ट्रुगानिनी
प्रिय ट्रुगानिनी
मलाइ सन्देह छ
यो सुन्दर सृष्टि सिर्जनाको कालचक्रमा
इतिहाँस यति क्रूर/दर्दनाक पनि हुँदोरहेछ
समयले मेट्न नसकेका
ती अनगिन्ति घाउका टाटाहरु
उत्तराधुनिक परिवर्तनका चरम उन्नतिले
ओझेल पार्न नसकेको आर्तनादपूर्ण
चित्कारहरु
मानवीय सभ्यतालाई नै अनेकन प्रश्न
गरिरहेका ती आँखाहरु . .
तिमी र तिम्रा आफन्तकै हुनुपर्छ !
ट्रुगानिनी !
तिम्रो प्यारो तस्मानिया सङ्घार
कैरेबियाई आवादीको अन्त्य
एज्टेक, इंका जस्ता साम्राज्यको सफाया गर्ने
ती ताण्डवी आत्माहरुको बास कुन लोकमा होला ?
यस्ता असंख्य सवालहरु छन्
जो आफैंमा निरुत्तर उभिरहेछन्
अत्याचारको पराकाष्ठा नाघेको दस्तावेज बोकी..
ट्रुगानिनी
मेरा मथिङ्गल बिचलित छन्
तिम्रो ईश्वर
तिमीले पुज्ने त्यो विश्वास
त्यस घडी
कुन सोमरसको मदमा लट्ठ थिए होलान् !
तब त सुन्न सकेनन् तस्मानियाको त्यो विह्वल अन्तिम
चित्कारहरु..
ट्रुगानिनी
हेर त
अझैं पनि उस्तै छ तस्मान समुद्र
चुपचाप . . चुपचाप.. अविचलित . .
र उभिरहेछ उसैगरी ओस्सा पर्वत
त्यो कालो इतिहाँसको साक्षी बनि
अथाह पीडाको पहाड छातीमा लुकाएर
लाग्छ नियालिरहेछन्
तिम्रा धुमिल धुमिल अन्तिम डोबहरु..
( नोट- कति इतिहाँस यति त्रासदीपूर्ण चित्कार बोकेर उभिएका छन् कि पढ्दै गरिएका पानाबाट शव्दहरु जुरुक्क उठेर प्रश्न गरेझैं लग्छन् । अंग्रेजहरुले संसारका थुप्रै देशमाथि शासन मात्र गरेनन् त्यहाँ भएका अमूल्य खजाना लुटे, त्यहाँका मूल संस्कार /संस्कृति तहसनहस पारे । यस्तै सन् १७४७ ताक जेम्स कुक अभियानले दक्षिण-पश्चिम प्रसान्त महासागर अस्ट्रेलिया/तस्मनियामाथि कब्जा गर्न पुगे। उनीहरुले त्यहाँका तस्मानियाई आदिबासीहरुलाई नियन्त्रण मात्र गरेनन् भनेको नमान्नेहरुलाई मृत्युको घाट उतारिदिए। खोजीखोजी मारे, दसहजार बर्षसम्मन शान्तिले बसेका तस्मानीयाई आदिबासीको अन्त्य बडो क्रुरतापुर्वक भयो। त्यस बिभत्स अन्त्यबाट बचेकी ट्रुगानिनी अन्तिम तस्मानियान मूलबासी थिइन् – १८१२ मा जन्मिएकी उनको मृत्यु १८७६ मा भएको थियो। उनको मृत्यु भएको एक शताब्दि पछि मात्र तस्मानिया म्युजियमले उनको कंकाल दफन गर्न दिएको थियो। – (जेरुसलेम) हिब्रु विश्व विद्यालयका प्राध्यापक यूवाल नोआ हारारेको पुस्तक मानव जातिको संक्षित इतिहाँस ”सेपिएन्स ” पढेपछि यस च्याप्टरले अत्यन्तै छोयो र तस्मनियान अन्तिम मूलबासी तिनै ट्रुगानिनीमा समर्पित यो कविता। )
प्रतिकृया दिनुहोस्