July 27, 2024, Saturday
२०८१ श्रावण १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संखुवासभाको हत्या घटनाबारे स्थानीय भन्छन्, ‘६ जनालाई लखेट्दै मारेझैं देखिन्छ’

संखुवासभाको हत्या घटनाबारे स्थानीय भन्छन्, ‘६ जनालाई लखेट्दै मारेझैं देखिन्छ’

संखुवासभा – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या अनुसन्धानका लागि फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीका अनुसार संघीय प्रहरी इकाइ कार्यालयबाट कुकुरसहितको टोली घटनास्थलतर्फ गएको हो । अहिले घटनास्थलमा मादी प्रहरी चौकीको टोली पुगेको छ । स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । तर यो टोली पुग्न ३ घण्टा बढी लाग्ने डीएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । ६ जनाको शव फेला परेको खबर आए पनि कसले र किन ग¥यो भन्ने खुलेको छैन । धारिलो हतियार प्रहार गरेर हत्या गरेको जानकारी आएको डीएसपी सुवेदीले बताए ।

मादी नगरपालिका–१ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्कीका परिवारका ६ जनाकै हत्या भएको हो । एक जना ुकुशल रहेको र उनी शारिरिक रुपमा अशक्त रहेको बताइएको छ । आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् । ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटना रातिको हो जस्तो देखिएन
योगेन्द्र ओझा–स्थानीय शिक्षक

मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं । हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।

काका (तेजबहादुर) लाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन् । उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ । उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ ।

अहिले प्रहरी आएर अनुसन्धान गरिरहेको छ । कसैलाई पनि शव नजिक जान दिएको छैन । बौद्धमान (तेजबहादुरको बुबा ) बुढो हजुरबुबा हुनुहुन्छ । उहाँलाई केही थाहा छैन । बेलुका म सुत्दाखेरि खाना खादै थिए भन्नुहुन्छ । उहाँ कान सुुन्न र बोल्न सक्नुहुन्न ।