May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतबाट राजदूत रेग्मी नेपाल फिर्ता हुँदै

बेलायतबाट राजदूत रेग्मी नेपाल फिर्ता हुँदै

लन्डन । नेपाल सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा राजनीतिक नियुक्ति पाएका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र पूर्व अर्थमन्त्री समेत रहेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । परराष्ट्र सेवाका करिअर डिप्लोम्याट बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको मन्त्री कार्कीले बताए । सरकारको निर्णय कार्यान्वयनमा आएसँगै बेलायतका लागि नेपाली राजदूत रेग्मी फिर्ता हुनुपर्ने भएको छ । रेग्मीलाई अघिल्लो केपी शर्मा ओली सरकारले २०७७ आश्विन १५ गते नियुक्त गर्ने निर्णय गरेको थियो ।

Advertisement

सात महिना अघि रेग्मी लण्डन आएर कार्यभार सम्हालेका थिए । सन् २०१६ को सेप्टेम्बर महिनामा बेलायतका लागि बीसौँ नेपाली राजदुतका रुपमा लन्डन दूतावास आएका राजदूत डा. दुर्गाबहादुर सुवेदीले चार वर्षे कार्यकाल सकिएपछि रेग्मीले नियुक्ती पाएका थिए । रेग्मी नेपाल सरकारका पूर्व मुख्यसचिव समेत हुन् । बेलायत आएसँगै पछिल्ला केही दिनहरुमा राजदूत रेग्मी विभिन्न कार्यक्रमहरुमा सरिक हुन लागेका थिए । परराष्ट्र सेवाका राजदूतहरु भने यथावत रहने भएका छन् । सरकारको उक्त निर्णयसँगै १० मुलुकमा पठाइएका राजदूतहरु फिर्ता हुने भएका छन् ।

सूची :

१) महेन्द्रबहादुर पाण्डेय (चीन)

२) डा. वंशीधर मिश्र (बंगलादेश)

३) नारदमुनि भारद्धाज (कतार)

४) युवराज खतिवडा (अमेरिका)

५) अञ्जान शाक्य (इजरायल)

६) उदयराज पाण्डे (मलेसिया)

७) दावाफूटी शेर्पा (स्पेन)

८) डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)

९) नीलाम्बर आचार्य (भारत)

१०) लोकदर्शन रेग्मी (बेलायत)