April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

लन्डन । नेपाली दूतावासले स्कटल्यान्डवासी नेपालीहरुमाझ आफ्नो स्कटल्यान्डमा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

बुधबार एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले काउडेनबीचमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  राजदूत लोकदर्शन रेग्मीले दूतावासले नियमित रुपमा स्कटल्यान्ड पुगेर घुम्ती सेवा प्रदान गर्ने घोषणा गरेका हुन् ।  

Advertisement

‘स्कटल्यान्डमा रहनुभएका नेपालीहरुको आवश्यकताअनुसारको सेवा उपलब्ध गराउन दूतावास तत्पर छ’, राजदूत रेग्मीले भने, ‘ सेवाको माग हेरेर  हरेक एक महिना, तीन महिना वा छ महिनामा दूतावासको टोली तपाईंहरुकै माझमा आएर सेवा प्रदान गर्नेछ  ।’ 

एनआरएनए स्कटल्यान्डका तर्फबाट अध्यक्ष काशीराम भण्डारीले बुझाएको ज्ञापनपत्र ग्रहण गरेपछि मन्तव्य दिंदै राजदूतले स्थानीय नेपालीहरुको भावना र चाहना सम्बोधनका लागि दूतावासले आवश्यक पहल गर्ने विश्वास दिलाए ।  

पासपोर्ट, भिसा, एनआरएनए कार्डसहितका अधिकांश सेवाका लागि स्कटल्यान्डबाट लन्डन धाउनु नपर्ने राजदूतको घोषणालाई स्थानीय नेपालीहरुले स्वागत गरेका छन् ।  

कार्यक्रमको शुरुमा राजदूत रेग्मीसहितको दूतावासको टीमलाई पञ्चेबाजा बजाएर स्कटल्यान्डमा स्वागत गरिएको थियो ।  त्यसअवसरमा दूतावासका तर्फबाट एनआरएनए स्कटल्यान्डको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

एनआरएनए स्कटल्यान्ड अध्यक्ष काशीराम भण्डारीले राजदूतसहित दूतावास टीमलाई स्वागत गर्दै स्थानीय नेपालीहरुको सुविधालाई ध्यानमा राखी दूतावासले सेवा दिने विश्वास व्यक्त गरे ।  एनआरएनएको तर्फबाट आवश्यक सबै सहयोग, समन्वय  र सहकार्य रहने उनले प्रतिवद्धता गरे ।  

त्यसअवसरमा राजदूत रेग्मीलाई बुझाइएको ज्ञापनपत्र परिषदका उपाध्यक्ष उज्ज्वल कार्कीले पढेर सुनाए । ज्ञापनपत्रमा स्कटल्यान्डका नेपालीलाई दूतावासका सेवामा पहुंच सहज बनाउनका साथै नेपाली नागरिकता निरन्तरता, पूर्व गोर्खाहरुको समान अधिकार स्थापना, बेलायत सरकारबाट नेपाललाई थप कोभिड सहायताको प्रबन्ध लगायतका विषयमा पहल अघि बढाउन माग गरिएको छ ।  

उपाध्यक्ष कार्कीले बेलायतमा हुर्किंदै गरेका नेपाली बालबालिकाको लागि नेपाली भाषा, संस्कृति सिकाउने साझा पाठ्यक्रम ल्याइनुपर्ने आवश्यकतातर्फ दूतावासको ध्यानकर्षण पनि गराएका थिए ।      

कार्यक्रमको दोस्रो चरणमा राजदूत रेग्मी, दूतावासकी उपनियोग प्रमुख रोशन खनालसहितका अधिकारीले स्थानीय नेपालीहरुसँग अन्तरक्रिया गरे । उनीहरुले सेवाग्राहीका गुनासोहरु सुन्दै राखिएका प्रश्न र जिज्ञासाको जवाफ पनि दिए ।  

सोही अवसरमा दूतावासको टोलीले केही सेवाग्राहीहरुलाई   एनआरएनए कार्ड, पासपोर्ट, भिसा लगायतका सेवा समेत दिएको थियो ।  

कार्यक्रमको संचालन स्कटल्यान्ड परिषद सचिव मनिष खत्रीले गरेका थिए । प्रमुख संरक्षक भोला खनालले स्वागत मन्तव्य दिएका थिए ।  महिलाहरुको प्रतिनिधित्व गर्दै परिषदकी सहसचिव सुमी ओझा भण्डारीले मन्तव्य राखेकी थिइन् ।