May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
महामारीले मान्छेलाई प्रकृतिमा फर्क भनिरहेको छ : साहित्यकार मुकारुङ

महामारीले मान्छेलाई प्रकृतिमा फर्क भनिरहेको छ : साहित्यकार मुकारुङ

विजयपुर । कोरोना महामारीले मानव जगतलाई पुनः प्रकृतिमा फर्केर मौलिक जीवन पद्धतिमा समाहित हुन सन्देश दिएको साहित्यकार राजन मुकारुङले बताएका छन् । आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, नेपालका अध्यक्ष समेत रहेका मुकारुङले प्राकृतिक जीवनमा फर्केर मात्रै हरेक संकटसँग जुझ्न सक्ने सामथ्र्य प्रदान हुने बताए ।

शनिबार धरानमा स्वर्णिम साहित्य समाज, भरौलले आयोजना गरेको एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मदन एवम् पहिचान पुरस्कार विजेता मुकारुङले भने, ‘कोरोना महामारीले हामीलाई थिल्थिलाएको छ । हाम्रा नजिकका आफन्तहरू गुमाएका छौँ । तर, हामी तङ्ग्रिन्दै छौँ ।’ उनले महामारीले सामूहिक रूपमा लड्न प्रेरित गरेको बताए । ‘महामारीले एउटा गतिलो सन्देश पनि दिएको छ । संघर्ष गर्न सिकाएको छ । विश्वका केन्द्रहरू हल्लिएका छन् । राज्यको बलियो उपस्थितिको महसुस गराएको छ । व्यापारी दलालीहरूले शिक्षा र स्वास्थ्यका क्षेत्रमा खेलबाड गरेका छन् । जसका कारण समाजवादको आवश्यकता झन् झन् बढेको छ ।’

Advertisement

‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तक लोकार्पण गर्दै मुकारुङले स्रष्टाहरूले महामारी समयको संवेदना र पीडालाई उतार्न सबैभन्दा जिम्मेवार हुनुपर्ने बताए । ‘महामारीले राजनीतिलाई विकृत बनाएको छ । संविधान र व्यवस्थाप्रति असन्तुष्टि छ । यस्तो बखत हामीले असन्तुष्टि मात्रै पोख्ने होइन । उपाय पनि दिनुपर्छ,’ उनले थपे, ‘यो चिन्तनको बेला पनि हो । अब हामी प्रकृतिमा फर्कनुपर्छ । यहीँ नै विश्वको पहिचानको आन्दोलन प्रतीक हो ।’

विमोचित पुस्तकको आवरण ।

त्यसअघि, समाजका पूर्व अध्यक्ष प्रकाश दिप्सालीद्वारा सम्पादित ‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तकको प्रमुख अतिथि मुकारुङ, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सुनसरी सभापति एवम् कथाकार जनकऋषि लगायतले विमोचन गरेका थिए । कृतिमा ११० सर्जकहरूका परिचयसहित सिर्जना रहेका छन् । पहिलो लकडाउनका बेला साहित्यकार दिप्सालीले भर्चुअल रूपमा लकडाउन साहित्य श्रङ्खला सञ्चालन गरेका थिए । दुई वर्षको अवधिमा उनले दुई पटक नयाँ र स्थापित सर्जकहरूका विभिन्न विधाका रचना, परिचय र अन्तर्वार्ताहरू समेटिएको श्रङ्खला लोकप्रिय बनेको थियो । पुस्तकमा सर्जकहरूको चित्र कृष्ण मरासिनीले तयार पारेका छन् । आवरणमा कलाकार ओम डीसी आरले साथ दिएका छन् । पुस्तक प्रकाशनका लागि विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, विश्वजीत राई, जितेन सम्पाङ लगायतले सहयोग गरेका छन् । पुस्तकका सम्पादक दिप्सालीले स्रष्टाहरूलाई निराशाबाट उज्यालोतर्फ अघि बढाउन र केही सिर्जनशील काम गर्न आफूले किताब ल्याउने साहस गरेको बताए ।

समाजका अध्यक्ष शरण कुमार लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यिक पत्रकार देवेन्द्र सुर्केली र समालोचक मुनराज शेर्मासँग महामारीमा सिर्जना विषयमा प्यानल बहस पनि राखिएको थियो । सोको सहजीकरण कवि प्रदीप योङहाङले गरेका थिए । कार्यक्रममा कविहरू सुदीप पाख्रिन, नवराज विष्ट, करुणा राई, लक्ष्मण कटुवाल, गनन योक्पाङ्देन लगायतले कविता, गजल सुनाएका थिए । कार्यक्रम समाजका सचिव ज्ञानु राईले सञ्चालन गरेकी थिइन् ।