April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ यूकेको दसौँ महाधिवेशनमा भारी मतबाट आङ्वो अध्यक्षमा निर्वाचित

चुम्लुङ यूकेको दसौँ महाधिवेशनमा भारी मतबाट आङ्वो अध्यक्षमा निर्वाचित

अल्डरसट, २० सेप्टेम्बर । याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । निर्वाचनमा अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।

शनिबार बिहान सुरु भएर आइतबार मध्यरातसम्म चलेको चुम्लुङ यूकेको दसौँ महाधिवेशनले आङ्वोको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ । विधानअनुसार चुम्लुङको पदािधकारीहरू महाधिवेशनबाट र केन्द्रीय सदस्यहरू शाखा अधिवेशनबाट पठाइएपछि अनुमोदन गरिन्छ । चुम्लुङ यूकेमा १६ शाखाहरू रहेका कारण केन्द्रीय समितिको आकार २७ सदस्यीय रहनेछ ।

Advertisement

यसअघि उपाध्यक्षका रूपमा काम गरेका आङ्वोले अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, उपध्यक्ष दुर्गा पाङ्मा र ग्रेटर लन्डन सिनियरका निवर्तमान शाखा अध्यक्ष पूर्ण बोखिमलाई भारी मतले पराजित गरेका थिए । मतदानमा कुल ५८१ मत खसेको थियो । जसमध्ये चार मत बदर भएका थिए । विजयी रहेका आङ्वोले ३४० मत प्राप्त गरेका थिए । प्रारम्भमा पाँच जनाले सर्वोच्च पदका लागि दाबेदारी दिए पनि अर्का प्रत्यासी नर थाम्सुहाङले मतदान हुनुअघि उम्मेदवारी फिर्ता लिएका थिए ।

दसौँ कार्यकालका लागि निर्वाचित पदाधिकारी ।

त्यसैगरी, चार उपाध्यक्ष पदका लागि पनि आठ जनाले प्रतिस्पर्धा गरेका थिए । भारी मत पाएर अमृता पालुङ्वा, खगेन्द्र लाओती र सन्त हुक्पा चोङवाङ विजयी रहे । निवर्तमान महासचिव गणेश इजम र यादुचन्द्र लाओतीको मत बराबर भएपछि दुवैले आधा आधा कार्यकाल सम्हाल्ने गरी उपाध्यक्षमा निर्वाचित भए । उपाध्यक्षमा छत्र वनेम, विजय लिङ्थेप र धन काम्वाङ पनि प्रतिस्पर्धामा थिए । त्यसैगरी, महासचिवमा जुरेन्द्र खजुम निर्वाचित भए । सचिव पदमा भने तारा कन्दङ्वा निर्वाचित भएका थिए । सहसचिवमा भने पुनः दोस्रो कार्यकालका लागि सानु सब्बाले जनमत पाइन् । कोषाध्यक्ष भने दीपेन्द्र यक्सो र सहकोषाध्यक्ष पदमा जीवन प्यारा मादेन र नरप्रसाद सवेन्हिम यसअघि नै निर्विरोध रुपम निर्वाचित भइसकेका छन् ।

निर्वाचन समितिका अध्यक्ष चितराज हुक्पा चोङवाङले पद तथा गोपनीयताको सपथ खुवाउँदै ।

निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका अध्यक्ष चितराज हुक्पा चोङवाङले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । निर्वाचन प्रक्रियाका लागि सोलिसिटर उत्तरमान तिगेला र नर थाम्सुहाङले बन्द सत्रको निर्वाचन सत्र सञ्चालन गरेका थिए ।

को हुन् अध्यक्ष आङ्वो ?

दसौँ कार्य समितिको अध्यक्षमा निर्वाचित नरवीर आङ्वो चुम्लङका निवर्तमान उपाध्यक्ष समेत हुन् । उनले कियाचु डनकास्टर शाखाको अध्यक्षको जिम्मेवारी समेत वहन गरिसकेका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक रहेका उनी प्लटनमा क्विनस् गोर्खा इञ्जिनियर्स युनिटमा रहेका थिए । पाँचथर सेवा समाज यूकेका पूर्व अध्यक्ष रहेका उनी आङ्वो सङ्जुम्भो अन्तर्राष्ट्रिय समिति यूकेका पूर्व अध्यक्ष समेत हुन् । उनी एनआरएनए यूके लगायत दर्जन बढी समाजिक संघसंस्थामा सदस्यका रुपमा रहेका छन् । नेपालको पान्थरको फालेलुङ–१ खुङ्माका आङ्वो सपरिवार डनकास्टरमा रहँदै आएका छन् । उनी अढाई दशक भन्दा बढी समयदेखि चुम्लुङ यूकेमा आबद्ध भएर विभिन्न तहमा काम गरिसकेका व्यक्ति हुन् ।

अध्यक्षमा निर्वाचित भइसकेपछि प्रतिबद्धताको मन्तव्य दिँदै आङ्वोले चुम्लुङलाई सबै याक्थुङहरूको साझा घर बनाउन आफू प्रयत्नशील रहने बताए । उनले खरिद गरिएको चुम्लुङ देन(जग्गा)मा विभिन्न कार्यक्रमहरू र परियोजना सञ्चालन गर्ने र यूकेमा याक्थुङ लिम्बुको पहिचान र सँस्कृति जोगाउन उपभोग गर्ने योजना निर्माण गर्ने जनाए । उनले चुम्लुङ नयाँ पुस्तासँग मिलेर काम गर्न समेत इच्छुक रहेको भन्दै पुस्तान्तरणका लागि दृष्टिकोणसहित कार्यक्रम ल्याउने बताए ।

