सत्याग्रहले बेलायती संसदअगाडि बुधबार प्रदर्शन गर्ने
लन्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसदअगाडि प्रदर्शन गर्ने भएको छ । बुधबार तय गरिएको आपतकालीन बेलायतको संसदको बैठकमा सत्याग्र्रहले आफ्ना मागहरूबारे गम्भीर भएर प्रस्तुत हुन जनदबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागेको हो ।
दक्षिण एसियाली मुलुक अफगानिस्तानमा देखा परेको राजनीतिक संकटका विषयमा छलफल गर्न बुधबार बेलायतको हाउस अफ कमन्समा बैठक बस्दैछ । बैठकले जारी आमरण अनसनको माग सम्बोधन नगरेर विषयान्तर हुन सक्ने भएकोले खबरदारी गर्न प्रदर्शन हुन लागरिहेको सत्याग्रह समितिका लक्ष्मी घिसिङले जानकारी दिए । ‘विरोध प्रदर्शनको खास कारण भूपू गोरखा सैनिकहरूको मागबारे रखबारी गर्नु हो,’ उनले सूचना जारी गर्दै भने, ‘बेलायती प्रधानमन्त्री जोन्सन र विपक्षी दलका नेता सर किर स्टार्मरको ध्यान भोकहड्ताल र हामीले उठाएका मागबाट अन्यत्रै जान दिनु हुन्न ।’

घिसिङले बेलायतको रक्षा मन्त्रालय र केही सञ्चारमाध्यमहरूले केही अफवाह फैलाएको बताउँदै आफूहरू वार्ताको विरोधी नभएर बेलायत र नेपाल सरकारबीच उच्चस्तरीय छलफलको पक्षमा रहेको प्रष्ट पारे । उनले बुधबार बिहान १० बजे संसद भवनअगाडि उपस्थित हुन सबै भूपू सैनिक, आश्रित परिवार, संघसंस्था र शुभेच्छुकहरूलाई आग्रह गरे । गएको अगष्ट ७ तारिखबाट सत्याग्रहका अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घले आमरण अनसनमा छन् । अनसनको दौरान यूकेमा क्रियाशील दर्जनौँ बढी संघसंस्थाहरू र नागरिक अगुवाहरूले ऐक्यबद्धता जाहेर गरिसकेका छन् ।



प्रतिकृया दिनुहोस्