April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ यूकेको दसौँ महाधिवेशन शनिबार हुँदै,  अध्यक्ष पदमा पाँच जनाले दिए उम्मेदवारी

चुम्लुङ यूकेको दसौँ महाधिवेशन शनिबार हुँदै, अध्यक्ष पदमा पाँच जनाले दिए उम्मेदवारी

लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङ यूकेको दसौँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि रस्सकाकस्सी पनि सुरु भएको छ ।

सेप्टेम्बर १८ शनिबार र १९ आइतबार गरी दुई दिन अल्डरसटमा हुन लागिरहेको महाधिवेशनमा केन्द्रीय समिति र १६ शाखा कार्य समितिबाट करिब ४०० जना बढी प्रतिनिधिहरूले सहभागिता जनाउँदै छन् । यसैबीच, आगामी कार्यकालका लागि अध्यक्ष पदमा पाँच जना आकांक्षीहरूले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । जसअनसार वर्तमान वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, उपाध्यक्ष नरवीर आङ्वो, उपाध्यक्ष दुर्गा पाङ्माले उम्मेदवारी दिएका छन् । यसैगरी, पूर्व उपाध्यक्ष नर प्रसाद थाम्सुहाङ र ग्रेटर लन्डन सिनियरका पूर्व अध्यक्ष पूर्ण बोखिमले पनि सर्वोच्च पदमा दाबेदारी प्रस्तुत गरेको निर्वाचन समितिका अध्यक्ष चितराज हुक्पा चोङवाङले जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

यसैगरी, चार उपाध्यक्ष पदका लागि पनि आठ जनाको उम्मेदवारी परेको छ । जसका लागि वर्तमान महासचिव गणेश इजम, पूर्व महासचिव खगेन्द्र लाओती, उपाध्यक्ष छत्र वनेम रहेका छन् । यसैगरी, उपाध्यक्ष पदकै लागि वर्तमान कोषाध्यक्ष धन कुमार काम्वाङ, अमृता पालुङ्वा, विजय लिङ्थेप, यादुचन्द्र लाओती र सन्त कुमार हुक्पा चोङवाङहरू प्रतिस्पर्धा गर्दैछन् ।

चुम्लुङ यूकेको संस्थागत लोगो ।

यसैगरी, शक्तिशाली पद मानिने महासचिवका लागि त्रिपक्षीय भिडन्त हुँदैछ । जसका लागि वर्तमान सचिव विश्वासदीप तिगेला, पूर्व कोषाध्यक्ष दिल इङ्वारम र रश्मोर शाखाका पूर्व अध्यक्ष जुरेन्द्र खजुमले उम्मेवदवारी दिएका छन् । यस्तै, एक सचिव पदका लागि जनसम्पर्क विभाग प्रमुख तारा प्रसाद कन्दङ्वा र वेस्ट केन्ट शाखाका पूर्व सचिव इन्द्र थक्लुङले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिव पदका लागि भने तीन महिला उम्मेदवारहरू खडा भएका छन् । जसका लागि वर्तमान सहसचिव सानु सुब्बा कार्यकाल दोहो¥याउने मनसायमा छिन् भने बेलायतको विभिन्न मञ्चमा सक्रिय विमला लिम्बु(लक्सम) र राधा आङ्देम्बे खजुम पनि प्रतिस्पर्धामा उत्रने भएका छन् ।

कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध
यसैगरी, सेप्टेम्बर १४ भित्र उम्मेदवारी दर्ता गराएका मध्ये कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा केही उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । दोहोरो उम्मेदवारी नपरेपछि कोषाध्यक्ष पदमा दिपेन्द्र यक्सो र दुई सहकोषाध्यक्ष पदहरुमा जीवन प्यारा मादेन र नर प्रसाद सवेन्हाम लिम्बु निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ ।

कियाचु यूकेको दसौँ कार्य समितिका लागि सेप्टेम्बर १९ मा बिहान साढे ११ बजेदेखि अपरान्ह साढे ३ बजेसम्म मतदानका लागि मतदान केन्द्र खोलिने निर्वाचन समितिले सूचना जारी गरेको छ ।
यद्यपि सर्वसम्मत रूपमा कार्य समिति चयन गर्न भने केन्द्रीय समितिले प्रयास गरिरहेको कियाचु यूकेका अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले सिलौटी टाइम्सलाई बताए । उनले सहमतीय प्रणालीमार्फत् नेतृत्व चुन्न सक्दो पहल गर्ने समेत उनले बताए । महाधिवेशनलाई नेपालबाट किरात याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष योगराज वनेमले भर्चुअल विधिबाट सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव गणेश इजमले बताए ।

कियाचु यूकेको स्थापना सन् २००३ मा भएको थियो ।