October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भीसी रामबहादुर बेघालाई पुत्रशोक

भीसी रामबहादुर बेघालाई पुत्रशोक

लन्डन । भिक्टोरिया क्रस पदक विजेता रिटायर्ड क्याप्टेन रामबहादुर बेघा लिम्बुलाई पुत्रशोक परेको छ । उनका छोरा रिटायर्ड क्याप्टेन भक्त बहादुर बेघा लिम्बुको ५९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

यूकेस्थित बेजिङ्स्टोकमा आफ्नै निवासमा बेघाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको जन्म वि.सं. २०१८ मंसिर २४ गते भीसी बेघा लिम्बु र आमा टिकामाया इम्बुङ लिम्बुको जेठा छोराको रूपमा पान्थरको हाल याङ्वरक गाउँपालिका–५ को बडहरे थर्पूमा भएको हो । नेपालमा झापाको दमकमा बसाइँ सरे पनि पछिल्लो समय उनी बेजिङ्स्टोकमा सपरिवार बस्दै आएका थिए । उनी केही समययता अस्वस्थ महसुस गरेर उपचाररत अवस्थामा थिए ।


सन् १९६६ जुलाई १२ मा पाँच वर्षको उमेर छँदा उनले आफ्ना पिता रामबहादुरले बेलायतकी महारानी एलिजावेथ द्वितीयबाट भीसी पदक पाउँदा सहभागी भएर चर्चा कमाएका थिए । बेजिङ्स्टोक नेपाली समाज, पाँचथर समाज सेवा यूकेका सल्लाहकार समेत रहिसकेको दिवंगत बेघा लिम्बु पल्टनमा रहँदा भद्र र शालीन व्यक्तित्व र कुशल प्रशिक्षकका रुपमा रहेको उनीनिकट व्यक्तित्वहरू सम्झन्छन् । उनको निधनमा किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष नरवीर आङ्वो र महासचिव जुरेन्द्र खजुमले शोक सन्देश समेत जारी गर्दै दुःख व्यक्त गरेका छन् ।