April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सत्याग्रहको पक्षमा लिम्बुवानदेखि एमएनओसम्मको समर्थन जुट्दै

सत्याग्रहको पक्षमा लिम्बुवानदेखि एमएनओसम्मको समर्थन जुट्दै

लन्डन । न्याय र समानताको पक्ष्मा भइरहेको आन्दोलन भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले जारी राखेको आमरण अनसनको कार्यक्रमलाई नेपालमा क्रियाशील विभिन्न पहिचानवादी दलहरूले समर्थन गरेका छन् ।

मञ्चको विज्ञप्ति ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १३ सूत्रीय मागहरू राखेर आन्दोलन चर्कारहेको सत्याग्रहको पक्षमा आफू रहेको भन्दै तत्काल भूपू गोरखा सैनिकहरूको माग सम्बोधन गर्न बेलायत र नेपाल सरकारलाई आग्रह गरेको छ । मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’ ले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उसबेलाको महाशक्ति ब्रिटेनलाई खुशी बनाएर नेपालको स्वतन्त्रता बचाउने रणीति अन्र्तगत नेपालका आदिवासीका छोराहरू बलिको बोको बनाइएर ब्रिटिस सेनामा पठाइएको सत्य छर्लङ्गै छ । गोरखा सैनिकहरू आफू मरेर भएपनि देशले सुम्पेको जिम्मेवारी पूरा गरे । यस्ता महत्वपूर्ण गोरखा सैनिकहरू अन्यायमा पर्दा नबोल्ने नेपाल सरकारको गतिविधि शंकास्पद र भत्सर्नायोग्य छ ।’ संघीय लिम्बुवान मञ्चका अध्यक्ष समेत रहेका लिङ्देनले ब्रिटेन सरकारलाई गोरखा सैनिकहरूको माग तत्काल पूरा गर्न समेत माग गरेका छन् ।

Advertisement

राष्ट्रिय जनमुक्ति पार्टीको विज्ञप्ति ।

यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीले समेत आफ्नो ११ औँ बैठकबाट बेलायतमा जारी सत्याग्रहको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेका छन् । पार्टीका अध्यक्ष केपी पालुङ्वाले विज्ञप्ति जारी गर्दै बेलायत र नेपाल सरकारबीच अविलम्ब वार्ता समेत बस्नुपर्ने माग राखेको छ ।

एमएनओको विज्ञप्ति ।

त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसन (डा. गोपाल गुरूङ)ले समेत सबैखाले भेदभाव र असमानताविरुद्ध भूपू गोरखा सैनिकहरू लडिरहेको भन्दै भाडाको सिपाहीका रूपमा व्यवहार नगर्न बेलायत सरकारलाई ध्यानाकर्षण गराएको छ । पार्टीको संघीय सभा संयोजक वीरलाल राईले आमरण अनसनरत ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घलेको साहसलाई कदर गर्दै तत्काल माग पूरा गर्न विज्ञप्तिबाट आफ्नो धारणा राखेका छन् ।

१२ आदिवासी जनजाति संगठनले पनि आन्दोलन चर्काउने

बेलायतमा आमरण अनशनमा बसेका भूपूगोर्खा सैनिकहरुको आन्दोलनप्रति १२ आदिवासी जनजाति संगठनले ऐक्यबद्धता जनाउदै माग पूरा नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

१२ आदिवासी जनजाति संगठनको विज्ञप्ति ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बहादुर बराम, तमु ह्यु ल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, नेपाल छन्त्याल संघका अध्यक्ष मनमोहन छन्त्याल, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, थकाली सेवा समितिका अध्यक्ष सोम प्रसाद शेरचन, दुरा सेवा समाजका अध्यक्ष खदेव बहादुर दुरा, नेपाल मघर संघका अध्यक्ष नवीन रोका मगर, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, किरात याक्थुङम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू, किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर राघु याक्खा, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जेन शेर्पा र सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।