यस्तो रह्यो उद्घाटन सत्र
कोरोना महामारीका कारण लगभग दुई वर्षयता कुनै ठूलो कार्यक्रम हुन नसकेको चुम्लुङको महाधिवेशन यूकेभरका याक्थुङ समुदायको जमघटका लागि राम्रो अवसर बनेको थियो । चुनावी दिनमा हजार नजिकको उपस्थिति रहे पनि अघिल्लो उद्घाटन सत्र भने चहलपहल कम थियो ।

निवर्तमान अध्यक्ष तिलविक्रम सम्बाहाम्फेको अध्यक्षता भएको उद्घाटन सत्रमा अन्य संघसंस्थाहरूलाई निम्तो नदिएपनि नेपालबाट किरात याक्थुङ चुम्लङका अध्यक्ष योगराज वनेमले भर्चुअल माध्यमबाट शुभकामना सन्देश दिएका थिए । मन्तव्यका क्रममा चुम्लुङ यूके नेपालबाहिर सबैभन्दा ठूलो चुम्लुङ संगठन रहेका कारण बेलायतका याक्थुङहरूको गतिविधि चासोको विषय भन्ने धारणा राखे । ‘चुम्लुङ यूकेको सक्रियता र संगठनको आकार हाम्रा लागि प्रेरणादायी छ । प्रवासमा रहेर पनि मौलिक संस्कार, संस्कृति र भाषाको संरक्षणमा त्यहाँका याक्थङहरूको खटाइ सह्रानीय छ,’ प्रमुख अतिथिका रूपमा बोल्दै भने, ‘चाहे चुम्लुङको मुखपत्र तान्छोप्पा होस् या चुम्लुङको आत्मनिर्भर कोष यसमा बेलायतका चुम्लुङकर्मीहरूको ठूलो सहयोग र भूमिका छ ।’

अध्यक्ष वनेमले नेपालमा लिम्बु भाषालाई भाषा आयोगले स्थानीय, प्रदेश र संघको सरकारी कामकाजको भाषाका लागि पछिल्लो समय नेपाल सरकारालाई सिफारिस गरिसकेको भन्दै भाषाको महत्व झन् बढेको बताए । उनले नेपालमा भूमिमाथिको साँस्कृतिक अधिकार, अप्रभंश गरिएका थातथलोका नामहरूको मौलिक भाषामा पुनः नामाकरण, लिम्बुवानप्राप्ति लगायतका विषयमा संसारभरका याक्थुङ समुदायको सहयोग र साथ रहनुपर्ने धारणा राखे ।

महासचिव गणेश इजमले सञ्चलान गरेको कार्यक्रमको उद्घाटन केन्द्रीय सल्लाहकार नरकुमारी वनेम लिम्बु र अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । उद्घाटनमा फार्नबोरोका साँस्कृतिक टोलीले केलाङ(च्याब्रुङ नाच)बाट लाम्लाक्वा(स्वागत) गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले सुरक्षासम्बन्धी ब्रिफिङसँगै स्वागत मन्तव्य राखेका थिए ।

विभिन्न अवार्ड र सम्मान वितरण

यसैगरी, कियाचु यूकेले महाधिवेशनको अवसर पारेर विभिन्न अवार्ड र पुरस्कार समेत वितरण गरेको छ । याक्थुङ लिम्बु भाषा, लिपि र साहित्यको उत्थान र संरक्षणका लागि पु¥याएको योगदानका लागि लेखक एवम् अध्येता कृष्णकुमार हेम्ब्यालाई सिरिजंगा अवार्ड दिइएको चुम्लुङ यूकेले जनाएको छ । यो अवार्ड प्रत्येक महाधिवेशनका बेला वितरण गरिने गरिन्छ । त्यस्तै, सन् २०२० को चुम्लुङ अवार्ड याक्थुङ माङ्गेन्ना चुम्लुङ यूकेका पूर्व अध्यक्ष कमला सेन्दाङ र सन् २०२१ को चुम्लुङ अवार्ड जीवन प्यारा मादेनलाई दिइएको छ । यो अवार्ड संस्थाको विभिन्न कार्यक्रम र उद्देश्यमूलक परियोजनाहरूमा संलग्न भएर चु्म्लुङको गतिविधिमा काम गर्ने एक उत्कृष्ट चुम्लुङकर्मीलाई प्रत्येक साल प्रदान गरिन्छ ।

त्यस्तै, संस्थाले आयोजना गर्ने खेलकुदको गतिविधिमा उल्लेख्य योगदन दिएको भन्दै सन् २०२० र २०२१ का लािग क्रमशः अमृता पालुङ्वा र गंगा लिङ्देनलाई प्रदान गरिएको छ । यसैगरी, समुदायबाट विभिन्न क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्ने दुई युवाहरूलाई पनि कदरपत्रले सम्मानित गरिएको छ । जसमध्ये, अन्तरिक्ष केन्द्रको स्थापनाका लािग नमुना डिजाइन गरेर अन्तर्राष्ट्रियस्तरको पुरस्कार हासिल गर्ने अजेन लिम्बुलाई र बेलायतको राष्ट्रियस्तरको कविता प्रतियोगितमा पटक पटक पुरस्कृत भएका अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थी मुकहाङ लिम्बु रहेका छन् । दुवैको उपलब्धीबारे नेपाली र बेलायती सञ्चारमाध्यमहरूले प्राथमिकता दिएर समाचार प्रसारण गरेका थिए । दुवै युवाहरू कम उमेरमै नेपालको धरानबाट अभिभावकसहित बेलायत आएका थिए ।

यसैगरी, चुुम्लुङ यूकेले महाधिवशेनकै अवसर पारेर चुम्लुङकर्मी र चुम्लुङका सहयोगीहरूलाई धन्यवाद एवम् प्रशंसा पत्र समेत वितरण गरेको थियो ।