राष्ट्रिय जनमुक्ति पार्टीको संघीय अध्यक्षमा पालुङ्वा निर्वाचित, कार्यकारी अध्यक्षमा सूर्यवंशी
विजयपुर । राष्ट्रिय जनमुक्ति पार्टीको छैटौँ महाधिवेशनले केपी पालुङ्वालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । महाधिवेशनले सर्वसम्मत रुपमा पालुङ्वालाई सङ्घीय अध्यक्षमा निर्वाचित गरेको हो । यसैगरी, पूर्व महासचिव समेत रहेका केशव सूर्यवंशीलाई पार्टीको कार्यकारी अध्यक्षमा समेत निर्वाचित गरेको छ ।
शनिबार भदौ २६ गतेदेखि चार दिनसम्म धरानमा सम्पन्न महाधिवेशनले ८५ सदस्यीय संघीय कार्य समिति निर्वाचित गरेको हो । संघीय समितिको वरिष्ठ उपाध्यक्षहरूमा कमला थापा र मोहन धिमाल छन् । उपाध्यक्षहरूमा होमाया गुरूङ, वलदीप राई, भीम बहादुर राना, प्रकाश येङ्देन, रविन्द्र उच्च नेपाली, हाजी डा. मोहम्मद हसन, रविन्द्र सुनार, मन्धरी आले र मणिराम चौलागाई छन् । महासचिवहरूमा टोप अस्लामी, राम परियार र पदम जवेगू छन् । त्यस्तै, उपमहासचिवहरूमा विष्णु थाम्देन र गंगा खासु, सचिवहरूमा शर्मिला महरा, गीता सारु, गजेन्द्र आङबुहाङ, मोजिव अली, ज्ञान बहादुर सलामी थापा छन् । यस्तै, कोषाध्यक्षमा मान बहादुर राई छन् । त्यस्तै, ३१ जना संघीय पदाधिकारीहरूमा निर्वाचित भएको उपमहासचिव विष्णु थाम्देनले सिलौटी टाइम्सलाई जानकारी दिए ।

नयाँ संशोधित विधानअनुसार खुलातर्फ २२ जना र १२ जना महिलसहित ५५ जना बन्द सत्रबाट निर्वाचित भएका छन् । संघीय समितिमा ३१ जना पदाधिकारी र ५४ जना संघीय सदस्य गरेर कुल ८५ सदस्यीय मूल संघीय समिति निर्माण भएको छ । पार्टीका नवनिर्वाचित पदाधिकारी सदस्यहरूलाई निर्वाचन मण्डलका आयुक्त देउबहादुर रानाले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
यसअघि पार्टीको महाधिवेशनको खुला सत्रमा पार्टीका संस्थापक अध्यक्ष मालवरसिंह (एमएस) थापा मगरलाई नेपालमा पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीता र स्वशासनका मुद्दालाई स्थापना गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै ‘जनमुक्ति रत्न’ उपाधिबाट सम्मानित गरिएको थियो । ७८ वर्षीय नेतालाई अध्यक्ष पालुङ्वा र निवर्तमान महासचिव सूर्यवंशीले सम्मान गरेका थिए । सोही अवसरमा पार्टीका संस्थापक नेता रामबहादुर तुम्बाहाम्फेलाई समेत सम्मान गरिएको थियो । त्यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा उल्लेख्य योगदान पु¥याएबापत दर्जन बढी पार्टीका नेताहरूलाई पनि सम्मान गरिएको थियो ।

महाधिवेशनमा पार्टी अध्यक्ष पालुङ्वाले प्रस्तुत गरेको ८० पृष्ठ लामो राजनीतिक प्रतिवेदनउपर समेत छलफल गरेको थियो । पार्टीको पहिलो महाधिवेशन वि.सं. २०५३ मा भएको थियो । छैटौँ महाधिवेशन पहिलो पटक सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको थियो । वि.सं. २०४७ बैशाख २३ गते नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाका रूपमा पार्टीको स्थापना भएको थियो । २०४८ माघ ६ गते राष्ट्रिय जनजाति पार्टीसँग एकीकरण गरेपछि राष्ट्रिय जनमुक्ति पार्टीका रूपमा नामाकरण भएको थियो । पार्टीले जनमुक्ति विचारधारालाई राजनीतिक सिद्धान्तका रूपमा आत्मसात गर्दै बहुजातीय लोकतान्त्रिक समाजवाद स्थापनालाई आफ्नो राजनीतिक लक्ष्यका रूपमा अगाडि सारेको अध्यक्ष पालुङ्वाले सिलौटी टाइम्सलाई बताए ।



प्रतिकृया दिनुहोस्