May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएन यूकेका अध्यक्ष गाहा मगरको नेतृत्वमा बन्यो ‘टिम गोर्खा डिपार्टमेन्ट’, बेलायतका सबै राज्य र क्षेत्रमा विभागीय सक्रियता

एनआरएन यूकेका अध्यक्ष गाहा मगरको नेतृत्वमा बन्यो ‘टिम गोर्खा डिपार्टमेन्ट’, बेलायतका सबै राज्य र क्षेत्रमा विभागीय सक्रियता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधान र सहयोगका लागि विस्तृत कार्ययोजनासहित गोर्खा विभाग(गोर्खा डिपार्टमेन्ट) गठन गरेको छ । अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा गठन गरिएको गोर्खा डिपार्टमेन्टको मूल समिति ६ सदस्यीय रहेको छ ।

गोर्खा डिपार्टमेन्टका प्रमुख संयोजक गाहा मगरले सहसंयोजकमा क्याप्टेन भीम सारु मगरलाई चयन गरेका छन् भने सदस्य सचिवको जिम्मेवारी चम्पा थापा मगरलाई दिएका छन् । एनसीसी यूकेका प्रवक्ता भरतमणि चोम्बाङ, वार हिरो विनोद बुढाथोकी र इङ्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष भक्त दर्जी विभागमा मनोनयन भएका छन् ।

Advertisement

तीन जना सल्लाहकार

गाहा मगरले गोर्खा डिपोर्टको सल्लाहकारमा लेफ्टिनेन्ट कर्णेल तोल खाम्चा र लेफ्टिनेन्ट कर्णेल देबेन्द्र आलेलाई चयन गरेका छन् । कानुनी सल्लाहकारमा भने बेलायतसहित अन्तर्राष्ट्रिय कानुनका जानकार सोलिसिटर राजु थापा चयन भएका छन् । एनसीसी यूकेको सन् २०१९–२०२१ कार्यकालमा उपाध्यक्ष रहेका गाहा मगरले उक्त कार्यकालमा पनि गोर्खा डिपार्टमेन्टको प्रमुख संयोजकको जिम्मेवारी सम्हालेका थिए । आफूँ स्वयम् भूतपूर्व ब्रिटिश गोर्खा सैनिक रहेका गाहा मगर स्वयम् नै भूतपूर्व गोर्खाहरुको समस्याबारे जानकार छन् । आफूँले विगतमा गरेको कामको अनुभव र भोगाइको आधारमा उनले गोर्खा डिपार्टमेन्टको जिम्मेवारी आफैँले लिएका हुन् ।

कस्ता कस्ता व्यक्ति परे डिपार्टमेन्टमा ?

