जसपा लिम्बुवानका अध्यक्ष माखिमलाई मातृशोक
विजयपुर । जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलाई मातृशोक परेको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका माखिमकी आमा गणेशमाया माखिम(शेर्मा)को ७१ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।
मृगौला रोगबाट पीडित माखिमको उपचाररत अवस्थामा विराटनगरको विराट नर्सिङ होममा निधन भएको हो । उनको शव धरानस्थित वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवदाह गृहमा राखिएको नेता माखिमले बताए । पान्थर जिल्लाको मिक्लाजुङ गाउँपालिकाको लुङ्बाङ्देनमा रहेको घरमा बिहीबार अन्त्येष्टि हुने पारिवारिक स्रोतले जनाएको छ ।
मृतकका श्रीमान् गजेन्द्र माखिम, तीन छोराहरू भक्त, खगेन्द्र र नेल्कन छन् । त्यस्तै, एक छोरी लक्ष्मी माखिम छिन् । भक्त पार्टीको लिम्बुवान उपत्यका सम्पर्क समितिका सदस्य र नेल्कन लिम्बुवान राष्ट्रिय समिति सदस्य समेत हुन् ।

यसैगरी, जसपाका लिम्बुवान राष्ट्रिय समितिले एक शोक विज्ञप्ति जारी गर्दै नेता माखिमकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । समितिका मुख्य सचिव केदार धिमालले विज्ञप्ति प्रकाशित गर्दै शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ ।



प्रतिकृया दिनुहोस्