March 22, 2024, Friday
२०८० चैत्र ९, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युमा युकहाङ

युमा युकहाङ

आज भन्दा करिब ५ पुस्ता अघि वा झन्डै १२५ बर्ष भन्दा अघि यानेकी वि.सं. १९४९-५० साल तिरको कुरा हो । याक्थुङ जातिको धेरै थरहरुमध्ये साम्साम्बुङ तबेबुङ थरको मुख्य थाक थलो खेबेङ गाउँको सिरानमा युकहाङ तबेबुङको जन्म भएको थियो । त्यस स्थानलाई अहिले फलाटे भनेर पनि चिनिन्छ। उहाँ युमा माङ्को साम उत्रिनु भएको युमा हुनुहुन्थ्यो । उहाँ ठ्याक्कै कति बर्षको उमेरमा युमा उत्रिनु भयो त्यसको यकिन नभए पनि निकै कहलिएका नामी युमा थिए ।

उहाँको युमा थान आफ्नै घर आगनको एक छेउमा ढुंगाको गारोले बनेको निकै ठूलो थान थियो। उक्त थानमा युमा हेना/पुजा गर्दा ढ्याङ्ग्रो, झ्याम्टा, बाजा आदि बजाउँदा गाउँको तल तलसम्म र वारि पारी माङयुङ, लिङ्खिम गाउँ सम्म सुनिन्थ्यो रे । एक दिन सुतेको बेला राती सपनामा देखेको चिल्लो ढुङ्गा भोलि विपनामा खोज्दै जाँदा माथि सिसाङ्वा खोलामा भेटेका थिए । उक्त ढुंगा ल्याई चोखो स्थान खोजेर एउटा निकै ठुलो ढुङ्गाको फेदमा राखे र युमा थानको स्थापना गरेका थिए। उक्त थानमा अझै पनि उधौली र उभौलीमा वहाको सन्तान माङ्थुक्पा खाल र अरु तबेबुङहरुले पूजा गर्ने गर्दछन ।

Advertisement

भेटिएको सामग्री ।

त्यस बेला वहाले चलाउनु भएको धेरै सामग्रीहरु एउटा विशेष खालको बाकसमा सुरक्षित राखिएको रहेछ तर बीच बीचमा पुराना ढकी पैसा, शंख र झ्याम्टा जस्ता महत्वोपुर्ण सामानहरु चोरी भएको र केही हराएको कुरा उहाँलेको सन्तान मध्येका एक दिलिप तबेबुङले सुनाए। अब बाकी रहेका केही सामग्री तल फोटोमा मैले राखेको छु। जुन सामान ५ पुस्ता अघिका धेरै पुराना र ऐतिहासिक छन। यी सामान सुरक्षित राख्ने दिलिप तबेबुङलाई पनि धन्यवाद भन्न चाहन्छु। अन्त्यमा: युमा याक्थुङ जातिको घर घरमा बास गर्ने माङ(कुल देवता) हुन् । याक्थुङ जातिको धार्मिक अनुष्ठान गर्दा येबा, येमा फेदाङ्बा, फेदाङ्मा, साम्बा, साम्मा, युमा आदिले उनै युमा माङ्को पूजा गरेर ईजाजत लिएपछि मात्र आफ्नो अनुष्ठान सुरु गर्छन ।

हामी याक्थुङ जाती यति धेरै राम्रो पुरानो भाषा, लिपि, धर्म, सस्कार र सस्कृती भएको जाती हौ । यसलाई अब बचाएर व्यवस्थित गरेर हाम्रो समाजमा पुन स्थापित गर्दै लान हामी सबै लागि परौ। युमा युकहाङको पुरानो युमा थान भत्केर गई सकेको छ। उक्त स्थानमै हामी तबेबुङ सन्तानहरुले पुन युमा थान स्थापना गर्ने वचन दिएर आएको छु। त्यो हाम्रो ईतिहास सम्पुर्ण याक्थुङ जातिको ईतिहास हो । मेटिन दिनु हुन्न भएर आएको छु ।

फक्ताङ्लुङ-३ खेबेङ, ताप्लेजुङ, हाल युके।

(तस्वीर : लेखक नाजम्)