अध्यक्ष गाहा मगरले एनसीसी यूकेको कार्यसमितिमा रहेका केही र नरहेका केही व्यक्तित्वहरुलाई समावेश गरेर गोर्खा डिपार्टमेन्ट गठन गरेका हुन् । डिपार्टमा परेका चोम्बाङ र थापा मगर एनसीसीमै रहेका छन् भने सहसंयोजक सारु मगर, बुढाथोकी एनसीसीमा छैनन् । त्यस्तै, राज्य समितिबाट दर्जीलाई उनले डिपार्टमेन्टमा ल्याएका छन् । डिपार्टमेन्टको सह संयोजकमा चयन भएका क्याप्टेन भीम सारु मगरले १४ वर्ष ब्रिटिश गोर्खा सेनामा काम गरेका छन् । पाल्पा चिदिपानीका सारु मगर सन् १९९३ मा ब्रिटिश सेनामा भर्ती भएका थिए । ब्रिटिश आर्मीमा रहँदा इन्जिनीयरिङ सेक्टरमा काम गरेका सारु मगर अवकासपछि समाज सेवामा उत्तिकै सक्रिय छन् । उनी हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसन, यूकेका महासचिव हुन् भने बेलायतका एक प्रतिष्ठित व्यवसायी पनि हुन् । उनी विभिन्न सामाजिक सामाजिक संस्थामा पनि सक्रिय रहेका छन् । डिपार्टमेन्टको सदस्य सचिवको जिम्मेवारी पाएका धादिङका चम्पा थापा मगर १८ वर्ष ब्रिटिश गोर्खा सेनामा सेवा गरेर अवकासप्राप्त पूर्व सैनिक हुन् । हाल आफ्नै व्यवसाय सञ्चालन गरेका थापा मगर सामाजिक संघ संस्थामा पनि उत्तिकै सहभागी छन् । कोलभिल नेप्लिज कम्युनिटीका पूर्र्व अध्यक्ष थापा मगर मगर संघ यूकेमा पनि आबद्ध छन् । त्यस्तै, ताप्लेजुङका भरतमणि चोङवाङ पनि पूर्व सैनिक हुन् । कला र साहित्यमा रुची राख्ने चोङवाङका थुप्रै कृति प्रकाशित छन् । ब्रिटिश सेनाबाट अवकासपछि आफ्नै व्यवसाय सञ्चालन गरेका चोङवाङ एनसीसी यूकेका प्रवक्ता छन् । डिपार्टमेन्टमा रहेका अर्का सदस्य बिनोद बुढाथोकी ब्रिटिश सेनामा रहेर अफगानिस्तानमा रहँदा घाइते भएका व्यक्ति हुन् । हाल सेवाबाट अवकासप्राप्त बुढाथोकी ग्रेट वार हिरोको उपाधिबाट परिचित छन् । विभागमा उनलाई त्यसैको जिम्मेवारी दिइएको छ । त्यस्तै अर्का सदस्य भक्त दर्जी एनआरएनए यूके, इङ्ल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष हुन् । ब्रिटिश गोर्खा सैनिकबाट अवकासपछि दर्जी विभिन्न सामाजिक संस्थामा सक्रिय छन् । दर्जी सिर्जनशील समाजका अध्यक्ष समेत हुन् ।

राज्यमा छुट्टै संयोजक

अध्यक्ष गाहा मगरले बेलायतका चारमध्ये तीन राज्यमा छुट्टाछुट्टै संयोजक चयन गरेका छन् । वेल्स राज्यको संयोजकमा मेजर खुसीमान गुरुङ, स्कटल्याण्ड राज्य समितिको संयोजकमा क्याप्टेन टिकाराम लिम्बु र नर्दन आयरल्याण्डको संयोजकमा बलबहादुर थापा चयन भएका छन् । त्यसैगरी बाह्र वटा काउन्टी र ५५ वटा क्षेत्रका लागि पनि संयोजक तोकिएका छन् । गाहा मगर नेतृत्वको डिपार्टमेन्टमा कूल ७९ जना सहभागी छन् ।

वाचा अनुसारको काम

भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानमा सक्रिय थापा मगरले एनसीसी यूकेको निर्वाचनका क्रममा वृद्ध गोर्खा र उनीहरुको परिवारलाई उनीहरुकै क्षेत्रमा पुगेर सेवा प्रदान गरेका थिए । ‘मैले गरेको वाचा अनुसार नै विभागलाई पूर्णता दिएका हुँ, अब त्यही भावना अनुसार नै काम अगाडि बढाउँछु’ गाहा मगरले भनेका छन् । गाहा मगरले यसअघिको कार्य समितिमा रहँदा भूतपूर्व गोर्खा सैनिक सम्बद्ध विभिन्न पाँच वटा संस्थाहरुसँग सहकार्य गरेर ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधानका लागि ब्रिटिश र नेपाल सरकारसँग पहल गरेका थिए । ‘अब पनि ती संस्थाहरुसँग सहकार्य जारी रहन्छ र एनआरएनएले स्पष्ट लबिङ गर्छ’ गाहा मगरले भने । समान पेन्सन र समान अधिकारको मागसहित गोर्खा सत्याग्रह संयुक्त समितिले केही समयअघि मात्रै लण्डनमा आमरण अनसन गरेको थियो । ती माग सम्बोधनका लागि पनि गाहा मगरले ब्रिटिश र नेपाल सरकारलाई ज्ञानपत्र बुझाई दबाब सिर्जना गरेका थिए । एनआरएनए यूकेको दबाब र पहलमा आगामी डिसेम्बर भित्रै वार्ता गर्ने गरी आमरण अनसन टुंगिएको थियो । एनआरएनए एनसीसी यूकेको गोर्खा डिपार्टमेन्टको टिम यस्तो रहेको छ ।