April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल–बेलायत आवागमन सहज बनाउन दुवै देशका सरकारलाई एनआरएन यूकेको आग्रह

नेपाल–बेलायत आवागमन सहज बनाउन दुवै देशका सरकारलाई एनआरएन यूकेको आग्रह

लन्डन । कोभिड महामारीलाई कारण देखाउँदै बेलायत र नेपालबीचको यात्रामा तय गरिएका अव्यवहारिक मापदण्ड हटाउन गैरआवासीय नेपाली संघ, यूकेले दुवै देशका सरकारलाई आग्रह गरेको छ । 

एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले आज दुवै देशका सरकारलाई पत्र लेखी नेपाल र बेलायतबीचको यात्रामा राखिएका अव्यवहारिक मापदण्ड पुनराबलोकन गर्न आग्रह गरेका हुन् । 

Advertisement

अध्यक्ष गाहा मगरले बेलायतका यातायात मन्त्री र लण्डनस्थित नेपाली राजदूतमार्फत नेपाल सरकारलाई बेग्लाबेग्लै पत्र लेखेका छन् । 

बेलायती यातायात मन्त्री ग्र्याण्ट श्याप्सलाई लेखिएको पत्रमा बेलायतले अझै पनि नेपाललाई रेड जोनमा राखेर नेपाल–बेलायत यात्रामा समस्यायुक्त प्रावधान राखिएको भन्दै ध्यानाकर्षण गराइएको छ । नेपालमा कोरोना संक्रमण दर निरन्तर घटिरहेको र छिमेकी भारतलाई समेत एम्बर जोनमा राखिएको अवस्थामा नेपाललाई रेड जोनमा राख्नु तर्कसंगत नभएको गाहा मगरले पत्रमा उल्लेख गरेका छन् । 

एनआरएनए यूकेको विज्ञप्ति ।

गोर्खा सैनिक, तिनका परिवारसहित करिव डेढ लाखको हाराहारीमा रहेका नेपालीहरुलाई ब्रिटिश सरकारले तय गरेको यात्रा मापदण्डले निकै असर पुर्याइएको पत्रमा उल्लेख छ । नेपालबाट आउनेलाई ११ दिनसम्म महंगो होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियमको सान्दर्भिकता हटिसकेको पनि गाहा मगरले पत्रमा उल्लेख गरेका छन् । युरोपेली युनियनका अधिकांश मुलुकले नेपाललाई रेड जोनबाट हटाइसकेको अवस्थामा बेलायतले पनि नेपाललाई रेड जोनबाट हटाई यात्रा तथा आवागमन सहज बनाइदिन आग्रह गरिएको छ । 

बेलायत सरकारले निर्धारण गरेको मापदण्डका कारण अत्यावश्यक कामका लागि नेपाल जानुपर्नेहरुलाई समस्या भएको भन्दै कोरोना महामारीको परिवर्तित अवस्था, कोभिडविरुद्धको खोप लगायतलाई आधार मान्न पनि अनुरोध गरिएको छ । 

त्यस्तै, बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीमार्फत नेपाल सरकारलाई पठाइएको पत्रमा यात्रा मापदण्ड सहज बनाउन सरकारी तवरबाटै पहल गर्न आग्रह गरिएको छ । 

बेलायतमा बसोबास गर्ने अधिकांशले कोभिडविरुद्धको खोप दुवै डोज लगाइसकेको र नेपालमा पनि खोपको विस्तार भइरहेको सन्दर्भ कोट्याउँदै अध्यक्ष गाहा मगरले नेपाल र बेलायतबीचको सदियौंदेखिको सम्बन्धलाई सुदृढ पार्दै यात्रा मापदण्ड सहज बनाउन आग्रह गरिएको छ । 

एनआरएनए यूकेको विज्ञप्ति ।

बेलायत सरकारको जारी मापदण्डका कारण चाड दशैं, तिहार लगायतका आउँदै गरेका नेपालीहरुको महान पर्व परिवारसँगै बसेर मनाउने चाहनामा पनि अवरोध पुग्ने अध्यक्ष गाहा मगरले लेखेको पत्रमा उल्लेख छ । आवागमनको नियम सहज भए बेलायतमा रहेका हजारौं नेपाली नेपाल आई चाडपर्व मनाएर बेलायत फर्किन सक्ने विषयमा पनि ध्यानाकर्षण गराइएको छ ।