उच्च पहाडिया जातीय अहंकारवाद नै देशको मुख्य समस्या – सहप्राध्यापक माबुहाङ
२१ अगष्ट, विजयपुर । नेपालमा संरचनागत विभेद रहेसम्म पहिचानको राजनीति बढिरहने आदिवासी बुद्धिजीवि बालकृष्ण माबुहाङले बताएका छन् । उनले नेपालमा रहेको उच्च पहाडिया जातीय अहंकारवादले कारण राजनीतिक आन्दोलनहरू निष्कर्षमा पुग्न नसकेको समेत उल्लेख गरेका छन् ।
जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिको लिम्बुवान संवादको १२ औँ श्रङ्खलामा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक माबुहाङले भने, ‘नेपालमा देखापरिरहने राजनीतिक टकरावको इतिहास शाहकाल, राणाकाल हुँदै ओली–नेपाल, यादव–ठाकुरसम्म जोडिन्छ । यसका लागि नेपालको सामाजिक साँस्कृतिक र राजनीतिक इतिहास र घटनाक्रम हेर्नुपर्ने हुन्छ,’ उनले गम्भीर मुद्रामा भने, ‘सारमा नेपालको द्वन्द्वको सेरोफेरो ब्राम्हणविरुद्ध जनजाति, दलितविरुद्ध गैरदलित, पहाडियाविरुद्ध मधेशी, महिलाविरुद्ध पुरुष नै हो । सामाजिक संघर्ष राजनीतिमा प्रतिविम्बित भइरहन्छ ।’ नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका माबुहाङले २०७२ को संविधानले द्वन्द्वको बीउ अझै रोपिरहेको भन्दै जुनै बेला पनि विद्रोह हुन सक्नेतर्फ संकेत गरे । उनले जसपालाई नारा मात्रै नभएर कार्यक्रम, शैली र ढाँचामा समेत वैकल्पिक शक्तिका रूपमा अघि बढे मात्रै जनसमर्थन बढ्दै जाने सुझाए ।

त्यसैगरी, पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य दुर्गा सोवले पार्टीलाई पहिलो बनाउन रणनीतिक हिसाबले तल्लो तहमा काम गर्नुपर्ने बताइन् । उनले केही नेताहरू प्रतिगमनको मतियारभन्दा पार्टीले सत्ता सञ्चालनको अवसर गुमाएको आरोप लाइन् । ‘मुख्य वैकल्पिक शक्तिका रूपमा स्थापना भएको जसपाले केही नेताहरूका कारण सत्ता चलाउने अवसरबाट बञ्चित हुनुप¥यो,’ उनले भनिन्, ‘पार्टी उत्पीडितहरूको पहिचान र आत्मसम्मान स्थापना खडा भएको हो । यो पार्टी ठूला ठूला अवसरहरू छाडेर आएका नेताहरूले बनाएको सङ्गठन हो । यसकारण मुद्दामा स्पष्ट पार्टीका मान्छेहरू भेला भएका छौँ ।’ पार्टीकी महिला इञ्चार्ज समेत रहेकी सोबले पहिचानको मुद्दा टुङ्गो लागेपछि मात्रै देशले विकासको गति लिने बताइन् ।
पार्टीका संघीय परिषद सदस्य एवम् प्रदेश एकको निर्वाचन आयोग प्रमुख सिद्धान्त राईले पहिचानको आन्दोलन एक अर्काको पूरक तत्व रहेको बताए । उनले पूर्वमा लिम्बुवान प्रदेश स्थापना हुनु भनेको देशमा अन्य स्वायत्त प्रदेशहरू पनि सहजै निर्माण हुने भन्दै नजिकको पहिचानको आन्दोलनमा एकाकार हुन सबैलाई आग्रह गरे । यसैगरी, केन्द्रीय सदस्य एवम् गैरभोगोलिक विशेष प्रदेश इञ्चार्ज रेखा यादवले पार्टीले आगामी चुनावमा सुखद परिणाम ल्याउन जनपरिचालन सुरु गर्नुपर्ने बताइन् ।
संवाद लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षता र सचिव टङ्क सेलिङको सञ्चालनमा भएको थियो ।



प्रतिकृया दिनुहोस्