April 20, 2026, Monday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अबको हिउँद आन्दोलनमय हुनेछ : जसपा वरिष्ठ नेता राई

अबको हिउँद आन्दोलनमय हुनेछ : जसपा वरिष्ठ नेता राई

मोरङ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले अबको हिउँदमा राजनीतिक आन्दोलन हुने घोषणा गरेका छन् । पहिचानको आन्दोलन निर्णायक मोडमा पु¥याउन राजनीतिक रूपमा आन्दोलित हुन बाँकी रहेको समेत बताउँदै यसका लागि तयारी भइरहेको उल्लेख गरे ।

शनिबार जसपाको लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादको १४ औँ श्रङ्खलामा बोल्दै वरिष्ठ नेता राईले पहिचानसहितको संघीयता स्थापनाका लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताए । ‘ओली सरकारको विघटनले अनुदार शाषकको पतन हुने संकेत गर्छ । जनताका मुद्दाहरू स्थापित गर्ने अभिभारा अझै छ । त्यसैले, मुलुकमा पहिचान, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण चाहने र नचाहनेहरूबीच कित्ताकाट हुनुपर्छ,’ उनले भने, ‘अब साँस्कृतिक पुनःजागरणका मुद्दा र स्थानीय तहका असन्तुष्टिहरू समातेर भएपनि पहिचानको आन्दोलनलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्छ ।’

Advertisement

नेता राईले पार्टीले दुई वर्षको समय राजनीतिक आन्दोलनमै खर्चेका कारण सङ्गठनको समायोजन र सुदृढीकरणमा ध्यान दिन नसकेको स्वीकार गर्दै अबको चार महिना केन्द्रित हुने गरी संगठन सुदृढीकरण तथा जनजागरण अभियान(सुज) अभियान थालनी भएको बताए । उनले गत भदौ १ र २ गते पार्टीको बसेको केन्द्रीय कार्यकारिणी बैठकले सुज अभियानलाई सातै प्रदेशमा लैजाने निर्णय गरेको जनाए । जसअन्तर्गत केन्द्रीय नेताहरूलाई जिम्मेवारी विभाजन गरिएको सुनाए ।

संवादमा सहभागीहरु ।

यसैगरी, कार्यक्रममा अधिवक्ता एवम् आदिवासी अधिकारकर्मी शंकर खापुङ लिम्बुले साँस्कृतिक स्वायत्त क्षेत्रबारे आफ्नो धारणा राख्ने क्रममा आदिवासी जनजाति, अल्पसंख्यक र उत्पीडित समुदायलाई राजनीतिको मूल प्रवाहमा ल्याउन राजनीतिक र साँस्कृतिक अधिकारसहितको स्वायत्तता आवश्यक रहेको बताए । ‘स्वायत्तता अनिवार्य कुरा हो । आफ्नो थातथलोमा आफ्ना लागि आफैँले निर्णय गर्ने राजनीतिक अधिकार हुनुपर्छ,’ उनले भने । अधिवक्ता लिम्बुले राज्यले आदिवासी आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा बलपूर्वक दबाएको आरोप लगाए ।

संवादमा केन्द्रीय सदस्यहरू प्रभुराम श्रेष्ठ र पवित्रा तिमल्सिनाले समेत सम्बोधन गरेका थिए । संवाद समितिका उपाध्यक्ष प्रेमराज लाओतीको अध्यक्षता र मुख्य सचिव केदार धिमालको सञ्चालनमा भएको थियो ।