहरूको अहिलेको माग दुई देशबीच उच्चस्तरीय संयन्त्र गठन हुनुपर्ने र वार्ताका लागि बैठक समय र स्थान तोक्नुपर्ने रहेको सुनाए । उच्चस्तरीय समिति बनेपछि मात्रै १३ सूत्रीय माग कार्यान्वयन गर्न सहज हुने बताए ।

यसैगरी, थप कूटनीतिक दबाब सिर्जना गर्न भन्दै एनआरएनए टोली मंगलबार लन्डनस्थित नेपाली दूतावास जाने तयारी भइरहेको महासचिव खुसी लिम्बुले सिलौटी टाइम्सलाई जानकारी दिए । ‘नेपाली गोरखा सैनिकहरू आमरण अनसन भइरेको बेला चुपचाप बस्नुहुन्न । यसका लागि नेपाल सरकारको प्रतिनिधिले बोल्नुपर्छ । थप कूटनीतिक पहल गराउँदै दबाब दिन दूतावास गएर राजदूतलाई ध्यानाकर्षण गराउनेछौँ,’ महासचिव लिम्बुले भने । गएको अगष्ट ७ तारिखबाट सत्याग्रहका अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घले आमरण अनसनमा छन् । अनसनको दौरान यूकेमा क्रियाशील दर्जनौँ बढी संघसंस्थाहरू र नागरिक अगुवाहरूले ऐक्यबद्धता जाहेर गरिसकेका छन् । यस बीच १० डाउनिङ स्ट्रिटमा भूपू सैनिक, तिनका आश्रित परिवार, समर्थक, स्थानीय बेलायती नागरिकहरूले पटक पटक बृहत् प्रर्दशन गरिसकेका छन् ।

एनआरएनए यूकेको बैठक सुरु
गत अगष्ट २ तारिखमा भएको मतदानबाट निर्वाचित प्रेम गाहा मगर नेतृत्वको कार्य समितिको बैठक अल्डरसटमा सुरु भइरहेको छ । बैठकले दुई वर्षे कार्यकालका लागि तत्त्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि महत्वपूर्ण निर्णय लिने महासचिव लिम्बुले जनाए । उनले १०० दिन, एक वर्ष र दुई वर्षभित्र सम्पन्न गरिसक्ने कार्यक्रमहरूको सूची बनाएर निर्णय हुने बताए ।

एनआरएनए यूकेको सम्भावित प्रवक्ता भारु पल ।

यसैबीच बैठकले महत्वपूर्ण प्रवक्ताको छिनोफानो र केही को–अप(मनोनीत) सदस्यहरूको टुङ्गो लाउने पनि अध्यक्ष गाहा मगरले जनाकारी दिए । एआरएनए यूकेको प्रवक्ता पदमा उद्यमी एवम् समाजसेवी भरतमणि लिम्बु ‘भरु पल’ को नाम सबैभन्दा धेरै चर्चामा छ । उनले गाहा मगरको समूहलाई शानदार मतले विजयी गराउन प्रभावशाली भूमिका खेलेको जानकारहरू बताउँछन् । मगरको प्यानलले अध्यक्षका प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठलाई पराजित गरेका थिए ।

निर्वाचित कार्यसमितिको पहिलो बैठकअघि ।