May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ लिम्बु

एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ लिम्बु

१६ अगष्ट, अल्डरसट । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेको प्रवक्तामा उद्यमी एवम् समाजसेवी भरतमणि चोङवाङ लिम्बु चयन भएका छन् । दशौँ निर्वाचित कार्य समितिको पहिलो बैठकले लिम्बुलाई प्रवक्ता पदमा मनोनीत गरेको हो ।

सोमबार अल्डरसटको प्यालेस हलमा भएको बैठकले लिम्बुलाई प्रवक्ता पदमा र अन्य दुई जना श्याम लुइँटेल र आवेश राईलाई को–अप सदस्यमा मनोनीत गरेको महासचिव खुसी लिम्बुले सिलौटी टाइम्सलाई जानकारी गराए । अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा बसेको बैठकले ३१ सदस्य कार्य समिति कायम गर्ने निर्णय समेत गरेको छ । बाँकी एक सदस्य अर्को बैठकमा मनोनीत गरिने एनआरएनए यूकेले जनाएको छ । त्यस्तै, पूर्व उपाध्यक्ष एवम् अघिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी शेरबहादुर सुनारलाई प्रमुख संरक्षकका रूपमा नियुक्त गरेको छ । उनलाई गत हप्ता भएको सपथ ग्रहणमा नै प्रमुख संरक्षक घोषणा गरिएको थियो ।

Advertisement

बैठकले अल्डरसटमा अस्थायी कार्यालय राख्ने समेत निर्णय गरेको छ । त्यसैगरी, एनआरएनए यूकेलाई चुस्त दुरुस्त बनाउन विभागहरू पनि गठन गरेको छ । जसअनुसार गोर्खा र खेलकुद विभागमा अध्यक्ष मगर, संघसंस्था समन्वयमा उपाध्यक्ष सुनिलबाबु खड्का, च्यारिटीमा उपाध्यक्ष गोविन्द खरेल, कानूनी परामर्श तथा अनुसन्धान र भाषामा उपाध्यक्ष नारायण कँडेल, नागरिक निरन्तरतामा उपाध्यक्ष मोहन कार्की, सदस्यतामा रामचन्द्र पोख्रेल, कला, सँस्कृतिमा शकुन्तला गुरूङ र मिडिया तथा प्रकाशन विभागमा प्रवक्ता भरतमणि लिम्बु संयोजक तोकिएका छन् ।

अल्डरसटमा सम्पन्न नवनिर्वाचित कार्य समितिको पहिलो बैठक ।


त्यस्तै, एक एनसीसी एक च्यारिटीमा महासचिव खुसी लिम्बु, व्यापार प्रबद्र्धनमा सचिव ज्ञानेन्द्र आले, आर्थिकमा कोषाध्यक्ष विष्णु खरेल, युवामा युवा संयोजक अनिल मल्ल, महिलामा महिला संयोजक विमला लिम्बु, नेपाली प्रबद्र्धनमा सदस्य भानु घिमिरे विभागीय प्रमुख तोकिएका छन् । यसैगरी, सदस्य सपना खनियाले धर्म, बालकृष्ण दाहाल र सुमन शर्माले दैवीप्रकोप र आपतकालीन, सुरेश परियारले कला, आवेश राईले अनलाइन सदस्यता, चेत रानाले युवा र श्याम लुइँटेलले संघसंस्था समन्व्य विभागको सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् । नयाँ कार्यसमितिले निवर्तमान कार्य समितिबाट सेप्टेम्बर ६ तारिखभित्र बरबुझारथ लिइसक्ने निर्णय गरेको छ ।