गभर्नर अधिकारीको राजीनामा माग
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताहरूको समूहले राजीनामा माग गरेको छ ।
लगानीकर्ताहरूले नियोजित रूपमा शेयर बजारलाई घटाउने गरी नीति लिएको भन्दै गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् ।
पुँजी बजार सुधार संघर्ष समितिले विज्ञप्ति जारी गर्दै विभिन्न समयमा पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरू राष्ट्र बैंकले ल्याएको हुँदा समग्र पुँजी बजार अघि बढ्न नसकेको जनाएको छ ।
लगानीकर्ताहरूले जारी गरेको विज्ञप्तिको बेवास्ता गरे शेयर नीतिको विरोध गर्दै राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रमसमेत रहेको एक लगानीकर्ताले बताएका छन् ।
मौद्रिक नीतिमा राष्ट्र बैंकले ल्याएको नीति तथा पदमा बस्ने व्यक्तिहरूको गैरजिम्मेवारीले शेयर बजार लगानीकर्ताको मनोबल गिराएको भन्दै राष्ट्र बैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई समेत पत्राचार गरी समूहले विभिन्न माग राखेका छन् ।
उनीहरूले राष्ट्र बैंकले ‘मार्जिन’ प्रकृतिको कर्जामा लगाएको ४/१२ करोड रूपैयाँको सीमाले पुँजी बजारको विकासमा बाधक बनेको बताएका छन् ।
उक्त सीमालाई तुरुन्त खारेज गर्न उनीहरूको माग छ ।
प्रतिकृया दिनुहोस्